पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

वैशाख ३१, २०८०

मातृका दाहाल

काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई आइतबार पुर्जी जारी भएको हो ।

रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो । प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए ।

यही प्रकरणमा जोडिएका कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि आइतबार पक्राउ पुर्जी जारी भएको छ । 

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परिसकेका छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।  

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully