कोरोनाले नारायणगढ-मुग्लिङ सडकअन्तर्गतका पुल निर्माण प्रभावित

संक्रमणको जोखिमका कारण कामदार अभाव, भारतबाट निर्माण सामग्री आउन ढिलाइ

जेष्ठ १८, २०७८

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमणको दोस्रो लहर र जारी निषेधाज्ञाका कारण नारायणगढ–मुग्लिङ सडकअन्तर्गतका पुल निर्माणको काम प्रभावित भएको छ । निर्माणका काममा रोकटोक नभए पनि श्रमिक अभाव हुँदा समस्या भएको निर्माण व्यवसायीहरू बताउँछन् ।

यो सडकमा भासिएको ठाउँमा मर्मतको काम पनि सुरु भएको छ । तर मर्मतका लागि भारतबाट सामग्री आउन ढिलाइ हुनसक्ने देखिएको निर्माण व्यवसायीको भनाइ छ ।

नारायणगढ–मुग्लिङ सडकमा १८ वटा पुल छन् । पहिला साढे पाँच मिटरको हाराहारीमा फराकिलो यो सडकलाई तीन वर्षअघि विस्तार गरेर एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाइएको छ । अहिले यो सडक ९–११ मिटर चौडा छ । सडक विस्तार भए पनि त्यसअनुरूप पुलहरू फराकिला छैनन् । त्यसैले पुल पनि फराकिलो बनाउन थालिएको हो । तीनवटा पुल निर्माण भइसकेका छन् । ‘बाँकी १५ मध्ये ८ वटाको काम सुरु भइसकेको छ । ७ वटाको डिजाइन तयार हुँदै छ । जसमध्ये ३ वटाको काम पनि यसै वर्ष सुरु हुन्छ भन्ने आशा छ,’ नारायणगढ–मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले भनिन् ।

पुल निर्माणलाई प्याकेज १ र प्याकेज २ मा बाँडिएको छ । प्याकेज १ मा मुग्लिङतिरका ७ वटा पुल छन् । प्याकेज २ मा नारायणगढतर्फका ७ वटा पुल छन् । प्याकेज १ का पुलको निर्माण लागत ६९ करोड रुपैयाँ र प्याकेज २ का पुलको निर्माण लागत ५९ करोड रुपैयाँ रहेको रानाभाटले जानकारी दिइन् । ३३ महिनामा सक्ने गरी पुल निर्माण गर्न २०७६ चैतमा अनक कन्स्ट्रक्सनसँग सम्झौता भएको हो । कन्स्ट्रक्सनका साइट इन्जिनियर दशरथ डंगोल निषेधाज्ञापछि निर्माण कार्य प्रभावित भएको बताउँछन् ।

‘एउटा पुलमा २५/३० जना कामदार चाहिन्छ तर भनेजति कामदार छैनन् । निषेधाज्ञा लागेपछि केही कामदार घर गए । त्यसैले काम प्रभावित भएको छ,’ डंगोलले भने । समग्रमा पुल निर्माणको काम ५० प्रतिशत जति सकिएको तर आउँदा दिनमा कामदार झनै अभाव हुने देखिएको उनको भनाइ छ । ‘जेठपछि धान रोपाइँ सुरु हुन्छ अनि धेरै कामदार घर जान्छन् । त्यसपछि झनै काम सुस्त हुन्छ,’ उनले भने, ‘अहिले पनि संक्रमणको डरले केही कामदार आउन डराएका छन् । कोहीले काममा आउँछु त भन्छन् तर उनीहरूलाई काममा लगाउन हामीलाई पनि डर छ । त्यसैले निर्माण कार्य प्रभावित हुने अवस्था छ ।’

नारायणगढ–मुग्लिङ सडक विस्तारको काम सकिएलगत्तै नारायणगढदेखि १७ किलोमिटर पर सडक त्रिशूली नदीतर्फ भासिएको थियो । त्यहाँ अहिले मुस्किलले एकतर्फी सवारी मात्रै चल्न सक्छन् । भासिएको ३ वर्ष हुनै लाग्दा पनि सडक बन्न सकेको छैन । गत वर्षको पुसमा १३ करोड रुपैयाँ लागतमा एक वर्षभित्र काम सक्ने गरी मर्मतको जिम्मेवारी बज्र गुरु रायमाझी जेभीलाई दिइए पनि हालसम्म आधा मात्रै काम सकिएको छ । निर्माण कम्पनीले भने कोरोना फैलँदा काम गर्न समस्या भएको बताएको छ ।

‘केही समानहरू भारतबाट मगाउनुपर्छ । भारतमा पनि कोरोना अत्याधिक फैलिएपछि सोचअनुरूप काम हुन सकेको छैन । मर्मतका लागि चाहिएको एंकर रडहरू भारतबाट चाँडै नआए समस्या पर्नेछ,’ बज्र गुरु रायमाझी जेभीका साइट इन्जिनियर कपिल ढकालले भने । कोरोनाको दोस्रो लहरभन्दा अघि लक्ष्यभन्दा बढी काम भएको दाबी गर्दै उनले अहिले लक्ष्य भेटाउन गाह्रो हुन थालेको बताए ।

‘यो बेलासम्म ६५ प्रतिशत काम सक्नुपर्थ्यो तर ५५ प्रतिशत मात्रै पूरा भएको छ । आउँदा दिनहरूमा झनै गाह्रो पर्छ कि भन्ने डर छ,’ ढकालले भने । उनका अनुसार हाल ३० जना कामदार चाहिनेमा १८ जनाले काम गरिरहेका छन् ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully