माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा तीन जनाको उम्मेदवारी

पुस ७, २०७८

देवनारायण साह

मोरङ — नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीको धरानका मुक्साहाङ मेन्याङ्बो र झापाका कुवेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजन किरातीले बताए । नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव र मेन्याङ्बो पुराना नेता हुन् ।   

प्रदेश कमिटीमा निर्वाचित हुने ९ जना पदाधिकारीका लागि ३३ जनाले उमेदवारी दर्ता गराएको उनले बताए । ३ उपाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ भने १ सचिव पदमा गणेश उप्रेती, सीपी कडरिया र वीरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । ३ जना सहसचिव पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्ष पदमा पनि ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेपछि बुधबार नै मतदान सुरु गर्ने जनाएको छ । 

मंसिर २५ र २६ गतेको प्रदेश सम्मेलनले २७१ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको माओवादी केन्द्रले सहमतिमा पदाधिकारी छान्न नसकेपछि निर्वाचन प्रक्रिया अवलम्बन गरेको हो । 

माओवादी महाधिवेशन

देवनारायण

Link copied successfully