अन्तर्वार्ता

‘पन्थी र केसीलाई मैले अख्तियारमै भेटेको हुँ’

मैले प्रतिवेदन तयारी क्रममा कुनै कमी हुन नदिनु भनेकै हो । कुनै प्रकारको प्रभाव, दबाब पर्‍यो र त्यसअनुसार काम भयो भने त्यसले तपाईंहरुलाई नै पोल्नेछ भनेको थिएँ ।

काठमाडौँ — २०७४ चैत २६ देखि २०७६ माघ २० सम्म गृहसचिव रहेका प्रेमकुमार राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त छन् । शरणार्थी गिरोहको उत्पत्ति र यो सञ्जाल सक्रिय रहन थालेकै बेला गृह मन्त्रालयको प्रमुख प्रशासकीय जिम्मेवारीमा रहेका राईले ‘त्यसबेलै नक्कली शरणार्थीका नाममा रकम उठाउन थालिएको हल्ला सुनेर आफूले तत्काल सोधखोज र सम्बद्ध व्यक्तिसँग सोधपुछ’ गरेको बताएका छन् ।

‘पन्थी र केसीलाई मैले अख्तियारमै भेटेको हुँ’

प्रमुख आयुक्त प्रेमकुमार राईसँग कान्तिपुरका देवेन्द्र भट्टराईले गरेको कुराकानी :

अहिले चलेको शरणार्थी गिरोह प्रकरणमै जोडिएर २०७८ मंसिर ३ मा परेको उजुरी (सी–०१६१६६) काठमाडौंका रामशरण केसीले अख्तियारमा एक उजुरी हालेका रहेछन् । तपाईंले त्यो उजुरी अघि बढाउनुको साटो उजुरीकर्तालाई बोलाएर छलफल गर्दै यो केसलाई छोप्न चाहेको देखियो भनिन्छ नि ?

ममाथि टार्गेट गरिरा छन्, तर आफ्नो त केही छैन यसमा, सरोकारमै छैन । त्यो निवेदन तामेलीमा मैले राखेको भनिदैँछ, त्यो अन्यथा हो । ठगीको केसमा त्यस्ता कैयौं उजुरी/निवेदन आउँछन् नै, तर ठगी हेर्ने निकाय अख्तियार होइन । बरु भ्रष्टाचार जोडिएका प्रमाण, आधारहरु समेटेर उजुरी आएमा त्यसलाई हेर्न सकिने हो । ‘यो ठगी केस पर्‍यो , तपाईंहरु प्रहरी(उपत्यका अपराध अनुसन्धान वा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) जानुस्’ भनेर मैले नै सुझाव दिएको थिएँँ । त्यसबेला सीआइबीका प्रमुख एसएसपी सहकुल थापालाई म आफैंले फोन गरेर ठगीमा परेका २ व्यक्ति आउँदैछन्, सहयोग गरिदिनुहोला भनेर भनिदिएको पनि हो । तर, भोलिपल्ट सहकुलजीले फोन गरेर उनीहरु सीआइबी नआएको खबर मलाई गर्नुभएको थियो ।मैले फेरि पनि केसी र पन्थीलाई फोन गरिहेरें, तर तिनीहरुको फोन अफ थियो ।

उजुरीकर्ता केसी र अर्का मतियार प्रेमराज पन्थीलाई अख्तियारमैं बोलाएर अलिक हतारमैं भेटघाट गर्नुभएको रहेछ ?

होइन, उजुरीकर्ताले भेट गर्ने समय पाउँ भनेपछि भेट गरेर छलफल गरेको थिएँ । ठगीजस्तो बिषय अख्तियारको कार्यक्षेत्रमा नपर्नेबारेमा स्पष्ट पारेको थिएँ । मैले यो ठगी प्रकरणमा बरु सहजीकरण गरिदिनु पर्छ भने गरिदिउँला, पुलिसलाई माथिकै तहसम्म भनिदिउँला भनेको थिएँ । तर, उनीहरु फेरि सम्पर्कमै आएनन्, प्रहरीमा गएनछन् ।

तपाईं गृहसचिव छँदा (२०७४ चैत २६–२०७६ माघ २०) केसी, पन्थीजस्ता कोही असम्बन्धित पात्रहरुसँग भेट भयो कि ?

अहँ, केसी, पन्थीलाई मैले एकैपटक भेटेको हुँ, त्यो पनि अख्तियारमै । यी दुबै बिचौलिया किसिमका रहेछन् क्यार । यीमध्ये केसी अहिले प्रहरी हिरासतमा रहेको मैले पढेको छु ।

अख्तियारमा दिइएको उजुरीमा मात्रै होइन, अहिले केसीसहितले प्रहरीमा दिएको प्रारम्भिक बयानमा ‘हामीले गृह मन्त्री, सचिव र अझ माथिसम्म पैसा पुर्‍याउनका लागि यो काम गरेको’ भनेका रहेछन् । तपाईं तत्कालिन गृह सचिवका हैसियतमा के भन्नुहुन्छ ?

