काठमाडौँ — कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नोबारेमा बुझ्न घरमै इन्टलिजेन्स (गुप्तचर)का मान्छे पठाएको दाबी गरेका छन् । महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका कोइरालाले आइतबार कान्तिपुरसँगको अन्तर्वार्तामा देउवाका गतिविधिमाथि आपत्ति जनाएका हुन् ।
‘दुई/चार दिन अघिको कुरा हो, उहाँ(देउवा)ले इन्टलिजेन्टका मान्छे मेरै घरमा पठाउनु भयो । शेखर कोइरालाको घरमा इन्टलिजेन्सका व्यक्ति किन पठाउनुपर्यो ? यो ‘सिरियस’ छ । मेरो घरमा आएका इन्टलिजेन्सका व्यक्तिलाई मैले सोधे । त्यसपछि प्रहरी आइजीलाई फोन गरे । यो अवस्थाले के देखाउँछ ?’ उनले भने ।
देउवाले शेखर कोइरालाको ‘मोमेन्ट’ कहाँ छ भनेर पत्ता लगाउन खोजेको उल्लेख गरे गरे । ‘प्रहरीसँग कांग्रेसको प्रतिनिधि को–को जितेको छ भन्ने लिष्ट माग्नुहुन्छ । कांग्रेस भित्रको कुरा किन प्रहरीसँग माग्नुपर्यो ? त्यसले पार्टी कता जाँदै छ भन्ने देखाउँछ । यो अत्यन्तै गम्भीर कुरा हो । अति भइसकेपछि मैले यो कुरा आज खोल्नुपर्यो’ उनले भने ।
कोइरालाले निर्वाचन समितिबाट पनि गलत निर्णय भइरहेको दाबी गरे । निर्वाचन समितिका मान्छेहरू हाम्रा न्यायाधीश हुन् । उहाँहरूले सबै निर्णय सभापतिको पक्षमा गर्दै हुनुहुन्छ । तर पनि हामी प्रतिस्पर्धा गर्दैछौं, त्यो सबैभन्दा ठूलो कुरा हो’ उनले भने ।
प्रधानमन्त्री देउवाले आइतबार बिहान ‘मैले जित्न सकिन भने गठबन्धनको सरकार जान्छ’ भनेर बोलेको विषयमा पनि कोइरालाले टिप्पणी गरेका छन् ।
‘देशको प्रधानमन्त्री र पार्टीका सभापति यति निरिह हुनुहुन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ । उहाँले हावादारी र गलत कुरा भनिरहनु भएको छ । झुटको खेती गर्दै हुनुहुन्छ । उहाँको नेतृत्व जाँदै छ । हाम्रो टिमले जितेपछि यो सरकार, यो गठबन्धन अझै सुदृढ हुन्छ । गठबन्धनलाई हामी आगामी चुनावसम्मै लैजान्छौं’ कोइरालाले भने,‘पहिला त यहाँ गठबन्धन रहने नरहने कुरा शेरबहादुरजीले किन गर्नुभएको हो ? कांग्रेसको महाधिवेशनमा प्रचण्ड र माधव नेपालले भोट दिने हो र ? नेपाली कांग्रेसका कार्यकर्ताहरुले भोट दिने हो । उहाँ कति कमजोर हुनुहुन्छ भन्ने कुरा यसले प्रस्ट हुन्छ ।’
कोइरालासँगको विस्तृत अन्तर्वार्ता सोमबार कान्तिपुर दैनिक र इकान्तिपुरमा प्रकाशित हुनेछ ।
