'सबै खाले नेता सम्मिलित समावेशी टिम बनेको छ'

अहिले जुन एकताको साथ आमनिर्वाचनमा पार्टीलाई लैजानुपर्ने अवस्था छ, त्यसका लागि चाहिँ शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य छ । यसको मतलब शेरबहादुर देउवा सधैँ कांग्रेसको नेतृत्वमा रहिरहनुपर्छ भन्ने होइन ।

मंसिर २६, २०७८

कान्तिपुर संवाददाता

कांग्रेसको १४ औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । पार्टीको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा धेरै आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेको छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि प्यानलै बनाएर नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । सभापतिमा युवा नेता कल्याण गुरुङले पनि उम्मेदवारी दिएका छन् । सभापतिसँगै महामन्त्रीहरूबीचको प्रतिस्पर्धा झन् रोचक बन्ने देखिन्छ ।

यो महाधिवेशनमा उम्मेदवारका समीकरण, नेतृत्व र एजेन्डाबारे देउवा समूहका महामन्त्री उम्मेदवार प्रकाशशरण महतसँग इकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी :

तपाईंहरूलाई पनि उम्मेदवारीको टुंगो लगाउन निकै मुस्किल पर्‍यो नि होइन, किन त्यति ढिला भयो ? 

वडादेखि केन्द्रसम्म अधिवेशनको लामो श्रृंखला चल्यो । मंसिरभित्रै हामीले केन्द्रीय अधिवेशन सम्पन्न गर्नैपर्ने अवस्था भयो, त्यसका लागि सबै व्यवस्थापन गर्न  समस्या भयो । त्यसमाथि हाम्रो अधिवेशनले ठूलो संख्यामा क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधिहरूको संख्या बढेको छ, त्यही हिसाबले पदहरूको संख्या पनि बढेको छ । पद बढेपछि त्यसमा आकांक्षीहरूको संख्या पनि बढ्दो रहेछ । त्यसो हुनाले ती सबै आकांक्षाहरूलाई सम्बोधन गर्नु चुनौतीपूर्ण नै थियो । सबै साथीहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने र आमनिर्वाचनमा जित्नुपर्नेछ, फेरि पार्टीभित्र धेरै वटा गुटहरू छन्, ती गुटहरूलाई जोडेर पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ कि भन्ने पनि हो । त्यसकारण अलि ढिला भयो । 

तपाईंहरूकै समूहमा धेरै जना आकांक्षीहरूको व्यवस्थापन हुन सकेन । आखिर सिटौला समूहसँग समीकरण गर्नैपर्ने अवस्था किन भयो ? 

हामी त सिटौलाजीसँग मात्रै होइन, अरु धेरै नेता साथीहरूसँग मिलेरै जानुपर्छ भन्ने पक्षमा थियौँ । हामी अल्पमत भएर पनि शेरबहादुर देउवाको नेतृत्वमा सरकार छ, सामुन्नेमा आमनिर्वाचन छ, त्यसैले हामी उहाँकै नेतृत्वको सरकारबाट चुनावमा जानुपर्छ भनिरहेका छौं। त्यसकारण पनि हामीले बढी भन्दा बढी साथीहरूलाई जोड्न कोसिस गरेका हौं। त्यही क्रममा सिटौलाजीहरूसँग समीकरण बन्यो । उहाँका पनि आफ्ना भनाइहरू थिए, त्यसलाई हामीले सम्बोधन गर्न सक्यौं, र हाम्रो समीकरण बन्यो । 

तर, सिटौला समूहसँग समीकरण गरेकै कारण तपाईंहरूको समूहभित्र असन्तुष्टि चुलिएको छ नि ?

निर्वाचनमा जाँदा केही असन्तुष्टिहरू आउँछन् । त्यो स्वाभाविक हो । हामीकहाँ स्थापित साथीहरू हुनुहुन्छ, सबैलाई अटाउन सकिन्न, सबैको चित्त बुझाउन सकिन्न । त्यस क्रममा केही असन्तुष्टिहरू प्रकट हुन्छन् । तर, हामी कहाँ त्यस्तो असन्तुष्टी छैन कि त्यसले निर्वाचनमै हानी पुर्‍याओस् । उम्मेदवार छानुञ्जेल प्रतिस्पर्धा थियो । तर, टिम तयार भइसकेपछि अहिले सबै साथीहरू टिमलाई जिताउनुपर्छ, यो महत्त्वपूर्ण छ भनेर लाग्नु भएको छ । शेरबहादुरजीको नेतृत्वमा हामीले जित्नुपर्छ भन्ने साझा भावना छ । त्यसैले हाम्रो समूहमा असन्तुष्टि छैन, हाम्रो टिम एक ढिक्का छ । 

फेरि हामीलाई एकैपटकमा बहुमत प्राप्त गर्नुपर्ने दबाब पनि छ । सिटौलाजीहरूसँग समीकरण गरेर त्यसलाई सुनिश्चित गरिएको हो । हामी ढुक्क छौं, सभापतिमा पनि पहिलो चरणमै जित्छौं।  

तपाईंहरूको समूहबाट विमलेन्द्र निधि, विश्वप्रकाश शर्मालगायत बाहिरिनुभएको छ, त्यसले क्षति पनि त पुर्‍याउँला नि ?

