चितवन — पर्यटक बोकेर जंगल सफारीमा जान भ्याइ नभ्याइ हुने सौराहाका हात्तीहरु लकडाउनसँगै फुर्सदमा छन् । तर हात्तीधनीहरु भने तनावमा छन् । पर्यटक नआउँदा आम्दानी गुमेको छ ।
त्यसमाथि भोकाएका हात्तीको पेट के गरेर भर्ने हो भन्ने चिन्ता उनीहरुलाई थपिएको छ । हात्ती पालेर व्यवसाय गर्दै आएकाहरुले बुधबार सौराहामा पत्रकार सम्मेलन गर्दै निकुञ्ज छेउको घाँसे मैदानमा हात्ती चराउन पाउनु पर्ने माग गरेका छन् ।
सौराहाको यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषिराम तिवारीले चितवनको पर्यटन जोगाएका हात्तीहरु अहिले खानै नपाउने अवस्थमा पुगेको बताए । ‘कोरोनाको यो महामारीमा सबैलाई संकट परेको छ । हात्तीलाई चर्ने ठाउँ नै भएन । त्यसैले हामीले चितवन निकुञ्जसँग चर्ने ठाउँको प्रबन्ध होस् भन्ने माग गरेका हौं,’ तिवारीले भने ।
सौराहामा सहकारीमा आबद्धसमेत गरेर करिब ७० वटा हात्ती घर पालुवा छन् । सौराहा नजिक बद्रहनी गाउँ आडको राप्ती नदी पारी निकुञ्जले पहिला हात्ती चर्न स्वीकृति दिएको थियो । लकडाउन सुरु भएपछि चैत्र १५ देखि त्यहाँ हात्ती चरेका थिए । तर जेठ १८ पछि चराउन नदिएको उनले बताए । व्यक्तिहरुको जग्गा नदीले कटान गरेर निकुञ्ज सिमानाभित्र पारेको ३७ विघा जग्गामा हात्ती चर्न मिल्ने राम्रो घाँस छ ।
‘नदी कटानले सिमाना हेरफेर भयो । तर त्यहाँको जग्गाको लालपुर्जा अहिले पनि सौराहाका विभिन्न १० जना व्यक्तिको नाममा छ । त्यही ठाउँमा हात्ती चर्न दिनु पर्दछ भन्ने कुरा आएको हो,’ क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । कोरोना जस्तो महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त भएको हुँदा निकुञ्जको सानो सहयोगले हात्तीको उद्धार हुने हात्ती सहकारीका अध्यक्ष तिवारीले बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती हात्ती पाल्ने दायित्व व्यवसायी कै हुने बताउँछन् । ‘चैत्रका बेलामा चारैतिर संकट थियो । घाँस पनि पाइदैन थियो । त्यसैले व्यवहारिकता हेरेर अलि दिनलाई सुविधा दिएको हो । अहिले त बाहिर पनि घाँसहरु प्रशस्तै छ । सधैं निकुञ्जमा लगेर चराउन पाउनु पर्छ भनेर पनि कही हुन्छ,’ प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भने ।
घर पालुवा हात्तीहरु निकुञ्जभित्र छिर्न नपाउने नीति रहेको उनले बताए । तर संकटको अवस्थामा आफूले केही सहयोग गरेको हुँदा नीतिकै उल्लंघन हुने गरेर सधैंलाई हात्ती चराउन दिने पक्षमा आफू नरहेको उनले बताए । ‘मैले अलि समय व्यवहारिकता हेर्ने कुरा हुन्छ । चराउन पाउने नीति बन्छ भने मैले रोक्ने कुरा भएन । त्यसका लागि विभाग वा मन्त्रालयले नीति बनाएर दिन पर्यो । व्यवसायीले माग गरेर मात्र हुँदैन,’रुपाखेतीले भने ।
व्यवसायीका अनुसार एउटा हात्तीका लागि दिनमा दुई क्विन्टल घाँस पराल, दुई सय लिटर पानी, २० केजी धान, एक किलो चना र एक पाउ नुन आवश्यकता हुन्छ । अध्यक्ष तिवारीका अनुसार माहुते र सुसारे तथा खानपानमा हात्तीका लागि महिनामा ७० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुन्छ । आम्दानी शून्य भएका कारण धेरै व्यवसायीहरु हात्तीका लागि खर्च गर्न सक्ने अवस्थामा नरहेको तिवारीले बताए ।
‘पर्यटक नै नआउने अवस्था अब चाँडै अन्त्य हुने सम्भावना छैन । व्यवसायीहरु सिधैं डुब्ने हुन् । यस्तो बेला निकुञ्जले छेउछाउमा चर्न दिए हात्तीलाई घाँस हुन्थ्यो हामीलाई राहत पुग्थ्यो । आखिर त्यो घाँस वर्षामा त्यसै खेर जाने नै हो,’ तिवारीले भने । सौराहामा वर्षमा दुई लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । तीमध्ये ९० प्रतिशत पर्यटक हात्ती चढेर जंगल घुम्न जान्छन् ।
हात्ती सफारीमा निजी हात्ती मात्रै प्रयोग हुने गरेका छन् । निकुञ्जभित्र निजी हात्ती जान नपाउने नियमका कारण मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुने गरेको छ । हात्ती सफारीबाट मध्यवर्ती वनले वर्षमा डेढ करोड रुपैयाँसम्म आम्दानी गर्दछन् । हात्ती चढ्दा निकुञ्जलाई दिने राजश्वसहित विदेशीले चार हजार दुई सय ५०, सार्क राष्ट्रका नागरिकले एक हजार ७ सय ५० र नेपालीले एक हजार २ सय ५० रुपैयाँ तिर्दछन् ।
