मकवानपुर — मकवानपुर जिल्लामा रहेको थुनुवा तथा कैदीबन्दीहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गराउन सुरु गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुले मंगलबारबाट थुनुवा तथा कैदीबन्दीहरुको कोरोना भाइरस संक्रमणको परीक्षणका लागि आरडीटी किटबाट एन्टीबडी परीक्षण गराउन सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेकामध्ये दसजनाको परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । उनका अनुसार हिरासतमा रहेका ३० जना थुनुवामध्ये १४ दिन बिताइसकेकाहरुको मात्र आरडीटी परीक्षण गरिएको हो ।
उनका अनुसार क्षेत्रीय कारागार भीमफेदीमा समेत आरडीटी परीक्षण गरिनेछ । ‘भीमफेदी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले क्षेत्रीय कारागारमा आरडीटी परीक्षण गर्नेछ । हामीले त्यसका लागि आवश्यक किट उपलब्ध गराइसकेका छौं ।’, उनका अनुसार पहिलो चरणमा आरडीटी परीक्षणका लागि ४० वटा किट भीमफेदी पठाइएको छ । भीमफेदी कारागारमा नौसय ७६ जना कैदीबन्दी रहेको जेलर प्रकाश खनालले जानकारी दिए । उनका अनुसार लकडाउन अघिबाटै कारागारमा रहेको कैदीबन्दीहरुलाई बाहिरको मानिससँग भेटघाट गर्न दिइएको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जिल्ला अदालत मकवानपुरमा सोमबार बसेको बैठकको निर्णयअनुसार हरासतमा रहेको थुनुवा र कैदीबन्दीहरुको आरडीटी परीक्षण सुरु गरिएको हो । ‘हामीले क्षेत्रीय कारागार र हिसातमा समेत उच्च शतर्कता अप्नाएका छौं । सर्वपक्षीय निर्णयअनुसार आरडीटी परीक्षण गरिएको हो ।’, उनले अन्य समयमा जिल्ला प्रहरीको हिरासतमा एकसयभन्दा बढी थुनुवा हुने गरेको भएपनि लकडाउनको समयमा ३० जनाभन्दा बढी भएका छैनन् ।
मकवानपुर जिल्लामा पहिलो चरणमा विदेशाबाट फर्किएकाहरुको र क्वारेन्टाइन तथा आइसोलेसन वार्डमा रहेकाहरुका परीक्षण भइरहेको छ ।
