एउटा लोकगीत छ– कटुसै फुल्यो वन सेतै, ज्यान मात्रै यता मन त्यतै । एकै वाक्यमा गीतले मनको स्वभावलाई लयात्मक तर साँचो भावले प्रकट गरेको छ ।
हुन पनि मन र जिउको हाल सधैँ उस्तै हुन्छ । मन भएको ठाउँ जिउ पुग्दैन, जिउ भएको ठाउँ मन पुग्दैन । यस तथ्यको बढ्ता अनुभव लकडाउनमा परेर दिनरात घरभित्रै बसिरहनुपर्दा ज्यादा भएको हुँदो हो हामी सबलाई ।
यो दिक्दारी, यो छटपटी र यो निराशाका अनेक कारणमध्ये मुख्य हो, शरीर र मनको बढ्दो दूरी । यतिखेर शरीर घरभित्र एउटा साँघुरो परिवेशमा बसिरहेको छ । मनचाहिँ बाहिर निक्लेर पूरा संसारको गोता लगाउन खोजिरहन्छ । सुतूँ भनेर जिउ बिस्तरामा पल्टेको छ, मनचाहिँ कहाँकहाँ डुल्न निक्लन्छ ।
यसरी यी दुई एकअर्काबाट जति टाढा पुग्छन् उति नै दुःखले सताउँछ । शरीरलाई मन पुगेको ठाउँमा लैजाने सुविधा सदैव हुँदैन । लकडाउनको अवस्थामा त झनै त्यो छैन । त्यसैले हामीसँग भएको एउटै उपाय हो, मनलाई नै शरीरको नजिक बोलाउनु । गीत सुन्नु, घर सफा गर्नु, पुस्तक पढ्नु वा अरू यस्तै शरीर सामेल हुने क्रियामा मनलाई लगाउनु यो दूरी घटाउने उपाय हो । यस्तो प्रयत्न तपाईंले गरी नै रहनुभएको होला । र पनि, मनचाहिँ फुत्किएर फेरिफेरि बाहिर जान खोजेकाले सुस्केराको आवृत्ति बढ्दै गएको हुनुपर्छ ।
यसो हुनाको कारण छ । त्यो के भने शरीर सधैँ वर्तमानमा हुन्छ, मन अतीत र भविष्यमा रुमल्लिरहन्छ । शरीरले हिजो वा भोलि सास फेर्न सक्दैन, त्यसैले यो यसै क्षणको फूल हो । मनचाहिँ कि अतीत कि भविष्यमा अल्झिरहन्छ । त्यसैले यो एक उल्झन हो, जीवनको । सारा जगत्को अस्तित्व यसै क्षणमा छ । जबकि मनचाहिँ यस क्षणमा अक्सर छैन ।
समयलाई हामीले सजिलोका लागि अतीत, वर्तमान र भविष्य गरी तीन खण्डमा बाँडेका छौं । तर वास्तविकतामा न अतीत छ न भविष्य । अतीतको दियो बल्दैबल्दै यस क्षणमा आइपुगेको छ र भविष्यको मैन जल्दैजल्दै यसै क्षणमा आई प्रदीप्त भइरहेको छ । त्यसैले हाम्रा प्रत्येक अनुभूतिहरूको जग यही क्षण हो जसलाई पक्रिनका लागि सघन होस चाहिन्छ । यो एक वाक्य मैले लेख्दालेख्दै र तपाईंले पढ्दापढ्दै पनि समयको धार नदीझैं बगिरहेको छ । यसै क्षण संसारमा कुराहरू यति बदलिइसकेका छन् कि फेरि उही अवस्थामा त्यो कहिल्यै आउनेछैन । त्यसैले बुद्धले भने, ‘संसार अनित्य छ ।’ यता, हामी जीवनको हिसाबकिताब भने हिजोको अनुभव र भोलिको अनुमानका आधारमा गरिरहेका छौं । त्यसैले हाम्रो आँकलन एकातिर वास्तविकता अर्कोतिर भेटिन्छ, सदैव ।
