घरदैलो गर्दागर्दै संक्रमित

जेष्ठ ४, २०७८

राजकुमार कार्की

सिन्धुली — मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन सोमबार कोरोना संक्रमित भएका छन् । उनी संक्रमितको अवस्था र उपचारबारे बुझ्न घरदैलो अभियानमा लागेका थिए ।

‘यस्तो महामारीमा हात बाँधेर बस्ने कुरा भएन, अहिले आफैं होम आइसोलेसनमा उपचारमा छु,’ उनले भने । दुधौली नगरपालिकाका मेयर घनश्याम राउत दुई साता होम आइसोलेसनमा रहेर सोमबार निको भएका छन् । उनी पनि संक्रमितको अवस्था बुझ्न घरदैलो गर्दा संक्रमित भएका थिए ।

होम आइसोलेसनमा बसेका संक्रमित भेटघाटमा लागेकी सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल पनि संक्रमित बनेकी छन् । यी पालिकामा स्वास्थ्यकर्मीसहितको टोलीले घरदैलो अभियान चलाएका थिए । अभियानबाट अन्य रोगका बिरामीले समेत लाभ लिएका छन् । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री यतिखेर नगरभरिका होम आइसोलेसनमा बसेका संक्रमितको घरदैलोमा छन् । 

‘स्वास्थ्यमा समस्या भए नगरले चौबीसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स र कोभिड अस्पतालमा एचडीयू, अक्सिजनलगायत सबै सुविधा भएको जानकारी दिएको छु,’ उनले भने । सिन्धुलीमा संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन् । 

कोरोना भाइरस

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully