मकवानपुर — मकवानपुरमा दैनिक रूपमा कोरोना संक्रमित बढिरहे पनि कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन । कोरोनाको पहिलो लहरमा संक्रमितको सम्पर्कमा रहेकको स्वाब परीक्षण गरिन्थ्यो भने हाल लक्षण देखिएकाको मात्रै परीक्षण भइरहेको हेटौंडा अस्पतालले जनाएको छ ।
‘संक्रमितको सम्पर्कमा आएकाहरू क्वारेन्टाइनमा नबस्दा पनि समस्या भइरहेको छ,’ हेटौंडा अस्पतालका कोरोना फोकल पर्सन डा. सागर काफ्लेले भने । उनले संक्रमितको रेखदेख गर्नेहरू र उनीहरूको सम्पर्कमा रहेकाहरू यता–उता डुल्दा संक्रमण बढिरहेको बताए । उनले स्थानीय तहका प्रतिनिधिले यस विषयमा तत्काल ध्यान दिन जरुरी रहेको औंल्याए ।
विशेष गरी होम आइसोलेसनमा बसेकाका आफन्त र भेट्न आउने जानेहरूले कोरोना फैलाइरहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंको आरोप छ । ‘संक्रमितहरू आफैं जथाभावी नहिँडे पनि संक्रमितको सम्पर्कमा आएकाहरू बेपरबाह निस्किँदा कोरोना बढिरहेको हो,’ चौलागाईंले भने । उनका अनुसार हाल जिल्लामा कोरोना संक्रमितहरू अधिकांश होम आइसोलेसनमा बसेका छन् ।
स्वास्थ्य अवस्था कमजोर भएकाहरूलाई मात्रै अहिले संस्थागत आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेकाहरू र उनीहरूको रेखदेख गर्नेहरूले ध्यान नदिँदा कोरोना संक्रमण हेटौंडामा भुसको आगो जसरी बढिरहेको छ ।