जीवन र यो जगत्लाई हिजो भेट्न सकिन्न । न भोलि नै भेट्न सकिन्छ । भेटियो भने यहीँ, अहिल्यै भेटिन्छ । मन भने यस क्षणबाट पर जाने स्वभावको छ । त्यसैले जति पनि मनोचिकित्सा छन् ती सबैको एउटै लक्ष्य छ, मनको नचाहिँदो यात्रालाई अन्त्य गर्ने । अर्थात् छटपटीलाई रोक्ने । अघिल्लो साता मैले न्युरोसिस अर्थात् क्लेशका कारण हुने छटपटी र त्यसको मानसिक अवलोकनका बारेमा केही लेखेको थिएँ र विरेचनको केही विधिबारे पनि बताएको थिएँ ।
यो शृंखलामा म मन र शरीरलाई नजिक ल्याउने केही विधिबारे लेख्दै छु ।
विज्ञानको एउटा नियम छ त्यो के भने कुनै पनि क्रियाको एउटा कारण हुन्छ । यसको अर्थ हो, अकारण केही पनि हुँदैन । हाम्रो यो दुःखको पनि कारण छ, जसरी हाम्रो सुखको पनि कारण छ । सुख शरीर र मन दुवैको मिलन भएका बखत घटित हुने एक क्रिया हो भने दुःख यी दुईबीचको अन्तरालले पैदा गर्ने परिणाम ।
मन परेको मानिस साथ हुनु किन राम्रो लाग्छ ? किनभने त्यस बखत मन र शरीर नजिकै हुन्छन् । कोही ‘मन पर्नु’ भनेको के हो ? मन उसमाथि गएर बस्नु हो । त्यस ‘मन परेको’ मान्छे नजिक हुनु भनेको कहीँ गएको मन फिर्ता आउनु हो । त्यसैले, मन परेको हरेक कुरा गर्दा हामीलाई रमाइलो लाग्छ ।
मन परेको मान्छे टाढा हुँदा विरहले घेर्छ । किनभने टाढा गएको मान्छेसितै मन पनि गएको हुन्छ । मान्छेको मन मान्छेमा मात्रै नभएर पैसामा पनि गएर बसेको छ । त्यसैले यो हातमा पर्दा खुसी लाग्छ । एवं रीतले जे–जे मन परेको छ, त्यहीत्यही पाउँदा रमाइलो अनुभव हुन्छ । रतिरागमा एक सुख अनुभव हुन्छ मान्छेलाई किनभने अवचेतन मनको पूरैजसो भाग यसैले ओगटेको हुन्छ । त्यसैले मन परेको कुरा नपाउँदा छटपटी हुन्छ किनभने मन त्यही नपाएको कुराको पछिपछि गइरहन्छ । मन नपरेको कुरा आइलाग्दा पनि छटपटी हुन्छ किनभने मन त्यस कुराबाट भाग्न चाहन्छ ।
अवसर हुन सक्छ लकडाउन
यसरी मन शरीरबाट कहिले नजिक आउने कहिले टाढा जाने क्रम निरन्तर चलिरहन्छ । त्यसैले कहिले दुःख कहिले सुखको अनुभव पनि तदनुसारै भइरहन्छ । यसलाई रोक्ने एकै उपाय भनेको मनको अवस्था बदलेर यसलाई शरीरका साथै राख्ने हो । किनभने आफूभन्दा परको जुनसुकै कुरा मन परे पनि त्यो तपाईंबाट ढिलोचाँडो अलग हुन्छ । त्यसैले यसलाई कुनै पनि कुरामाथि नअल्झाउनु नै एक मात्र उपाय हो, दुःखबाट पार पाउनु ।
ठाउँ र दूरी पत्ता लगाउने यन्त्रहरू बन्नुभन्दा अघि सामुद्रिक यात्रुहरू किनार आइपुगेको छ कि छैन भनेर जाँच्न पिँजराबाट परेवालाई उडाइदिन्थे । यसको एउटा कारण छ, नजिक तट छ भने चरा फर्केर आउँदैन । ऊ त्यतै बस्छ, पिँजरामा फर्केर को आओस् ? जताततै पानी नै पानी छ भनेचाहिँ चरा फर्केर जहाजमै आउँछ । किनभने बस्नका लागि उसलाई त्यसबाहेक अन्त ठाउँ हुँदैन ।
मन पनि त्यस्तै एक पन्छी हो । अल्झिने कुराहरू पाउन्जेल यो फर्केर आउँदैन । त्यसैले यसलाई अरू कुराहरूबाट अलग गराउने सजिलो उपाय भनेको मनकै अवलोकन गर्ने हो । यसका लागि सुरुवातचाहिँ शरीरप्रति जागरूक हुनु हो । शरीरप्रति जागरूक हुनुलाई सम्बोधन गर्न संस्कृतमा एक पदावली छ– कायगत स्मृति । बुद्ध आफ्ना भिक्षुहरूलाई सुरुवाती चरणमा यही ध्यानावस्थाबाट गुज्रन लगाउँथे जसले जागरणको अभूतपूर्व नतिजा प्रतिपाद गर्थ्यो ।
कायगत स्मृतिको अर्थ हुन्छ, काय अर्थात् शरीरको वास्तविकता जान्नु, यसको साँचो प्रकृति थाहा पाउनु । मान्छेको अस्तित्व शरीर, मन र चेतना गरी तीन तहमा प्रसारित छ । अर्को अर्थमा भन्ने हो भने चेतना नै शरीर र मन गरेर दुई भागमा प्रवाहित छ । चेतन तहबाट हेर्दा शरीर भनेको नदेखिने मन हो र मनचाहिँ देखिने शरीर हो, मान्छेको । यी दुई एकले अर्कालाई प्रभावित पारिरहेका हुन्छन् । जस्तो, शरीर बिमारी भयो भने मन निराश हुन्छ र अवसादले घेर्छ । मन आत्तियो र अवसादले घेर्यो भने शरीर कमजोर हुन्छ, कमजोर शरीरमा अनेक रोग लाग्छ ।
यतिखेर संसारभर चलिरहेको कोरोनाको महामारीमा जति पनि मानिस मरे, ती सबमा एउटा साझा कारण भेटिएको छ । त्यो के भने मर्नेहरूमा कसैको शरीर कमजोर थियो भने कसैको मन कमजोर । सुरुमा बूढाबूढीहरूलाई मात्रै यो रोगले मार्छ भन्ने भयो । युवालाई र ६ महिनाको बच्चालाई समेत यसले निलेपछिचाहिँ अर्को तर्क आयो, पहिल्यै रोग लागिसकेका वा ‘इम्युनिटी पावर’ कम भएकालाई पनि यसले हताहत पार्छ । हालै इरानमा १ सय ३ वर्षकी वृद्धा कोरोना भाइरसको संक्रमणबाट निको भएपछि फेरि अर्को अनुमान सुरु भयो, कोरोनाले बूढाबूढीलाई होइन, इम्युनिटी पावर कम भएकालाई मार्छ । यद्यपि मर्नेहरूमा अधिकांश वुद्धवृद्धा नै छन् । यसले के पुष्टि गर्छ ? यही कि उनीहरूको शरीर पहिल्यै कुनै न कुनै रोगले पीडित थियो । यस्तोमा भनिरहन पर्दैन, तिनको इम्युनिटी पावर पनि कम थियो । यो इम्युनिटी पावर आर्थात् रोग प्रतिरोधात्मक शक्ति भनेको अरू केही नभएर मन र शरीरबीच जीवनभरको औसत दूरीको परिणाम हो । दूरी जति कम, प्रतिरोधात्मक शक्ति उति बढी । दूरी जति बढी, प्रतिरोधात्मक शक्ति उति कम । आधुनिक चिकित्साशास्त्रसिद्ध तथ्य के हो भने प्रसन्नता र रोग प्रतिरोधात्मक शक्तिबीच सिधा सम्बन्ध छ । यसको अर्थ हो, मन खुसी छ भने शरीर स्वस्थ रहन्छ किनभने प्रतिरोधात्मक शक्ति बढी भएपछि रोगले छुँदैन ।
भनिसकियो, मन र शरीरको दूरी जति मेटिँदै जान्छ खुसी उति बढ्दै जान्छ । यो भनेको मनलाई बितिरहेको क्षणमा अड्याउनु हो जुन क्षणमा शरीरको व्यय भइरहेको हुन्छ । गएको साता विरेचनमार्फत मनलाई अतीत र भविष्यबाट फिर्ता ल्याउने विधि मैले बताएको थिएँ । अब हामी त्यसै उपक्रमको अर्को विधिको प्रयोग गर्नेछौं जसमा जागरण र कल्पना दुवै विधिको प्रयोग गरिनेछ । आउनुस्, अब सुरु गरौं ।
पहिले एक आरामको सास लिनुस् । अघिल्लो शृंखलामा भनेझैं शरीरको प्रत्येक अंगहरूप्रति सजग हुनुस् । यो कायगत स्मृतिको एक भाग हो । अब अर्को भाग सुरु गरौं । यसका लागि शरीरको यस क्षणको अवस्थाप्रति ध्यान दिनुस् । हलुकासँग आँखा चिम्लिनुस् र यसको उत्पत्ति कसरी भयो अनि यसको विनाश कसरी हुनेछ भन्ने प्रश्नलाई मनमा ल्याउनुस् अनि उत्तरमा त्यस अवस्थाको सजीव परिकल्पना पनि गर्नुस् ।
गहिरिएर हेर्दै जानुभयो भने शरीर झ्वाट्ट देखिएभन्दा फरक परिधिमा दृष्टिगोचर हुँदै जानेछ । रौं, नङ, कपाल, छाला, मासु, नसा, रगत, हाड, मासी, फियो इत्यादिको एक सुन्दर संयोजन हो शरीर । यसैभित्र मल, मूत्र, सिँगान, पसिना, खकार इत्यादि पनि छ जसको निष्कासन उचित समयमा भएन भने शरीरै गल्छ र ढल्छ ।
यस्तो अद्भुत शरीरको सुरुवात समयको कुन विन्दुबाट भएको थियो होला ? कल्पना गर्नुस् त्यस समयको । बाबु र आमाको रतिक्रीडाको क्षण निष्पत्ति भएको र्यालसिँगानजस्तो पदार्थबाट यस अद्भुत शरीरको रचना हुन गयो । गर्भमा एक भ्रूणका रूपमा तपाईं प्रवेश गर्नुभएको क्षणलाई सजीवताका साथ कल्पनामा उतार्नुस् । गर्भाधान प्रक्रियाबारे जीवशास्त्रीहरूको खोजले एक रमाइलो तथ्य प्रकाशमा ल्याएको छ । त्यो के भने मानिसको एकपटकको स्खलनमा ५० करोड वीर्यकोष पैदा हुन्छ । पाठेघरसम्म पुग्न तीन दिनसम्म निरन्तरको दौड चल्छ यी ५० करोड जीवकोषबीच । जसको पहिला डिम्बसँग भेट हुन्छ उसैले मान्छेको चोला पाउने क्षणको सुरुवात हुन्छ । दौडमा पछि परेका अरू सबै वीर्यकोष त्यसै क्षण खेर जान्छन् । त्यस महादौड तपाईंले जित्नुभएको रहेछ, बधाइ छ ।