विमलजीले अहिले नेतृत्वमै चाहना राख्नुभयो, हामीले उहाँलाई टिममा यथावत् राख्न सकेनौं। अवश्य पनि केही न केही क्षति त होला, उहाँले उठ्न पाउने अधिकारको हामी सबैले सम्मान पनि गर्छौँ । त्यसकारण मलाई के लाग्छ भने साथीहरूको महत्त्वाकांक्षा छ, सबैले चाहेजस्तो सधैँ हुन सक्ने अवस्था हुँदैन । त्यसैले केही साथीहरू जानुभएको छ, केही साथीहरू जोडिनु पनि भएको छ । सबै हुनुभएको भए राम्रो हुन्थ्यो । तर, उहाँहरू गएपनि हामी कमजोर छैनौं । हाम्रा प्रतिनिधि साथीहरू चाहिँ हामीसँगै हुनुहुन्छ । 

शेरबहादुर देउवा अहिले पाँचौ पटक सभापतिको प्रत्यासी हुनुहुन्छ, पाँचौपटक प्रधानमन्त्री पनि हुनुहुन्छ । कांग्रेसमा फेरि उहाँ नै सभापति किन हुनुपर्ने ? नेतृत्व परिवर्तन आवश्यक होइन र ? 

पार्टीमा अहिले रुपान्तरणको जुन बहस छ, चाहे त्यो पार्टीको नेतृत्व होस् वा देशको, त्यो आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ । यो उमेरमा भरपर्ने कुरा होइन । अवश्य पनि अनुभव चाहिन्छ, दक्षता, योग्यता र क्षमता चाहिन्छ, त्यसमा दुईमत छैन । तर, यसमा उमेरले अर्थ राख्दैन । कहिले प्रौढहरू नेतृत्वमा आउँछन्, कहिले युवा पनि आउँछन् । संसारैभरि यस्तै नै हुने हो । मुख्य कुरा पार्टी र देशले कस्तो नेतृत्व चाहेको छ ? भन्ने हो । उहाँहरूको त्यो इच्छालाई हामीले सम्मान गर्नुपर्छ । त्यसकारण अहिलेको आवश्यकता भनेको सबैलाई एकीकृत गरेर, सबैलाई एकताबद्ध गरेर अगाडि पार्टी र देशलाई अघि बढाउन सक्ने नेतृत्व चाहिएको छ । तपाईंले अन्य पार्टीहरूमा देख्नुभएको छ, त्यहाँ विभाजनकारी प्रवृत्ति हाबी भएको छ, व्यक्तिवादी प्रवृत्ति मौलाएको छ । यो अवस्थामा जसले चाहिँ धेरैलाई जोडेर राख्नसक्छ, त्यस्तो व्यक्तिले पार्टीको नेतृत्व गर्नुपर्छ । त्यसकारण अहिले पार्टीमा शेरबहादुर देउवाको नेतृत्व आवश्यक छ । 

देशकै नेतृत्वको सन्दर्भलाई हेर्नुहुन्छ भने पनि हामी त अल्पमतमा थियौं, तर सबैले उहाँलाई नै अनुरोध गरे । उहाँको ठाउँमा अरुको नाममा पनि प्रस्ताव हुनसक्थ्यो । किन उहाँकै नाममा सहमति भयो त ? भन्दाखेरि उहाँले सबैलाई जोडेर, सबैलाई एकतावद्ध बनाएर मुलुकलाई बढाउन सक्नुहुन्छ । 

