चितवन-काठमाडौं आउजाउ गर्ने सडकको ठाउँठाउँमा पहिरोको जोखिम उस्तै

पहिरोका कारण रोकिएका गाडी र यात्रुको सुरक्षाका लागि चितवनका विभिन्न १४ ठाउँमा 'सेफ्टी होल्डिङ स्पेस' तोकेर राखिएको छ ।

आश्विन १९, २०८२

रमेशकुमार पौडेल

The risk of landslides is the same in places on the Chitwan-Kathmandu road

चितवन — नारायणगढ-मुग्लिन सडकको तुइनखोला, कालीखोला र पृथ्वी राजमार्गको फिस्लिङ नजिक पहिरो तथा ढुंगा खस्ने क्रम रोकिएको छैन ।

चितवन जिल्ला प्रहरी कार्यालयले आइतबार बिहान दिएको जानकारीअनुसार पृथ्वी राजमार्गको तनहुँ र धादिङ क्षेत्रमा पनि पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकाले बाटो तत्कालै खुल्ने अवस्था छैन ।

'बाटो खुल्ना साथ तत्काल जानकारी हुन्छ । त्यसैले चितवनका विभिन्न 'सेफ्टी होल्डिङ स्पेस'मा रहेका सबै गाडीलाई लेन अनुशासन पालना गरेर धैर्यपूर्वक बस्न अनुरोध छ,' चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले भने । पहिरोका कारण रोकिएका गाडी र यात्रुको सुरक्षाका लागि चितवनका विभिन्न १४ ठाउँमा सेफ्टी होल्डिङ स्पेस तोकेर गाडीहरू ती ठाउँमा राखिएको छ ।

यसरी रोकिएका गाडीका चालक तथा यात्रुका लागि चितवनभरका होटलमा साबिकको मूल्यमा ७५ प्रतिशत छुटमा बस्ने व्यवस्था मिलाउने चितवन जिल्ला प्रशासन कार्यालयमा शनिबार साँझ भएको सरोकारवालाको बैठकले निर्णय गरेेको थियो । जसअनुसार १४६ जना यात्रु सम्पर्कमा आएर होटलमा बसेको चितवन प्रहरीले जानकारी दिएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully