रोशीमा बाढी : बिपी राजमार्गमा कटान, अरनिको राजमार्गमा पहिरो

रोशी खोलाले राजमागको विभिन्न स्थानमा कटान गरेकोले राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आश्विन १९, २०८२

ज्योती श्रेष्ठ

Floods in Roshi: erosion on BP highway, landslides on Araniko highway

काभ्रे — शनिबारदेखि परेको पानीले जिल्लास्थित बिपी राजमार्ग र अरनिको राजमार्गको विभिन्न स्थानमा पहिरो झरेको छ । रोशी खोलाले राजमागको विभिन्न स्थानमा कटान गरेकोले राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा,  घुमाउने, माम्ती लगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेको छ । ‘खोलाले राजमार्ग कटान गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ,’ उनले भने, ‘उक्त स्थानमा पैदल यात्रा पनि गर्न सक्ने अवस्था रहेको छैन ।’ 

त्यस्तै, जिल्ला स्थित अर्को राजमार्ग अरनिको राजमार्गको विभिन्न स्थानमा लेदो सहितको पहिरो झरेकाले राजमार्ग अवरुद्ध भएको उनले बताए । उनका अनुसार, राजमार्गको ५४ किलो र खावा सडक खण्डमा लेदो र ढुंगा सहितको पहिरो झरेको छ । त्यस स्थानमा पनि यातायात आवागमन ठप्प भएको उनले बताए । 

अरनिको राजमार्ग अन्तर्गत नै काभ्रे र भक्तपुर जिल्लाको सिमाना रहेको साँगा क्षेत्रमा पनि लेदो र ढुंगा सहितको पहिरो झरेकाले दुईतर्फी यातायात अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार, अहिले त्यहाँ पहिरो पन्छ्याउने काम भइरहेको छ । अहिले वैकल्पिक मार्गको रूपमा भक्तपुर–नाला सडक खण्डबाट यातायात सुचारु गरिएको छ । 

त्यस्तै, काठमाडौँ जोड्ने कुन्तावेशी–नगरकोट सडक खण्डमा पनि अवरुद्ध भएको उनले बताए । उनका अनुसार, सो सडक खण्डको नयाँ गाउँमा सडक भासिएकाले त्यस क्षेत्रमा पनि यातायात अवरुद्ध भएको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully