राष्ट्रिय सम्मेलन माओवादीलाई पुनर्जीवित गर्ने अवसर : गजुरेल

काठमाडौँ — नेकपा माओवादी केन्द्रले यही पुस ११–१३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा माओवादीले शान्ति प्रक्रियापछि लिएको कार्यदिशाबारे गम्भीर समीक्षा गर्ने बताएको छ।

राष्ट्रिय सम्मेलन माओवादीलाई पुनर्जीवित गर्ने अवसर : गजुरेल

शान्ति प्रक्रियामा आइसकेपछि संघीय लोकतान्त्रिक संविधान निर्माणलाई मुख्य उपलब्धिका रूपमा व्याख्या गर्दै माओवादीले त्यसपछि सरकार र पार्टी सञ्चालमा भएका त्रुटिबारे समीक्षा गर्न लागेको हो । यसै सन्दर्भमा माओवादी नेता हरिबोल गजुरेलसँग गरिएको कुराकानी :

राष्ट्रिय सम्मेलनको उद्देश्य के हो ?

यो राष्ट्रिय सम्मेलनलाई हामीले पार्टी जीवनको कोसेढुंगाका रूपमा बुझेका छौं । यसबीचमा पार्टी एकता भएर नेकपा बन्यो तर अदालतको कारणले विभाजित हुनुपर्‍यो । त्यसपछि पार्टीलाई विचार, सांगठनिक र राजनीतिक रूपमा पुनर्जीवित गर्ने र नयाँ ढंगले पुनःसंगठित गर्ने यो अवसर हो । हामी अलग हुन चाहेका थिएनौं तर अदालतले गराइदिएपछि त्यसलाई पार्टी निर्माणको चुनौतीका रूपमा लिनुपर्छ भनेर बहस र छलफल सुरु भएको छ । पार्टीलाई नयाँ ढंगले अगाडि लैजाने क्रममा यो राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

माओवादी संसदीय व्यवस्थामा सामेल भएयताको समीक्षा कसरी हुन्छ ?

प्रदेश सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले विचारको विकासको दिशामा अगाडि जानुपर्छ भन्नुभयो । यसबीचमा वैचारिक बहस हुन नसकेकाले हामीले विचार विकास गर्न सकेनौं भन्नुभएको थियो । विचारको विकास अभावले पार्टीमा विभिन्न समस्या पनि भए । यसबीचमा पार्टीको टुटफुट र विभाजनमा विचारको विकास नहुनुको कारण पनि जोडिएको छ । त्यसैले यी कुरालाई गम्भीरतापूर्वक लिएर समीक्षा गर्ने भनिएको हो । यो बीचमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रवृत्ति कस्तो रह्यो भन्ने छलफलको कुरा बाँकी छ । अध्यक्षले ती सबै कुरा राजनीतिक प्रतिवेदनमा लेख्नुहोला र हामीले समीक्षा गर्नेछौं ।

नयाँ नेतृत्व चयन गर्ने भनिएको छ, त्यो कसरी हुन्छ ?

राष्ट्रिय सम्मेलनले विधान परिमार्जन गर्छ । परिमार्जित विधानका आधारमा नेतृत्व चयन हुन्छ । केन्द्रीय सदस्य संख्या बढाउने कि के गर्ने, पदाधिकारी बढाउने कि सानो बनाउने भन्ने कुरा पनि आएका छन् । सांगठनिक संरचना नयाँ ढंगको आएको छ । एउटा व्यक्ति एउटा मात्रै जिम्मेवारीमा रहने भन्ने कुरा आएको छ । यो नयाँ दिशातिर पनि हामीले सोचेका छौं । नेतृत्व चयनका लागि निर्वाचन पनि गर्ने र मूल्यांकन समिति पनि बनाउने भन्ने छ ।

माओवादी र अरू पार्टीमा खासै फरक छैन, यो महाधिवेशनले केचाहिँ नयाँ गर्ला ?

पार्टी बहुपदमा जान मिल्छ । खुला राजनीतिक परिवेशमा आएपछि विभिन्न प्रवृत्तिलाई समेट्नुपर्ने हुन्छ । अहिले जे अभ्यास भइरहेका छन्, त्यसमा नयाँ विधानको व्यवस्था लागू भइरहेको छैन । विधानमै नयाँ व्यवस्था (चुनावबाट नेतृत्व चयन गर्ने) गरेपछि समस्या हुँदैन । अहिले विधानभन्दा दायाँबायाँ गरेर गतिविधि भइरहेका छन् । महाधिवेशनमा त्यसले अझ ठोस आकार लिन्छ ।

माओवादीले विधानमै निर्वाचनबाट नेतृत्व चयन गर्ने प्रावधान राख्न खोजेको हो ?

चुनाव विधिमात्र होइन, मूल्यांकन कमिटी बनाउनुपर्छ भन्ने हो । जनवादी केन्द्रीयता माओवादीमा थियो । अहिले जनवाद कमजोर भयो । एमालेमा जस्ता व्यक्ति पनि उम्मेदवार हुन पाइरहेका छन्, हाम्रोमा त्यस्तो हुने छैन । अब हाम्रो मूल्यांकन समितिमार्फत केन्द्रीयता व्यक्त हुन्छ र प्रत्यक्ष मतदानमार्फत जनवाद व्यक्त हुन्छ । जनवादी केन्द्रीयताको संयोजन गर्न खोजेका हौं ।

माओवादीमा गुटबन्दी हाबी भएको देखियो नि ?

गुटबन्दी के कारणले भयो भन्ने बहसको विषय हुन्छ । किन हुन्छ र के कारणले सुरु भयो भन्ने हो । अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई बहिर्गमन भइसकेपछिको पहिलो बैठकमा गुटबन्दी गर्ने भए पार्टी विघटन गरौं भन्नुभएको थियो तर गुटबन्दी त चलिराख्यो । के कारणले गुटबन्दी बढ्छ र यसको अन्त्य गर्ने के उपाय हुन्छ ? कम्युनिस्ट पार्टीमा गुटबन्दी हुन्छ कि हुँदैन ? विचार समूह मात्रै हुन्छ कि गुटबन्दी हुन्छ भन्ने कुराको बहस हुन्छ ।

प्रकाशित : पुस ८, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?