केसीले उजुरीमै भनेको छ– ‘तपाईं(गृह सचिव)का नाममा सल्लाहकारले पैसा लिएको’ भनेको छ । तर, मैले भने नि, यी मान्छे को हुन्, के हुन्, कहाँ हुन्– कहिल्यै थाहा पाइन । तपाईंको पत्रिका (कान्तिपुर) मा आएपछि मात्रै मैले कुरा थाहा पाएको हो । यहाँ भनिएको गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई त गृह मन्त्रालयमै भएपछि भेटघाट भैहाल्थ्यो नि ।

पन्थी कार्यदलको प्रतिवेदन त २०७६ कात्तिकमा तपाईंले गृह सचिवको रुपमा बुझ्नुभएको रहेछ । फेरि त्यसमा नक्कली अनुसुची थपिँदै शरणार्थी गिरोहका हातहातमा पुगेको पाइएको छ । यसबारे किन जानकारी थिइन वा भएन ?

हो, मलाई प्रतिवेदन बुझाइएको हो । अब अहिले हेर्दा मूल प्रतिवेदन नै चेन्ज गरेका रहेछन् । अहिले गृह मन्त्रालयको स्थानीय प्रशासन शाखामा भएको प्रतिवेदन नै नक्कली भन्ने रहेछ ।मैले देखेको त छैन, तर सुनेको हुँ ।अब सक्कली प्रतिवेदन कहाँ लगेर च्यातेर फ्याँके कि के गरे, थाहा छैन । तर, सौभाग्यवस गृह सचिव टेकनारायण पाण्डे(२०७८ साउन २७–२०७९ असोज २)ले प्रधानमन्त्री कार्यालयमा पठाएको प्रतिवेदन भने सक्कली रहेछ । त्यो सक्कली प्रतिवेदन अहिले पनि क्याबिनेटमा छँदैछ ।

पन्थी कार्यदलले काम गर्न थालेको २ महिनामै केही चलखेलको गन्ध आएपछि तपाईंले कार्यदलका संयोजक बालकृष्ण पन्थी र गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईलाई त्यहीबेला बेलाएर सचेत गराएको कुरा कान्तिपुरलाई भनिसक्नुभएको छ । ‘सचेत’ गराउनैपर्ने त्यस्तो स्थिति थियो र ?

हो, मैले प्रतिवेदन तयारी क्रममा कुनै कमी हुन नदिनु भनेकै हो । कुनै प्रकारको प्रभाव, दबाब पर्‍यो र त्यसअनुसार काम भयो भने त्यसले तपाईंहरुलाई नै पोल्नेछ भनेको हुँ ।

यही शरणार्थी गिरोहको सरोकारमा जोडिएर अख्तियारमा अहिले अरु पनि उजुरी परेका छन् कि ?

हो, गत सातामात्रै बेनामी रुपमा एउटा उजुरी परेको छ । त्यसमा अहिले प्रहरीमा अनुसन्धान भइरहेको शरणार्थी गिरोहको मामलामा भ्रष्टाचार पनि जोडिएको छ भन्दै विवरण लेखिएको छ । तर, अनुसन्धानको प्रारम्भिक चरणमा उजुरीको सम्पूर्ण आधारबारे भन्न सकिन्न । अब उता प्रहरीमा अनुसन्धान भैरहेको छ, यहीबेला यता आएको केसलाई हामीले प्रारम्भिक चरणमा हेरिरहेका मात्रै छौं । यही सम्बन्धमा हामीले तिनै मानिसलाई बोलाउन थाल्यौं भने अनुसन्धान प्रभावित हुन्छ नै । अब उताबाट अनुसन्धान टुंगिएर ‘लौ, यो चाहि भ्रष्टाचारमा पनि जोडिएको छ’ भनेर आएपछि मात्रै एकत्रित रुपमा अघि बढ्नेछ नै । पदधारण गरेका कोही व्यक्ति आर्थिक लाभसहितका प्रयोजनमा संलग्न भएको वा भ्रष्टाचार पनि रहेको पाइएमा अख्तियारले हेर्नेछ नै । ठगीकै केसमा अरु निकायको अधिकार हनन गर्ने गरी हामीले उजुरी हेर्न मिल्दैन ।

प्रकाशित : वैशाख ३१, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?