‘मल नपाएर हामीले दस ठाउँमा भौंतारिनुपर्छ । भोट माग्न आउनेलाई यसको चासो नै छैन ।’
काभ्रे — पाँचखाल–३ का रामकुमार दनुवार धान भित्र्याएर आलु लगाउने तयारीमा छन् । धान रोप्ने बेला मल नपाएर सास्ती खेपेका उनले आलु रोप्दा पनि मल नपाउने चिन्ता छ । ‘मल नपाएर धेरै दुःखले धान रोप्यौं, नक्कली मल परेकाले केही किसानको धान डढेको छ, अब आलु पनि डढ्यो भने के हुन्छ ?,’ उनले भने, ‘मल नपाएर हामीले दस ठाउँमा भौंतारिनुपर्छ । भोट माग्न आउनेलाई यसको चासो नै छैन ।’
पाचँखाल–४ का ६५ वर्षीय किसान शिवबहादुर दनुवारलाई पनि यस्तै चिन्ता छ । ‘किसानले सधैँ मल बीउकै समस्या भोग्नुपरेको छ । भनेको बेला मल बीउ पाइँदैन । दुःख गरी उत्पादन गर्यो बजार भाउ राम्रो हुँदैन,’ उनले भने, ‘हाम्रो दुःख हामीसँगै छ । हाम्रा समस्या बुझ्न कोही आएनन् ।’
प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू घरदैलो अभियानमा निस्किएका छन् । समयमै मल नपाएर खेती गर्न दुःख झेलेका उनीहरूले अहिले चुनावको बेला गाउँघरमा विकासका नारा लिएर आउने नेतासँग कुनै अपेक्षा राखेका छैनन् । ‘किसानले मल नपाएर दुःख पाउँदा कानमा तेल हालेर बसेका नेताहरूबाट के नै आस गर्न सकिन्छ र,’ रामकुमारले भने, ‘किसानलाई समयमै मल दिए पुग्छ ।’
शिवबहादुर अघिल्लो निर्वाचनका बेला पनि उम्मेदवारले किसानका समस्या समाधान गरिदिन्छु भन्दै भोट माग्दै झूटो आसवासन दिएको कुराको बिर्सिएका छैनन् । ‘पाँच वर्षअघि पनि मल कारखाना खोल्छौँ, किसानलाई समयमा मल दिन्छौं, अब किसानका उत्पादनले राम्रो बजार मूल्य पाउँछ भन्थे,’ उनले भने, ‘जितेर गएपछि त यी सबै बिर्सिए । फेरि चुनाव लागेको छ । यसै भन्दै उम्मेदवारहरू घर दैलोमा आएका छन्, कसरी विश्वास गर्ने ?’
लामो समयदेखि किसानले झेल्दै आएको मल अभाव समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक दलका उम्मेदवारहरूले रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनाएका छन् । मल कारखाना खोल्न बजेटमा पहल गरिए पनि कार्यान्वयन हुन नसकेको काभ्रे–२ अन्तर्गतको प्रदेशसभा (१) का एमालेका उम्मेदवार कुमार खकुरेलले बताए ।
किसानलाई सहज ढंगबाट मल उपलब्ध गराउने प्रतिबद्धता अनुसार काम गर्ने उनको भनाई छ । मल अभावको समस्या कुनै पार्टीको मात्र नभएर देशकै भएकाले यस विषयलाई गम्भीरतापूर्वक हेरिएको काभ्रे–२ अन्तर्गतको प्रदेशसभा (२) का गठबन्धनतर्फ कांग्रेसका उम्मेदवार कञ्चन चन्द्र बादेले बताए । समयमै मल खरिद गरेर सहज तथा समानुपातिक ढंगबाट किसानलाई वितरण गर्ने उनले प्रतिबद्धता गरे । यसका साथै मल अभावको श्रृजना हुन नदिन मल उद्योग स्थापनाका लागि पहल गर्ने योजना उनले सुनाए ।
किसानलाई समयमै मल उपलब्ध गराउन प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य गरिरहेको प्रतिनिधिसभा–१ अन्तर्गतको प्रदेशसभा (१)मा गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार एवं प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले बताए । ‘कारखाना स्थापना गर्न समय लाग्न सक्ला, तर किसान मल त अहिले नै चाहिएको छ,’ उनले भने, ‘मल अभाव हुन नदिन संघीय सरकार, मल वितरक तथा ढुवानी निकायसँग समन्वय गरेर मल उपलब्ध गराउन पहल गर्ने प्रयास भइरहेको छ ।’
जिल्लामा मात्र नभइ देशैभर मलको माग बढि भएको साल्ट ट्रेडिङ बनेपा शाखाका अधिकृत सुरेन्द्र अवालेले बताए । साल्ट ट्रेडिङसँग अहिले ५५ सय ६० बोरा मल रहेको उनले बताए । उनका अनुसार उपलब्ध भएको मल सरकारले निर्धारण गरेको कोटाअनुसार स्थानीय तहसँग समन्वय गरेर किसानलाई वितरण गरिनेछ ।
