भारतको अरुणाचल प्रदेशमा विदेशी नागरिकलाई प्रवेश रोक

फाल्गुन २६, २०७६

एजेन्सी

नयाँदिल्ली — भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशले सबै विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस(कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि भन्दै अरुणाचल प्रदेशले विदेशी नागरिकमाथि प्रवेशमा रोक लगाएको हो ।

अरुणाचल प्रदेशमा इनर पर्मिटअन्तर्गत भारतीय नागरिक पनि बिनाराहदानी प्रवेश पाउँदैनन् । अर्को सूचना जारी नभएसम्मका लागि विदेशी नागरिकमाथिको प्रवेशमा रोक लगाइएको मुख्यमन्त्री पेमा खान्डुले बताए । 


यसैबीच भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ४२ पुगेको स्वास्थ्य सचिव सन्जीव कुमारले जानकारी दिए । सोमबार दिउँसो जम्मू–कश्मीरमा एक ६० वर्षीया वृद्धामा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४२ पुगेको हो । उनलाई हलिे उपचारका लागि अस्पताल लगिएको छ । 


बंगलादेशमा पहिलो संक्रमण

बंगलादेशमा कोभिड–१९ को पहिलो संक्रमणको पुष्टि भएको छ । शनिबार एक महिला र पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको द डेली स्टारले जनाएको छ । बंगलादेश सरकारले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएमा तत्काल चिकित्सकलाई देखाउन आग्रह गरेको छ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि पूर्ण रुपमा तयार रहेको उल्लेख गर्दै सर्वसाधारणलाई नआत्तिन पनि बंगलादेश सरकारले आग्रह गरेको छ । 

कोरोना भाइरस

एजेन्सी

Link copied successfully