हेटौंडा — मकवानपुरमा १२–१७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आइतबार हेटौंडाको भुटनदेवी माविबाट खोप कार्यक्रम सुरुवात गरे ।
मन्त्री खतिवडा उक्त विद्यालयका पूर्वविद्यार्थीसमेत हुन् । उनले विद्यार्थीलाई खोप लगाउन र छुटेका परिवारका अन्य सदस्यलाई पनि अनलाइन फाराम भरेर खोप लगाउन भन्न आग्रह गरेका थिए ।
विद्यालयका करिब ७ सय विद्यार्थीलाई खोप लगाइने प्रधानाध्यापक माधव दाहालले जानकारी दिए । खोप लगाइनेबारे अभिभावकलाई पनि अवगत गराइएको उनले सुनाए । जिल्लामा ५५ हजार मात्रा खोप आएको छ । जसमध्ये ३५ हजार मात्रा हेटौंडा उपमहानगरले पाएको छ । खोप लगाउन अनिवार्य रूपमा अनलाइन फाराम भर्नुपर्ने उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए । उनका अनुसार नगरका १ सय ४ विद्यालयमध्ये आइतबार २० वटामा खोप अभियान सुरु भएको छ ।
वाग्मती प्रदेशका भने २ लाखभन्दा धेरै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । अभियानअन्तर्गत प्रदेशका १२–१७ वर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई मोडर्ना खोप लगाइनेछ । यसका लागि २ लाख ७ हजार ३ सय ८० मात्रा खोप उपलब्ध गराइएको प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । आइतबार मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान थालिएको छ । यी जिल्लामा विद्यालयकै खोप केन्द्र तोकेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप लगाइदिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर मोडर्नाको पहिलो मात्रा पुस १४ सम्म र दोस्रो मात्रा माघ २–१२ सम्म दिइनेछ । अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता भएका जिल्लामा भने बालबालिकालाई फाइजर खोप लगाइनेछ । ८ जिल्लामा फाइजर खोपको पहिलो मात्रा पुस १३–२२ सम्म र दोस्रो मात्रा माघ ४–१३ सम्म दिइनेछ । देशभर १२–१७ वर्षसम्मका बालबालिकाको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।
