काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले नेपाल सरकारलाई तत्काल १ करोड ६२ लाख रुपैयाँ बराबरको कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न भौतिक सामग्री दिने निर्णय गरेको छ ।
संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णयसमेत गरेको छ ।
बैठकले कोरानो पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत् फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्न आव्हान गरेको छ । कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशनसमेत दिएको छ ।
बैठकले कोरोना भाइरसविरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित राजदूतावासका प्रतिनिधि, सम्पूर्ण संघसंस्था रहेको एक उद्धार समिति गठनको लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको लागि आवश्यक समिति तथा उपसमिति गठन गर्न अध्यक्ष कुमार पन्तलाई पूर्ण अधिकार प्रदान गरेको छ ।
यस्तै बैठकले संघको कृषि समितिको संयोजकमा नारायण घिमिरे संयोजक (क्यानाडा) र उपसंयोजक कपिल थापा (जापान) लाई चयन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । डा. शर्माका अनुसार संघको केन्द्रीय विधान संशोधन सुझाव समिति संयोजकमा भूषण घिमिरे चयन भएका छन् । यस्तै संघको विधान व्याख्या समितिमा द्रोण रसाली (क्यानाडा) मनोनित भएका छन् भने सोही समितिको सदस्यमा शिव रिजाल र भूषण घिमिरे छन् ।
बैठकले विदेशस्थित दोस्रो पुस्ताका नेपालीबीच सञ्जाल निर्माण गर्न डा. मुरारी अधिकारी संयोजक रहेको एक समिति र खगेन्द्र जिसी संयोजक रहेको ग्लोबल नेपाली डायस्पोरा इन्ट्रिगेसन समिति गठन भएको छ ।
बैठकले कोरोना भाइरस संक्रमणको पीडितको लागि आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको छ ।
