माओवादीले विगत समीक्षा गर्दै नयाँ नीति लिने- समाचार - कान्तिपुर समाचार

माओवादीले विगत समीक्षा गर्दै नयाँ नीति लिने

शान्ति प्रक्रियामा आएपछि भएको संविधानसभा निर्वाचनमा ठूलो दल बनेको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ भने नेतृत्व र नेताहरु विचलित भएको आवाज पार्टीभित्रै उठ्ने गरेको छ
जयसिंह महरा

काठमाडौँ — माओवादीले शान्ति प्रक्रियापछि लिएको कार्यदिशाबारे गम्भीर समीक्षा गर्ने भएको छ । शान्ति प्रक्रियामा आइसकेपछि संघीय लोकतान्त्रिक संविधान निर्माणलाई मुख्य उपलब्धिका रूपमा व्याख्या गर्दै माओवादीले त्यसपछि सरकार र पार्टी सञ्चालमा भएका त्रुटिबारे समीक्षा गर्न लागेको हो ।

‘नयाँ क्रान्तिरकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ आगामी कार्यदिशा तय गर्न लागेको प्रवक्ता कृष्णबहादुर महराले बुधबार जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहालले यी मूल नारामा केन्द्रित रहेर राजनीतिक दस्ताबेज तयार पारेका छन् । उक्त दस्ताबेज पुस ११–१३ सम्म राजधानीमा हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेछन् ।

माओवादीले यसअघि नेता–कार्यकर्ताको कार्यशैली जनताको स्तरसँग मेल नखाएकाले सच्याउने बताए पनि सुधार गर्न सकेको थिएन । २०५२ फागुन १ देखि सशस्त्र संघर्ष गरेको माओवादी २०६३ मा शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा सहभागी भएको थियो । त्यसपछि संसदीय निर्वाचन हुँदै सत्ता राजनीतिमा लागेको थियो । शान्ति प्रक्रियामा आएपछि भएको संविधानसभा निर्वाचनमा ठूलो दल बनेको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ । यो अवस्थामा पार्टी कसरी पुग्यो भन्नेबारे राष्ट्रिय सम्मेलनमा समीक्षा हुने भएको छ ।

‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं, २०७० पछि सानो भयौं र सानो हुँदा, अरू पार्टीसँग सहकार्य गर्दा र संसदीय अभ्यासमा हामीले भोगेका चीजहरूलाई गम्भीर रूपले समीक्षा गर्छौं,’ राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी किन भयौं ? त्यसपछि किन सानो भयौं ? हामीले के गर्नुपर्छ ? क्रान्तिकारी बाटोमा केही अवरोधसँग लड्ने बेलामा भएका कमी–कमजोरीबारे हामी राष्ट्रिय सम्मेलनमा बहस गर्नेछौं ।’

माओवादीको अन्तरिम विधानमा मजदुर, किसान र सम्पूर्ण उत्पीडित जाति, भाषा एवं सांस्कृतिक जनसमुदायको हितलाई प्रतिनिधित्व गर्ने उल्लेख छ । ‘जनआधारित कार्यकर्ताको पार्टी हो, यो पार्टी सर्वहारा श्रमजीवी वर्गको अग्रदस्ता हो,’ विधानमा छ, ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो ।’ एमालेसँग एकीकरण भएपछि उसले माओवाद त्योगेको थियो । ‘पार्टीको रणनीतिक लक्ष्य समाजवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको निर्माण गर्नु र अन्ततः साम्यवादी दिशामा अघि बढ्नु हो,’ विधानमा छ । पार्टी नेतृत्व र नेताहरू विचलित भएको पार्टीभित्रै आवाज उठ्दै आएको छ । यसबारे पनि समीक्षा हुने महराले बताए । ‘कतै सिद्धान्तबाट विचलित त भएनौं भन्नेमा हामी समीक्षा गर्छौं,’ उनले भने । संस्थागत ढंगले पार्टी सञ्चालन, संगठन निर्माण र राजनीतिको आगामी योजनामा दाहालको प्रतिवेदन केन्द्रित हुने बताइएको छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादीले ‘जनविद्रोह’ को नीति लिएको थियो । २०६९ माघमा हेटौंडामा सम्पन्न महाधिवेशनले त्यसलाई औपचारिक रूपमा छोडेर शान्तिपूर्ण बाटोबाट संविधान निर्माण गर्ने नीति लिएको थियो । दाहाल नेतृत्वको संस्थापन पक्ष र पूर्वउपाध्यक्ष बाबुराम भट्टराई पक्षधर अल्पमत समूहबीच असमझदारीकै बीच उक्त महाधिवेशन अन्त्य गरिएको थियो । उक्त महाधिवेशनले अध्यक्षमा दाहाललाई पुनःनिर्वाचित गर्‍यो तर अन्य नेतृत्व चयन गर्न सकेन । त्यसपछि २०७० वैशाखमा भएको राष्ट्रिय सम्मेलनले अध्यक्षमा दाहाललाई निर्वाचित गरेको घोषणा गरे पनि अन्य पदाधिकारी चयन नगरी कार्यसमिति बनाएको थियो । सम्मेलनले चयन गरेको नयाँ केन्द्रीय समिति बहिष्कार गरेर भट्टराई समूह विराटनगरबाट फर्केपछि विवाद झन् जेलिएको थियो ।

अब हुने राष्ट्रिय सम्मेलनमा पनि नेतृत्व खुला प्रतिस्पर्धाबाट आउनेमा नेताहरूले शंका व्यक्त गरेका छन् । अध्यक्षमा दाहाललाई चुनौती दिने अर्को नेता नभए पनि उपाध्यक्ष, महासचिव र सचिवमा भने नेताहरूले खुला प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आएका छन् । राजनीतिक विश्लेषक हरि रोकाले सम्मेलनले विगतका कमजोरी पहिल्याएर गम्भीर समीक्षा गर्न सकेमात्र सुधार हुन सक्ने बताए । ‘माओवादी पहिलोबाट तेस्रो अवस्थामा आएको जिम्मेवारी कसले लिने ? फुटेर जानेले लिने कि यहाँ बसेकाले लिने ? सधैंभरि अध्यक्ष भइराख्ने प्रचण्डले लिने कि मन्त्री हुनेहरूले लिने ? कांग्रेस र माओवादी, एमाले र माओवादी अनि पञ्चायत र माओवादी मन्त्रीमा किन फरक आउन सकेन ? यस्ता विषयमा समीक्षा गर्नुपर्छ,’ उनले भने ‘जनजीविका, जनशिक्षा, जीवन पद्धति उकास्ने कुरा गर्नुभयो तर किन हुन सकेन ? कसको कमजोरी भयो ? नीतिगत कि व्यक्तिगत कसरी भयो ? त्यसको समीक्षा हुन्छ कि हुँदैन भन्ने कुरा आउँछ ।’

पार्टी एकतापछि एमालेमा रहेका पूर्वमाओवादी नेता मणि थापाले माओवादीले क्रान्तिकारी विरासत भुलेको बताए । ‘क्रान्तिकारी विरासत थेग्न नसकेर उहाँहरू अहिलेको अवस्थामा आउनुभएको हो, फेरि पुरानो माओवादीको कुरा गरेर आकर्षण हुन्छ कि भन्ने होला तर समस्या समाधान हुन्न,’ उनले भने, ‘उहाँहरूले गर्नुपर्ने अबको १० वर्षपछिको नेपाल कस्तो हो ? कस्तो पार्टी बनाउने हो ? समृद्धिको एजेन्डा के हो ? भन्ने कुरा हो ।’

विश्लेषक रोकाले भने माओवादी कम्युनिस्ट हो कि होइन भन्नेबारेमा अब समीक्षा हुनुपर्ने बेला भएको बताए । ‘कम्युनिस्ट आन्दोलनमा लेनिनवादी संगठन संरचनामा यस्ता कुरा हुँदैन, माओवादी त्यस्तो बनाउनेमा गयो । यी सबै कुराले उहाँहरू सुधारवादी हो कि क्रान्तिकारी हो ? उहाँहरू अहिलेको सन्दर्भमा लिबरल डेमोक्र्याट हो कि कम्युनिस्ट हो ? भन्ने प्रश्न बाँकी छ,’ उनले भने ।

