लकडाउन कसरी खुकुलो पार्ने ?- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन कसरी खुकुलो पार्ने ?

डा. दिनेश न्यौपाने

कोभिड–१९ बारेका धेरै प्रश्न अझै अनुत्तरित छन् । यो रोगले यति ठूलो रूप लेला र मानव–जगत्ले यस्तो क्षति बेहोर्ला भनेर सायदै कसैले सोचेको थियो । विज्ञानले चमत्कार गरेको आधुनिक युगमा ३–४ महिनामै करिब दुई लाखले ज्यान गुमाइसके । हाम्रो आधुनिक चिकित्सा यो रोगका सामु निरीह देखिएको छ । यो सिंगो मानव जातिकै लागि गम्भीर चुनौती हो ।

कोभिड–१९ लाई उल्लेख्य रूपमा रोक्न सकेका हङकङ, ताइवान र दक्षिण कोरियाको सफलता क्षणिक हो कि दीर्घकालीन, हेर्न बाँकी नै छ । सिंगापुर अर्को उदाहरण हो, जसले यो रोगको रोकथाममा धेरै समय प्रशंसा पाइराख्यो । केही दिनयता त्यहाँ पनि बिरामीको संख्या अचानक बढेको छ । संक्रमण फैलन नदिन अहिले सयभन्दा बढी देशले लकडाउन गरी आफ्ना करोडौं नागरिकलाई घरमै ‘बन्दी’ बनाएर राखेका छन् ।

लकडाउनले कोभिड–१९ को क्षति कम गरे पनि आर्थिक र सामाजिक क्षेत्रमा व्यापक असर गरेको छ । अन्तर्राष्ट्रिय उडान प्रायः ठप्प छन् । लगभग सबै पानीजहाज समुद्री किनारमा थन्किएका छन् । कम खपत भएका कारण कच्चा तेलको मूल्य इतिहासकै ऋणात्मक भएको छ । लाखौं मानिसले रोजगारी गुमाइरहेका छन् । धनी देशले अर्थतन्त्र कायमै राख्न सकिन्छ कि भनेर अर्बौं रुपैयाँ खन्याइरहेका छन् । एक हिसाबले स्थिति अस्तव्यस्त छ । तर, लकडाउन कहिलेसम्म लागू गर्ने, कसरी र कहिले खोल्ने भन्नेमा व्यापक अन्योल छ । अधिकांश देश अहिले पनि पर्ख र हेरको स्थितिमा छन् भने केहीले यसलाई खुकुलो पार्न सुरु गरेका छन् । केहीले खुकुलो पार्ने योजना अगाडि सारेका छन् ।

यो रोगले महामारीको रूप लिएको चीनको वुहानमा ७६ दिनपछि मात्र लकडाउन खुकुलो पारियो । युरोपमा अहिलेसम्म सबैभन्दा धेरै क्षति बेहोरेको इटालीमा भर्खरै किताबका पसल र कपडा धुने पसल खुला गरिएको छ । डेनमार्कले शिशु स्याहार केन्द्रहरू खुला गरेको छ । अस्ट्रियाले ससाना स्टोर खोल्न अनुमति दिएको छ । जर्मनीले पनि अस्ट्रियाकै जसरी विस्तारै लकडाउन खुकुलो पार्दै लैजाने बताएको छ ।

आफ्नो देशमा कोरोना उन्मूलन नै गर्ने दिशामा आशावादी देखिएकी न्युजिल्यान्डकी प्रधानमन्त्रीले अर्को सातादेखि अत्यावश्यकीय सेवाहरूबाट लकडाउन खुकुलो पार्दै लैजाने बताएकी छन् । अस्ट्रेलियाले पनि छिट्टै अरू स्वास्थ्यसेवा र विद्यालय खुला गर्ने भएको छ । परीक्षणको मात्रा बढाएका यी देशले संक्रमितको संख्या क्रमशः घटाउँदै लगेका छन् । यिनले अर्थतन्त्रभन्दा बढी जनस्वास्थ्यलाई महत्त्व दिएर आफ्ना रणनीति अगाडि ल्याएको देखिन्छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा अहिलेसम्म ५० भन्दा कम बिरामी भेटिएका छन् । पहिलो र दोस्रो बिरामी भेटिनुबीच लामो समयको अन्तर छ । पछिल्लोपटक उदयपुरमा भेटिएका बिरामी लामो समयदेखि नेपालमै रहेका भनिएकाले समुदायमा संक्रमण छँदै छैन भन्न सकिने अवस्था छैन । हाम्रा प्रयोगशालाको क्षमता र सम्भावित बिरामी खोज्न गरेका प्रयासका आधारमा हामीले रोगलाई जितिसकेको अथवा जितको नजिक पुगेको अनुमान बिल्कुल गलत देखिन्छ । अहिलेसम्म भएका वैज्ञानिक खोज र अनुसन्धानमा नेपालीमा यो रोग कम लाग्नुपर्ने खास कारण देखिँदैन । अहिले हामी जुन नतिजा देखिरहेका छौं, यो सबै लकडाउनको प्रतिफल हो । लकडाउन एकैचोटि खोल्दा हाम्रो आजसम्मको सफलता एकै क्षणमा स्वाहा हुन सक्छ । यो विशेष परिस्थिति भएकाले आर्थिक नोक्सानी त अवश्य हुन्छ । तर हाम्रो देश कृषिप्रधान भएकाले अन्यत्रभन्दा कम नोक्सानी हुने स्पष्ट छ । जुनसुकै निर्णय गर्दा पनि जनस्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।

हाम्रो जस्तो जीविकोपार्जनमा आधारित कृषि–प्रणाली भएको, बर्सेनि अर्बौं व्यापार घाटा हुने र विश्वबजारबाट अलिकति टाढा भएको देशमा लकडाउन, सीमा सिलबन्दी र अन्तर्राष्ट्रिय हवाई उडानमा कडाइले अरू विकसित देशलाई भन्दा कम असर गर्छ । रोग देशैभरि फैलियो भने हामीले भोग्नुपर्ने क्षति कल्पनाभन्दा पनि पर कयौं गुणा बढी हुन सक्छ । नेपालजस्ता कमजोर स्वास्थ्यप्रणाली भएका देशले जतिसक्दो संक्रमणदर कम गर्नुको विकल्प छैन ।

अबको चरण भनेको सम्भव भएसम्म लकडाउनलाई केही समय कायम नै राख्न जोड दिनुपर्छ । यो सम्भव नभए सहरमा लकडाउन यथावत् राखी गाउँहरूलाई निकै निगरानीपूर्वक सानो–सानो समूह बनाएर खोल्नुपर्छ । यसरी खोल्दा संक्रमणको सम्भावना अन्त्यतै न्यून रहेका ठाउँबाट सुरु गर्नुपर्छ । तिनमा कस्तो परिणाम देखिन्छ, त्यसैका आधारमा बिस्तारै अन्यत्र बढाउँदै लैजानुपर्छ । यसका लागि नयाँ बनेका गाउँपालिका वा नगरपालिकाभन्दा पुराना गाविस वा वडा बढी व्यावहारिक हुन सक्छन् । यसबीचमा परीक्षण क्षमता बढाउने, जोखिम क्षेत्रहरूमा रोकथामका रणनीति अगाडि बढाउनेमा जोड दिनुपर्छ । यसका लागि प्रत्येक गाउँपालिकामा जनस्वास्थ्य विज्ञको टोली बनाएर परिचालन गर्न सकिन्छ । अलिकति शंका लाग्नेबित्तिकै उक्त क्षेत्रलाई पूरै लकडाउन गर्ने गरी तयारी गर्नु आवश्यक छ ।

लकडाउनपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कन सकिने आमबुझाइ छ । तर, बिर्सन हुँदैन कि जबसम्म खोप–औषधि पत्ता लाग्दैन वा यो रोग आफैं हराएर जाँदैन, तबसम्म हामी हिजोकै जस्ता दिनमा फर्कन सक्दैनौं । विश्वमा एउटा मात्रै संक्रमित रहुन्जेल हामी सधैं जोखिममा रहिरहन्छौं । यसैअनुसार सावधानी अपनाउन जरुरी छ । हिजो हामी जसरी धेरै जना सँगै यात्रा गर्थ्यौं, स्कुलमा पठनपाठन गर्थ्यौं, जसरी बिरामीको हेरचाह गर्थ्यौं, आमसभा आयोजना गर्थ्यौं, चलचित्र भवनमा जान्थ्यौं, सांगीतिक कार्यक्रमहरू गर्थ्यौं, जसरी जात्रा र सांस्कृतिक कार्यक्रम गर्थ्यौं, यी सबैको स्वरूप परिवर्तन गरिनुपर्दछ ।

(जनस्वास्थ्यविद् न्यौपाने अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको इपिडिमियोलोजी विभागमा कार्यरत छन्)

प्रकाशित : वैशाख १२, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

७६ श्रीलंकाली लिएर फर्कियो श्रीलंकाको ध्वजावाहक विमान 

लकडाउन यताको यो ३३ औं अन्तर्राष्ट्रिय चार्टर उडान 
सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका ७६ जना आफ्ना नागरिक लिएर श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार, श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ः२३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । यो १२ः३० बजे कोलोम्बो फर्केको छ ।

यो विमानको काठमाडौंमा व्यवस्थापनको जिम्मा लिने जेनिथ ट्राभल्स प्रालिका प्रबन्ध निर्देशक जोय देवानका अनुसार ७६ जना श्रीलंकाली विद्यार्थी, पर्यटक कोलम्बो फर्किएका छन् । ‘९० जनाको सूची थियो, तर आज चार्टर उडानमा ७६ जनामात्रै फर्किए,’ देवानले कान्तिपुरसँग भने ।

काठमाडौंमा रहेको श्रीलंकन दूताबासको संयोजनमा यो चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले बिहीबार अनुमति दिएको थियो । प्राधिकरणले लकडाउनको अवधिमा कुनै पनि विदेशी चार्टर वायुसेवा कम्पनीलाई ७२ घन्टाको अवधि तोकेर अनुमति दिने गरेको छ । कोलम्बोबाट यो विमान बिनायात्रु काठमाडौं आइपुगेको थियो ।

लकडाउनयताकै यो ३३ औं अन्तर्राष्ट्रिय चार्टर उडान हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यसअघि २३ वटा यात्रु र कार्गोतर्फ ९ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

प्रकाशित : वैशाख १२, २०७७ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×