अस्थायी अस्पतालहरु बन्द गरिँदै
बेइजिङ — पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस(कोभिड–१९) का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार आन्हुई प्रान्तीय सरकारले दिएको जानकारीअुनसार अब प्रदेशका अस्पतालमा कोभिड–१९ संक्रमित रहेका छैनन् ।
प्रादेशिक स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म आन्हुई प्रान्तमा कोभिड–१९ संक्रमितको संख्या ९ सय ९० पुगेको थियो । प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने ९ सय ८४ जना निको भएका छन् । चिनियाँ अधिकारीका अनुसार आन्हुई प्रान्तमा संक्रमितमध्ये ९९.४ प्रतिशत निको भएका छन् । अहिले पनि ४ सय ३२ जना चिकित्सकको निगरानीमा रहेका छन् । पछिल्लो १० दिनमा प्रदेशमा थप संक्रमण नदेखिएको पनि स्वास्थ्य आयोगले जनाएको छ ।
अस्थायी अस्पताल बन्द
कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या घट्दै गएपछि चीनमा बनाइएका अस्थायी अस्पतालहरु औपचारिक रुपमा बन्द गरिएको छ । अस्थायी अस्पतालका रुपमा तयार पारिएको ‘वुहान लिभिङ रुम’ आइतबारदेखि आधिकारिक रुपमा बन्द गरिएको छ । त्यहाँ रहेका सबै बिरामी डिस्चार्ज भएपछि अस्पताल बन्द गरिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो समय चीनमा कोभिड–१९ को संक्रमण घट्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा चीनमा थप ४३ जनामा संक्रमण देखिएको छ भने २३ जनाको मात्रै मृत्यु भएको छ । सोमबार दिउँसोसम्म चीनमा ८० हजार ७ सय ३८ जनामा संक्रमण देखिएको छ भने ३ हजार एक सय २० जनाको मृत्यु भएको छ । त्यस्तै ५८ हजारभन्दा बढी निको भएका छन् ।
विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार ८ सय ३१ को मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