पार्टीमा पनि उहाँले त्यही अभ्यास गर्नुभएको छ । १३ औं महाधिवेनपछि उहाँ पार्टीको सभापतिमा चयन हुनुभयो । उहाँले पार्टीभित्र पनि त्यसैगरि सबैलाई एकताबद्ध गरेर जानुपर्छ भन्नुभयो । हामीसँग प्रष्ट बहुमत थियो, केन्द्रीय कार्यसमितिमा । तर, उहाँले कहिल्यै पनि बहुमतको प्रयोग गर्न रुचि देखाउनुभएन । हामीले बहुमतबाट निर्णय गरौं भन्दा पनि उहाँले मान्नुभएन । हामीले कतिपय अवस्थामा दबाब पनि दियौं  कि निर्णय प्रक्रिया ढिला भयो, बहुमतबाट निर्णय गरेर अघि बढौं भनेर । तर, उहाँले सधैँ सहमति र एकताको बाटो रोज्नुभयो । जसले गर्दा आजसम्म पार्टी एकढिक्का भएर रहेको छ । त्यसकारण सधैं पार्टीलाई एकताबद्ध बनाएर राख्नका लागि उहाँको नेतृत्व आवश्यक छ । उहाँले नै एकताबद्ध बनाएर पार्टीलाई अघि बढाउन सक्नुहुन्छ । नेतृत्व भनेको यथार्थ के हो ? भनेर निर्णय दिन सक्ने हुनुपर्छ । कही कतै बेठिक भइरहेको छ भने बेठिक भन्न सक्नुपर्छ । बीपीले त्यही भन्नुभएको थियो, कि जब सत्यको मुख बन्द हुन्छ, झुट बढी बिक्री हुन्छ । त्यसकारण पार्टीको अहिलेको आवश्यकता भनेको सबैलाई एकताबद्ध बनाएर आमनिर्वाचनमा जाने र पार्टीलाई विजयी गराउने हो । त्यसकारण शेरबहादुर देउवालाई नै हामीले अघि सारेका हौं। 

कोही पनि व्यक्ति गुणैगुणले भरिपूर्ण हुँदैन । कमीकमजोरी जसको पनि हुन्छ । तर, अहिले जुन एकताको साथ आमनिर्वाचनमा पार्टीलाई लैजानुपर्ने अवस्था छ, त्यसकालागि चाहिँ शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य छ । यसको मतलब शेरबहादुर देउवा सधैँ कांग्रेसको नेतृत्वमा रहिरहनुपर्छ भन्ने होइन । 

तपाईंहरूसँग जो प्रतिस्पर्धी समूह छ, त्यो दोस्रो पुस्ताका युवाहरूले भरिपूर्ण छ । यस्तोमा उहाँहरूसँगको प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ? 

हाम्रो टिममा पनि त्यस्तै छ । प्रौढहरू हुनुहुन्छ, तर हामी युवा पनि छौं। सबै खाले मिश्रित समूह छ । म पनि प्रौढ त होइन । र, कुनै पनि युवाभन्दा जोस्, जाँगर र क्रियाशिलतामा म पनि कमी भएको जस्तो लाग्दैन । हामीले खोज्ने के हो ? पार्टीमा क्रियाशिलता, दक्षता, योग्यता समर्पण लगायत कुराहरू पनि त महत्त्वपूर्ण हुन्छन् । समग्रमा भन्ने हो भने काम गर्न सक्नुपर्‍यो । काम गर्नुपर्ने कुराचाहिँ महत्त्वपूर्ण हो । त्यसैले मुख्य कुरा काम हो । हाम्रो टिममा शेरबहादुर दाइजस्तो प्रौढ हुनुहुन्छ, उहाँ लामो अनुभव भएको व्यक्ति, तर युवाभन्दा कम खट्नुभएको जस्तो लाग्दैन । महामन्त्रीमा हामी युवाहरू नै छौं, सहमहामन्त्री र सदस्यहरूमा पनि त्यस्तै अवस्था छ । त्यसकारणले यसमा सबै खाले नेताहरूको संयोजन भएर टिम बनेको छ । पार्टी बनाउनका लागि समावेशी नेतृत्व आवश्यक हुन्छ । त्यो चरित्र भएको टिम हाम्रो हो । भूगोल, जातजाति, लिङ्ग, वर्ग, क्षेत्र सबैको प्रतिनिधित्व हुने कुरा मुख्य हो । त्यो चीज मुख्य हो । 

तपाईंसँग महामन्त्रीमा प्रतिस्पर्धी नेताहरू जो हुनुहुन्छ, उहाँहरू विद्यार्थी राजनीतिबाट आएको युवामाझ लोकप्रिय नेताहरू हुनुहुन्छ, उहाँहरूसँगको प्रतिस्पर्धालाई चाहिँ तपाईंले कसरी लिनुभएको छ ? 

सामाजिक सञ्जालमा छाएर मात्रै पार्टीको नेतृत्व चल्दैन । हामी यस्तो खाले भौगोलिक परिवेशमा छौं कि यहाँ एकदमै सुझबुझपूर्ण नेतृत्व आवश्यक हुन्छ । कुरामात्रै गरेर पार्टीको नेतृत्व हुँदैन, पार्टी चल्दैन । यहाँको संवेदनशीलतालाई पनि राम्रोसँग बुझ्नुपर्दछ । एकछिनको लागि भीडले के भनिरहेको छ ? त्यहीअनुरुप ठूलो स्वरले भाषण गरेर स्वरमा स्वर मिलाएर यो देशको नेतृत्व गर्न सकिँदैन । भिडको निर्णयको पछि लाग्यो भने त्यसले कुनै न कुनै बेला हामीलाई अहित गर्छ । भिडको बोली सही छ कि छैन ? भनेर ठम्याएर हामीले भिडमा पनि सत्य बोल्न सक्नुपर्छ । तर, त्यस्तो भएको पाएको छैन । म कसैको नाम लिन चाहन्नँ । सबै हाम्रो साथीभाइ हुनुहुन्छ, म आलोचनाको भाषा प्रयोग गर्दिनँ । तर, नेतृत्व भनेको भिडले ताली पिट्छ भनेर त्यसको पछि लाग्छौं भने त्यसले पार्टी र देशको नेतृत्व गर्न सक्छ जस्तो लाग्दैन । मैले विद्यार्थी कालमा बीपीसँग उठ्बस् गर्ने मौका पाएँ । उहाँले भन्नुहुन्थ्यो कि भिडले के भन्छ त्यो मुख्य कुरा होइन, सत्यको बाटो रोज्नुपर्छ । बरु एक्लो बृहस्पति हुन तयार हुनुपर्छ, तर सत्य के हो त्यसको पहिचान गर्न सक्नुपर्छ । मलाई लाग्छ, पार्टीका जिम्मेवार खारिएका देशभरिबाट चुनिएका महाधिवेशन प्रतिनिधि साथीहरूले बुझ्नुहुन्छ भन्ने लाग्छ । 

कांग्रेसमा सभापतिपछि अर्को शक्तिशाली महामन्त्री हुन्छ । महामन्त्रीको उम्मेदवार बन्दै गर्दा तपाईंका एजेन्डा चाहिँ के-के हुन् ? 

महामन्त्रीको पहिलो जिम्मेवारी कार्यालयको सम्पूर्ण सञ्चालन व्यवस्थापन हो । कार्यक्रमको तयारी र व्यवस्थापन गर्ने हो । के के मुद्दाहरू छन् ? एजेन्डाहरू के के छन् ? त्यसको तयारी गर्ने हो । देशैभरि संगठन विस्तारका योजनाहरू कसरी तयार गर्ने ? यी सम्पूर्ण कामको व्यवस्थापनमा मसँग अनुभव छ, मैले सहमहामन्त्रीको रुपमा रहँदादेखि नै  यी काम गर्दै आएको छु । हाम्रो पार्टीभित्र जुन मूल्यांकन पद्धति छ, कोही पनि साथीहरू जो जिल्लामा काम गरिरहनुभएको छ, उहाँहरूले नेतालाई नभेटी हाम्रो मूल्यांकन हुन्छ भन्ने कुरालाई म स्थापित गराउनेछु । नेताको घरमा पटक–पटक जानुपर्दैन । पार्टीमा एउटा प्रणाली हुन्छ, त्यसले कसले कस्तो योगदान गरेको छ ? कसले कस्तो भूमिका खेलेको छ ? त्यसको मूल्यांकन हुने व्यवस्था म तयार गर्छु । 

अर्को कुरा, हामी प्रचारमा कमजोर छौं। हामी काम गर्छाैं तर प्रचार गर्दैनौं। कम्युनिष्टहरू प्रचारमा अब्बल छन्, उहाँहरू तिल बराबरको कामलाई पहाड बराबर प्रचार गर्नुहुन्छ, हामी पहाड बराबरको कामलाई पनि तिल बराबरको प्रचार गर्दैनौँ । त्यसकारण हामीले हाम्रो प्रचार संयन्त्रलाई सशक्त बनाउँछौँ । आधुनिक सूचना प्रविधिलाई हामी भरपुर प्रयोग गर्छौं । र वडादेखि केन्द्रसम्म हामी एउटै स्वरमा पार्टीका एजेन्डा लिएर जाने संयन्त्र हामी निर्माण गर्छौं । हामी पार्टीमा व्यक्तिवादी हाबी छ, विचारका आधारमा कुनै पनि समूहहरू छैनन् । केवल व्यक्तिगत लाभका लागि, केवल व्यक्तिगत स्वार्थका लागि गुटहरू बनेका छन्, विचारमाथि कुनै बहस भइरहेको छैन, छलफल भएको छैन । म त्यस्तो अभ्यासलाई तोडेर वैचारिक बहसको बातावरण बनाउँछु । व्यक्तिगत प्रोमोसन होइन, पार्टीको बारेमा हुनुपर्‍यो । देश, जनता र पार्टीलाई केन्द्रविन्दुमा राखेर समूहहरू बन्नुपर्‍यो, यहाँ त व्यक्ति केन्द्रमा छन् । त्यसैले व्यक्तिको होइन, पहिले पार्टीप्रतिको विश्वास बढ्नुपर्‍यो । आम जनताले पार्टी र पार्टीले लिएको मार्गदर्शनलाई विश्वास गरे भने व्यक्तिको पनि आफैँ उन्नति हुन्छ । त्यसकारण पार्टीले आफ्नो विचार र नीतिलाई प्रष्टसँग नेता कार्यकर्तामाझ लैजान सक्नुपर्छ, र जनतासम्म पुर्‍याउनुपर्छ । जसले गर्दा हामीले आमनिर्वाचनहरूमा सहजै जित निकाल्न सक्छौं । 

त्यस्तै, हामीले अन्तर्राष्ट्रिय नीति कस्तो लिने ? त्यो कुरा पनि महत्त्वपूर्ण हुन्छ । मेरो प्रष्ट कुरा छ, हाम्रो प्राथमिकतामा नेपाल हुनुुपर्छ । अहिले नेपालप्रति वैदेशिक चियोचर्चाे बढेको छ, त्यसका कारणहरू यिनै हुन् । हामीले हाम्रो परराष्ट्रनीति प्रष्ट रुपले कार्यान्वयन गर्नुपर्‍यो । नेपालको आवश्यकता र स्वार्थलाई हामीले केन्द्रमा राख्नुपर्‍यो । यसरी समग्रमा हाम्रो वीपी कोइरालाले प्रवेश गराएको जुन आर्थिक सामाजिक सोच छ, देशमा समृद्धि र समृद्धिको पहुँचमा आमजनतालाई पुर्‍याउने मेरो नीतिगत प्रतिबद्धता हो । सबै धर्मसंस्कृति, भाषाभेषा, जाजजातिको एउटा समग्र रुप नै नेपाल हो, त्यो हिसाबले हामीले गर्व गर्ने नेपाली र गर्व गर्ने पार्टी बनाउन चाहन्छु । मैले पार्टीमा काम गर्दा होस्, वा सरकारमा बस्दा होस्, मैले जे गरेको छु, मैले कहिल्यै पनि आधा मनले काम गरेको छैन । म पूर्ण मन लगाएर काम गर्ने हो । मलाई शतप्रतिशत नतिजा चाहिन्छ । म कुरामात्रै गर्दिनँ । म काम गर्ने मान्छे हो । त्यसकारणले मेरो उम्मेदवारी हो । 

अहिलेको राष्ट्रिय राजनीति र मद्दाहरूलाई कांग्रेसले कसरी हल गर्छ ? 

अहिले एकदमै चुनौतीपूर्ण अवस्था छ, अन्योल छ । हामीसँग बहुमत छैन । विविध पार्टीहरू जोडेर हामीले सरकारको नेतृत्व गरेका छौं । विपक्षी सहयोगी छैन । कांग्रेस लोकतान्त्रिक मुल्यमान्यता र संसदीय प्रणालीमा विश्वास गर्छ, त्यसकारण हामी सालिन रुपमा प्रस्तुत भयौँ । तर, अहिलेको विपक्षी त्यो छैन । सत्तामा बस्न पाए ठीक, नभए किन मान्ने ? यो संविधानको के काम ? भन्ने मानसिकतामा छ । त्यसकारण यी सबै समस्याको समाधान भनेको आगामी निर्वाचन हो, यो चुनावमा हामीले बहुमत ल्याउनुपर्छ । चुनाव अगाडि सम्मको जुन समय छ, यसमा मेरो सबै दलहरूसँग आग्रह छ कि राष्ट्रिय मुद्दाहरूमा पार्टी होइन, देशलाई केन्द्रमा राखौँ । सरकारमा आउने, जानेमा मात्रै दलहरूबीचको एकता होइन कि राष्ट्रिय मुद्दाहरू देश र जनतालाई पनि केन्द्रबिन्दुमा राख्नुपर्‍यो । यस विषयमा सबैसँग सघन संवाद गरेर हामी संविधानले जे व्यवस्था गरेको छ, त्यसमा अडिग भएर निर्णयमा पुगौं भन्ने पक्षमा मेरो भूमिका हुन्छ । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully