मकवानपुर — स्थानीय तह उपनिर्वाचन–२०८१ अन्तर्गत हेटौंडा–१२, मा मतदान प्रक्रिया सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार करिब ६८.०७ प्रतिशत मत खसेको हो । कुल ८ हजार ५३ मतदाता रहेको यस वडामा ५ हजार ४ सय ८३ मत खसेको हो ।
यस वडामा रहेको बिष्णु ज्योति आधारभूत र प्रतिभा माविको ९ वटा केन्द्रमा मतदान भएको थियो । बिष्णु ज्योति आधारभूत विद्यालयमा ४ वटा र प्रतिभामा ५ वटा मतदान केन्द्र रहेका थिए ।
बिष्णु ज्योति आधारभूत विद्यालयमा ३६ सय २५ मतदाता रहेकोमा २४ सय ७४ मत खसेको छ । जसमध्ये ११ सय ८३ जना पुरुष र १२ सय ९१ महिलाले मतदान गरेका छन् । प्रतिभा माध्यमिक विद्यालयमा ४४ सय २८ मतदाता रहेकोमा ३ हजार १२ मत खसेको छ । जसमध्ये १३ सय ७२ पुरुष र १६ सय ३५ महिला मतदान गरेका छन् ।
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । मुख्य निर्वाचन अधिकृत अवानी मैनालीले मतदाताहरु बिहान ४ बजेबाट मतदानका लागि उत्साहित हुँदै लाइनमा बसेका थिए । यस वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन भएको हो । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।
वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका छन् । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्ररुपमा उम्मेदवार बनेका छन् । वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रबाट रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।
वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार बनेका छन् ।