महराले सम्मेलनका लागि सबै तयारी पूरा भएको जानकारी दिए । सम्मेलनमा १ हजार ५३३ जना प्रतिनिधि सहभागी हुने उनले बताए । उनले सम्मेलनमा कुनै पनि दलका प्रतिनिधि र विदेशी पाहुनालाई नबोलाउने बताए । ‘यो महाधिवेशन होइन, राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि पाहुनालाई बोलाउँदैनौं,’ उनले भने ।

प्रकाशित : पुस ८, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

खोप लगाउन बालबालिकाको उत्साह

तृप्ति शाही

बैतडी — बैतडीमा पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउन स्थानीयले आनाकानी गरेका थिए । स्वास्थ्य, सुरक्षा, सरकारी कर्मचारी, पत्रकारलगायत फिल्डमा खटिनेहरूलाई दिइएको खोप लगाउन कमै मान्छे मात्र खोप केन्द्र पुगेका थिए ।

त्यतिबेला स्वास्थ्य कार्यालयका कर्मचारीहरू खोप लगाइदिनुस् भन्दै हिँड्थे । परीक्षणका लागि लगाइएको खोप लगाउन धेरै मान्छे राजी थिएनन् । धेरै कमले मात्र खोप लगाए । त्यसपछिका खोपहरू पनि सबै सहजै लगाउन राजी भएनन् । पालिकामा गएको खोप स्वास्थ्य कार्यालयमै फिर्ता आउने अवस्था पनि थियो ।

तर अहिले अवस्था फेरिएको छ । जिल्लामा मंगलबारबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन लागिएको खोपमा उनीहरू उत्साहित भएर लगाइरहेका छन् । अहिले सबै बालबालिकाहरू खोप लगाउनका लागि पुग्ने गरेका स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताए । उनले भने, ‘पहिले परीक्षणका लागि हो भन्ने थियो र लगाउन मन गरेका थिएनन् ।

अहिले सबैले थाहा पाए यसले जीवन रक्षा गर्छ भनेर । धेरैले लगाइरहेका छन् ।’ जिल्लाका विद्यालयमा बालबालिकालाई खोप लगाइँदै छ । २ सय ५९ वटा खोप केन्द्रबाट बालबालिकाले खोप पाउँदै छन् । पालिकाका पायक पर्ने विद्यालयलाई खोपकेन्द्र बनाएर बालबालिकाहरूलाई विद्यालयमै खोप लगाइँदै छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाहरू विद्यालय उमेरका भएकाले उनीहरूलाई विद्यालयमै खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बैतडीमा ३८ हजार बालबालिकाको संख्या स्वास्थ्य कार्यालयमा पुगेको भट्टले बताए । आफूहरूसँग खोप ३१ हजार जति आएको उनले बताए । हतारमा तथ्यांक आएकाले यो बढी हो भन्ने लागेको उनले बताए । पछिल्लो समय खोपप्रति स्थानीयको सकारात्मक बुझाइ रहेको सिगास गाउँपालिकाको शिवलिंग स्वास्थ्यचौकीका इन्चार्ज भीमसिंह ऐर बताउँछन् ।

समुदायका नागरिकले खोप लगाउनुपर्छ भन्ने सोचेका छन् । मोडर्ना खोप पालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरू विद्यालयमा पुगेर विद्यार्थीलाई दिइरहेका छन् । डिलासैनी, सिगास गाउँपालिका र पुरचौडी नगरपालिकामा बुधबारबाट खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबार पाटन र दशरथचन्द नगरपालिकामा खोप दिने अभियान सुरु हुनेछ । अन्य १० वटा पालिकामा पुस १० गतेसम्म सक्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ८, २०७८ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×