अलिकतिले अरू कसैले उछिनेको भए तपाईंका ठाउँमा अरू नै कोही हुने थियो, यस संसारमा । एक साँघुरो र अँध्यारो तर लामो सुरुङमा ५० करोड मानिसबीच तीन दिनसम्म चलेको चर्को दौडमा आफू पहिलो भएको क्षणको कल्पना गर्नुस् त । यो नै जीवनको सबभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धा हो किनभने यस्तो दौड जो जिते जीवन मिल्छ, हारे मृत्यु निश्चित ।
यस्तो दौड जितेर गर्भ प्रवेश गर्नुभएको थियो तपाईंले, त्यस दौड र गौरवपूर्ण जितलाई कल्पनामा उतार्नुस् । अब बिस्तारै गर्भमा शरीरको विकास हुने बेला आयो । थाहा छ, सबभन्दा पहिला तपाईंको कुन अंगको विकास भयो ? जीवशास्त्रका अनुसार मस्तिष्क, स्नायु र ढाडको । त्यसपछि मुटु, धमनी, रगत, अनुहार, आँखा इत्यादि गर्दै अन्त्यमा जननेन्द्रिय बनेपछि सबै शरीरलाई मांसपेशीहरूले ढाक्छन् अनि शरीरमा प्रथम कम्पन पैदा हुन्छ । त्यति बेला आमाले पेटमा बच्चा चलेको अनुभव गर्छिन् । बिस्तारै मासुको एउटा रातो पिण्ड बढ्दै जान्छ र एक दिन फुत्त बाहिर निस्कन्छ । यसै क्षणलाई तपाईं आफू जन्मेको दिनका रूपमा आजसम्म सम्झँदै आउनुभएको छ । गर्भबाट भूगर्भमा झरेको त्यस क्षणलाई सम्झनुस् त । प्रकाश, हावा, पानी, ध्वनि इत्यादिको एकै पटक सम्पर्कमा आउँदा मनमा कस्ता प्रतिसंवेदना पैदा भए होलान् ? त्यस अनुभवबाट गुज्रने प्रयास गर्नुस् । बिस्तारै जिउ बढेको, कपाल पलाएको, दाँत आएको, बामे सर्दै पाइला सार्न सिकेको, बोल्न जानेको, कुरा बुझ्न थालेको, पढ्न सुरु गरेको इत्यादि यस शरीरले गुजारेका सबै क्षणलाई एकपटक महसुस गर्नुस् ।
बिस्तारै बाल्यकाल सकिएको, किशोरावस्था आएको, यौवनको प्रथम उष्णताले छोएको, कसैको सम्झनाले आहत भएको, कसैसँगको भेटले मोहित तुल्याएको, प्रेमातुर क्षणहरू गुजारेको, विस्तारै यौवनका अन्तिम शिखर पुगेको, बैंसका आखिरी दिनहरूबाट गुज्रिएको, बिस्तारै शरीरको कान्ति क्षीण हुँदै गएको, बुढेसकालले छोएको, हात गोडा काँप्दै जान लागेको र अन्त्यमा एक दिन शरीरले महाविश्राम लिएको दृश्यलाई पूरै भावका साथ अनुभवमा उतार्नुस् ।
अब यो शरीर कि आगोको, कि जनावरको कि कीरा–फट्याङ्ग्राको आहारा बन्नेछ । त्यस अवस्थालाई तपाईं कल्पना गर्नुस् । अब आफैंसँग सोध्नुस्, तपाईंले आफ्नो ठानेको धन, पैसा, सम्बन्ध, मान, यश इत्यादिको अवस्था के छ अहिले ? आजभन्दा सय वर्षअगाडि पनि यो पृथ्वी यस्तै भरिभराउ थियो । आज ती कहाँ गए ? सय वर्षपछि यी सबै मानिस कोही हुने छैनन् र पनि पृथ्वी झन् बढी भीडभाडपूर्ण हुनेछ । मानिसहरू यसरी नै दौडधुपको जीवन बाँच्नेछन् र एक दिन फुत्त कहीँ बिलाउनेछन् । त्यसका लागि कुनै महामारी आइरहन पर्दैन । प्रत्येक क्षण यस भूगर्भमा कोही आइरहेको छ, कोही गइरहेको छ । जुन जमिन र धनदौलत हिजो एउटाको थियो, आज कसैको भइसक्यो । भोलि फेरि कसैको हुनेछ ।
