१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

‘जिम्मेवारी बाँडफाँटको विषयले सहयात्रामा समस्या हुनेछैन’

काठमाडौँ — एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । 

‘जिम्मेवारी बाँडफाँटको विषयले सहयात्रामा समस्या हुनेछैन’

एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र ०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको हो । यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्री नियुक्त गरेका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले बिनाविभागीय मन्त्रीको हैसियतमा शपथ लिएका छन् ।

केन्द्र र प्रदेशका नेतृत्वसहित सबै विषय टुंगो लगाएपछि एमाले, रास्वपा र जसपाका वरिष्ठ नेताहरूलाई उपप्रधानमन्त्रीसहित मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारी छ । जसपा अध्यक्ष उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुन खोजेकाले पहिलो चरणमा कसैलाई पनि उनले मन्त्री तोकेका छैनन् । उनले उपप्रधानसहित परराष्ट्रमन्त्री लिने समझदारी भएको छ । यसै सन्दर्भमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग गरिएको कुराकानी :

तपाईंहरू सरकारले काम गर्न सकेन, यो सरकार नढलेसम्म मुलुकमा आशा जाग्दैन भन्दै आउनुभएको थियो । तर एकाएक फेरि पुष्पकमल दाहालको नेतृत्वमै अर्को गठबन्धन बनाउनुभयो । यो परिस्थिति कसरी निर्माण भयो ?

हिजोको गठबन्धन के कारणले समस्यामा पर्‍यो वा टुट्यो भन्ने विषय हामीलाई भन्दा पनि त्यहीं गठबन्धनका नेताहरूलाई थाहा हुने कुरा भयो । गठबन्धन टुट्ने स्थिति भए पनि स्वाभाविक रूपमा मुलुकलाई निकास दिनका लागि हामीले भूमिका खेलेका हौं । गठबन्धन टुटेपछि मात्रै हामी जोडिन पुगेका हौं ।

नयाँ गठबन्धनमा पद बाँडफाँट टुंगिएको छैन । राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षबाहेक ४ दलबीच कुनै समझदारी बनेको देखिँदैन । अब मन्त्रालयहरूको बाँडफाँट कसरी टुंगिन्छ ?

हिजोको गठबन्धन भत्कियो, मुलुकलाई निकास दिनुपर्ने परिस्थिति सिर्जना भए पनि हामी प्रकट भएका हौं । मुख्य रूपले देशका, जनताका समस्या केन्द्रमा राखेर काम गर्नुपर्ने भएकाले कुन पद वा के पद कसले लिने वा दिने भन्ने विषय गौण हो । देशलाई एउटा समस्याबाट जोगाएर अगाडि लैजाने, जनतालाई आशा जगाउने काम मुख्य हो । हाम्रो ध्यान त्यसमा केन्द्रित हुनेछ । तर पनि सहयात्राका क्रममा कसले के जिम्मेवारी लिने ?, कुन जिम्मेवारी वहन गर्ने भन्ने विषय आउँछ । आपसमा बसेर टुंग्याउँछौं, त्यति ठूलो विषय हैन ।

तर, उपप्रधान तथा गृहमन्त्रीमा तपाईंहरूको पनि दाबी, रास्वपाको पनि दाबी रहेकाले पद बाँडफाँटको विषय जटिल बन्दै छ भन्ने छ नि ?

यो अनुमान मात्र हो । अहिलेको सहयात्रामा पद र जिम्मेवारीको विषयले कुनै समस्या सिर्जना हुँदैन ।

अघिल्लो पटक (पुस १० को) यस्तै समीकरणमा प्रधानमन्त्रीको नेतृत्वमा आलोपालो गर्ने भन्ने थियो । अवधि नै तोकिएको थियो । तर आज ४ दलबीचको ८ बुँदे सहमतिमा आलोपालोको कुनै विषय उल्लेख छैन । सरकारको नेतृत्व र आलोपालोको विषयमा दुई दलबीच कस्तो समझदारी भएको छ ?

यो कुनै कागजमा लेख्ने विषय हैन । के गर्ने, कसो गर्ने, आलोपालो गर्ने कि नगर्ने भन्दा पनि परस्पारिक विश्वास ठूलो कुरा हो । संसद्को यो कार्यकाल प्रभावकारी ढंगले अघि बढाउने सन्दर्भमा पार्टीहरू र नेताहरूका बीचमा भरोसायोग्य र विश्वसनीय सम्बन्ध स्थापित हुन्छ ।

पहिलो चरणमा बिनाविभागीय तीन मन्त्री मात्रै नियुक्त भएका छन् । एमाले कसको नेतृत्वमा सहभागी हुन्छ ? पार्टीभित्र छलफल भएको छ कि छैन ?

यो सहज ढंगले निर्णय हुने विषय हो । अहिलेसम्म कुनै छलफल भएको छैन । छलफल भएको पाँच मिनेटमै यो विषयमा एमालेले निर्णय गर्छ ।

तपाईंले नै नेतृत्व गरेर सरकारमा सहभागी हुने भन्ने अनुमान गरिएको छ । त्यस्तो वातावरण बनेको छ कि छैन ?

अहिले कुन मन्त्रालय, को व्यक्ति भन्ने विषयमा कुनै पनि छलफल भएको छैन । आम नागरिकको विश्वास जगाउने मूल मुद्दा हो । त्यसको गृहकार्यमा छौं । पद, मन्त्रालयको विषयमा केही कुरा भएको छैन । मै सरकारमा जानुपर्छ भन्नेबारेमा मैले सोचेको छैन ।

तपाईंले नसोचे पनि पार्टी नेतृत्व वा अरूले प्रस्ताव गर्नु होला नि ?

त्यस्तो कुनै कुरा भएको छैन । म यस पटक सरकारमा जानेभन्दा पनि पार्टी काममै सक्रिय हुने रुचि छ । नेतृत्वसमक्ष म भन्छु र पार्टीकै काममा लाग्नेछु । सरकारमा नपठाउनका लागि म नेतृत्वलाई अनुरोध नै गर्नेछु । को जाने, कसको नेतृत्वमा जाने भन्ने निर्णय भएको छैन । यस विषयमा हाम्रो अध्यक्षले उपयुक्त निर्णय गर्नु हुनेछ । उपयुक्त समयमा छलफल हुन्छ, पार्टीले निर्णय गर्छ । तर म यस पटक पार्टी काममै संलग्न हुनेछु ।

प्रकाशित : फाल्गुन २२, २०८० १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?