उजुरीकर्तालाई मैले बोलाएको होइन, उनीहरु भेट्न आएका हुन्- प्रेमकुमार राई, अख्तियार प्रमुख
काठमाडौं — शरणार्थी गिरोहको चलखेलमा जोडिएर अहिले प्रहरी हिरासतमा रहेका काठमाडौंका रामशरण केसीले यो घटनामा संदिग्ध भनिएका पात्रको नामै किटेर २०७८ मंसिर ३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा उजुरी दिए ।
उजुरी दर्ता पनि भयो । तत्कालिन गृह सचिव प्रेमकुमार राई, गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईसहितलाई पैसा बुझाउन नक्कली शरणार्थीको खेलमा रकम उठाइएको दाबी गर्दै दर्ता भएको निवेदन लगत्तै अख्तियारले उजुरीकर्तालाई बोलायो । त्यसबेलाका गृह सचिव र हाल अख्तियार प्रमुख रहेका राईले आफ्नै कार्यकक्षमा राखेर उजुरीकर्ता केसी र उनका मतियार प्रेमराज पन्थीसँग कुराकानी गरे । यीमध्ये केसी अहिले यही गिरोह सञ्जालमा जोडिएका कारण प्रहरी हिरासतमा छन् ।
‘हामीलाई अख्तियारमा बोलाएर छलफलमा गएका हौं, त्यसपछि त्यो निवेदन त्यत्तिकै थन्किएर बस्यो,'यही गिरोहको चलखेलमा जोडिएका केसीले २ साताअघि कान्तिपुर कार्यालय आएर भनेका थिए–‘यस्तो निवेदनको यहाँ काम छैन, ठगीको बिषयमा पुलिस प्रशासनमा जानु भनेर प्रमुख राईले भन्नुभएपछि हामी बाटो लागेका थियौं ।’
अख्तियार प्रमुख राई भने केसी र पन्थीलाई बोलाएर होइन, आफूलाई भेट्ने भन्दै समय लिएर कार्यकक्षमा आएको बताउँछन् । ‘रकम ठगीको बिषय हाम्रो कार्यक्षेत्रभित्रै पर्दैन, यसकारण उहाँहरुलाई मैले सम्झाइ बुझाइ गरेर प्रहरीकहाँ जानु भनेको थिएँ, तर जानुभएनछ,’राईले गत बिहिबार कान्तिपुरसँग भने ।
यो संगठित तस्करीको जालोमा रहेका नाइके केशव दूलाल र सानु भण्डारीले एक दर्जन जति एजेन्ट राखेर देशैभरबाट रकम ठगी गरिरहेका बेला आफ्ना एजेन्टहरु केसी–पन्थी एकाएक अख्तियारमा पुगेपछि स्थिती ‘तनावग्रस्त’ बनेको थियो । ‘अख्तियारको कुरा बाहिर आएमा सबै काम रोकिने भयो, फेरि प्रहरी–प्रशासनको निगरानी पनि रहने नै भयो भनेर मलाई त्यो उजुरी जबरजस्ती फिर्ता गर्न लगाइएको थियो । दूलाल–भण्डारीले चर्को दबाब दिएपछि बैशाख १६, २०७९ मा अख्तियार गएर निवेदन फिर्ता लिन पनि चाहे । तर, दर्ता भइसकेको निवेदन अख्तियारले फिर्ता दिन मानेन’,केसीले भनेका थिए ।
केसीका मतियार एवं दूलाल–पन्थीका कास्की क्षेत्र हेर्ने सहयोगी प्रेमराज पन्थी पनि अहिले प्रहरीको निगरानीमा छन् । ‘म आजभोली धेरैका धेरै कुरा खोल्दैछु, प्रतीक्षा गर्नुहोला, फोन सम्पर्कमा आएका पन्थीले भने–‘हामीहरुको चरित्र हत्या मात्रै भयो, सही कुरा अर्कै छ । भोलीसम्म पर्खनुहोला ।’ यो मामलामा जोडिएपछि पन्थीले पनि प्रहरीमा गएर आफ्नो बयान दिइसकेका छन् ।
शरणार्थी गिरोह प्रकरणमा तत्कालिन गृह सचिव टेकनारायण पाण्डे र गृहमन्त्री बालकृष्ण खाँडसमेत अनुसन्धानको दायरामा परेपछि तथा त्यो बेलाका गिरोह एजेन्टहरु पक्राउ पर्ने क्रम बढेपछि तत्कालिन गृह सचिव राईसमेत प्रश्नको घेरामा पर्न थालेका हुन् । ‘शरणार्थी समस्या समाधानको प्रतिवेदन बनिरहेकै बेला केही आर्थिक चलखेल बढेको चाल पाएर कार्यदलका अध्यक्ष, मन्त्रालयमा मन्त्रीका सल्लाहकार समेतलाई बोलाएर सचेत गराउन सक्ने प्रभावशाली गृह सचिव किन फेरि मौन रहनुभयो ? नीतिगत कमजोरी र कार्यशैलीमा कडाइ उहाँको पालामा किन भएन,’एक पूर्व सचिवले प्रश्न गरे—‘यो त दूधको साक्षी बिरालो बनेझैं स्थिती आयो, मलाई थाहा थिएन वा पत्तै भएन भन्नुभन्दा पनि जेजति थाहा थियो, त्यति नै किन बाहिर ल्याइएन भन्नेमा आशंका बढेको छ ।’
प्रतिवेदन कार्यदलका संयोजक पूर्व सहसचिव पन्थी बिभिन्न तहतप्कामा बिभिन्न व्यक्तिसँग भेटघाट भएपनि ‘कहींकतै आर्थिक प्रलोभन र लाभहानीमा आफ्नो समुह नपरेको’ बताउँछन् । ‘मैले बुझेसम्म हामीले बुझाएको प्रतिवेदनका सबै पानामा तत्कालिन सचिव टेकनारायण पाण्डेको हस्ताक्षर छ, त्यही प्रति प्रधानमन्त्री कार्यालय, मन्त्रिपरिषद्मा पठाइएको थियो,’ पन्थीले सुनाए । ३ महिने अवधीको कार्यदलमा झण्डै १ महिना मात्रै काम गरेका मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपानेले आफूले त प्रतिवेदनको अन्तिम रुप के-कस्तो थियो, त्यो देख्न पनि नपाएको सुनाए । प्रतिवेदन कार्यदलका पन्थी, न्यौपानेसहित अर्का विज्ञ सदस्य गणेशबहादुर केसीलाई पनि प्रहरी परिसरले सोधपुछका लागि बोलाइसकेको छ ।
एउटा सक्कली प्रतिवेदनमा नाम थप्न र त्यसमा थप आधिकारिता खोज्न २०७६ भदौदेखि ३ महिनाको कार्यदल अवधिमा कार्यरत शरणार्थी शिविरका तत्कालिन सचिव, शरणार्थी समन्वय इकाइ(आरसीयु) प्रतिनिधिको साथ–सहयोग नभइ सम्भव नहुने भएकाले यसमाथि पनि अनुसन्धान हुने भएको छ ।