जीवित अवस्थाको यही शरीर पनि जसलाई हामी आफ्नो ठान्छौं, त्यो हाम्रो मात्र कहाँ हो ? यसमा करोडौं जीवाणुहरूको वास छ । यसलाई हामी आफ्नो भनी दाबी गर्छौं भन्ने उनीहरूलाई अत्तोपत्तो पनि छैन । जसरी पृथ्वी अर्बौं मानिस, जीव र कीटपतंगको घर हो, त्यस्तै प्रत्येक मानिस, जीव र कीटपतंग अर्बौं अमिबा, भाइरस र यस्तै अन्य सूक्ष्म जीवहरूका घर हुन् । जसरी प्रत्येक शरीर अर्को शरीरको खाना हो, त्यसरी नै प्रत्येक जीव अर्को जीवको आश्रय हो । कोरोनाकै कुरा गरौं न । यो बसिरहेको थियो कुनै चमेरा, सर्प वा अन्य कुनै जीवमा । तीमध्ये कुनै जीव यस भाइरसको घर थियो । कुनै मूर्ख मनुष्यले उसको घर खाइदियो र भाइरसको संसार उजाड गरिदियो । उनीहरू बाध्य भएर नयाँ वासस्थानको खोजीमा लाग्नुपर्यो । अहिले भइरहेको महामारीलाई यसरी पनि हेर्न सकिन्छ । खाली आफ्नै अस्तित्वलाई केन्द्रमा राखेर हेर्दा यो एक विपद्जस्तो लाग्छ तर समग्र अस्तित्वका साथ हेर्दा यो हाम्रै कर्मविपाक हो भन्ने प्रस्टै हुन्छ ।
संसारमा हुन नसक्ने कुरा केही हुँदैन । जे हुन्छ त्यो हुन सक्ने भएरै हुने हो । यी मानिस कोरोना नलागेका भए पनि कुनै दिन मर्ने नै थिए । आज नलागेकाहरू पनि कुनै दिन अर्कै कारणले यस संसारमा रहनेछैनन् । कृष्णले त्यसै भनेका थिएनन्, ‘हे अर्जुन, जसलाई तिमी मारेँ भन्छौ, ती पहिल्यै मरिसकेका छन् ।’
त्यसैले सारमा के बुझ्नुस् भने जस्तै विपत् आएछ भने पनि अन्त्यमा केही गुम्नेवाला छैन । किनभने जे गुम्नलायक छ त्यही नै गुम्छ । प्रश्न मात्र अघि र पछिको हो ।
जे छ त्यो कहिल्यै नासिँदैन, जे छैन त्यो कहिल्यै रहँदैन । विज्ञानको पछिल्लो खोज क्वान्टम फिजिक्सले पत्ता लगाएको कुरा के भने संसारमा नित्य केही पनि छैन । नित्य भनेको कुराहरू सधैँ उस्तै रहिरहनु हो । यसको अर्को पनि अर्थ हुन्छ, त्यो के भने कुनै कुरा जस्तो देखिन्छ त्यस्तै पाइनु हो । क्वान्टम फिजिक्स भन्छ, यस संसारका प्रत्येक वस्तु खोतल्दै जाँदा खँदिलो चिज केही पनि भेटिन्न । यामानको पहाड पनि टुक्य्राउँदै जाँदा कण बाँकी रहन्छ र त्यसलाई पनि टुक्य्राउँदै जाँदा त्यसको खँदिलोपन हराएर त्यहाँ त तरङ्ग फेला पर्छ । त्यही कण एकैपटक तरंग र कणका रूपमा फेला परेपछि भौतिकशास्त्रीहरू चकित परेका छन्, संसार त बुद्धले भने झैं साँच्चै नै शून्य रहेछ । यो हेर्दा खँदिलो देखिन्छ, खोज्दा चाहिँ अस्पर्शीय छ आकाशजस्तै । हाम्रो शरीरको रचना पनि उस्तै छ । हेर्दा यो हाड, छाला, रगत, मासु, हड्डी इत्यादिले बनेजस्तो देखिए पनि प्रयोगशालामा यसका प्रत्येक कोष टुक््रयाउँदै जाँदा कुनै ठोस कुरो भेटिएन । त्यसका ठाउँमा तरंगका रूपमा ऊर्जा भेटियो । विज्ञानको पछिल्लो खोजले भन्छ, हाम्रो शरीर अनन्त ऊर्जावान् कोषहरूको एक संयुक्त मण्डल हो । एकअर्काको शक्ति जोडिने गरी जडान भएका अर्बौं ब्याट्रीसहितको एक प्रणाली समान छन् हाम्रा शरीरका कोष र झिल्लीहरू । अनि यसको मास्टर ब्याट्री अर्थात् कन्ट्रोल रुमचाहिँ मस्तिष्क हो । त्यसै हुनाले अरू सारा ब्याट्री मस्तिष्कको सूचनाका आधारमा सुख, दुःख, आनन्द, ईर्ष्या इत्यादिका तरंग उत्पादन गर्छन् । त्यसैले, उत्साही हुनु, आफ्नो र जगत्को कल्याणको कुरा सोच्नु, चिन्ता नलिनु र अनि जुनसुकै समस्याको पनि निकास छ भनेर सन्तोषको सास फेर्नु निकै जरुरी छ । मस्तिष्कले यस्तो सूचना संकलन गर्दा त्यसैअनुसारका तरंग शरीरका कोषकोषमा फैलिन्छन् । धैर्य, वीर्य, आनन्द र क्षान्ति बढ्ने सूचना गएछ भने शरीर त्यसअनुसारले नै तयार हुन्छ । अनि रोग प्रतिरोधात्मक शक्ति बढ्छ । त्यसविपरीतको सूचना गएछ भने शरीर उही माफिक गल्न पुग्छ ।
अक्सर, उमेर गएपछि शरीर थाक्छ र मन पनि निराश हुँदै जान्छ । किनभने सदैव राम्रो र जवान देखिन पाए हुन्थ्यो भन्ने मनुष्यको इच्छा हुन्छ । तर यो अनित्य संसारमा जवानी र सौन्दर्य शीतको थोपाजस्तै हो । मनोवेत्ताहरू भन्छन्, ‘अक्सर मानिस बुढ्यौलीलाई स्विकार्न सक्दैनन्, त्यसैले तिनको मन दुःखी हुन्छ । मन दुखेपछि रोगसँग लड्ने क्षमता घट्दै जान्छ । यस्तोमा धेरै रोगहरूले शरीरमा डेरा गरेर बस्छन् । यसको उल्टो, जसले जीवनको यो क्षणभंगुरतालाई स्वीकार गर्छ, उको बुढ्यौलीमा पनि एक शौर्य र चमक आउँछ, मन प्रसन्न रहन्छ र स्वस्थ अनि दीर्घायु प्राप्त हुन्छ ।’
यी सब तथ्यलाई मनन गर्दै कम्तीमा दिनमा एकपटक माथि भनेअनुसार कायगत स्मृतिको अभ्यास गर्नुस् । त्यसअघि अघिल्लो शृंखलामा उल्लेख भएझैं शरीर र मनको विरेचन गर्नुस् । मांसपेशीहरूको खुलापनलाई बढाउनुस् र यसै क्षणको अनुभवमा जगत्लाई हेर्नुस्, आफैंलाई नियाल्नुस् । लकडाउनको यो सास्ती तुरुन्त आनन्दमा परिणत हुन बेर लाग्नेछैन । अर्को शृंखलामा म मानस अवलोकनका थप विधिहरूका बारेमा लेख्नेछु ।
Twitter: @Bodhighanashyam
