युवालाई सँगसँगै लैजाने परिस्थिति बन्नुपर्छ : सुरेन्द्र पाण्डे

मंसिर २४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे १४ औं महाधिवेशनले कांग्रेसलाई स्पष्ट दिशा दिने दाबी गर्छन् । पार्टीमा नयाँ पुस्ताको जाँगर र अग्रजको अनुभव अपरिहार्य हुने उनको भनाइ छ । आफ्नो समूहबाट सहमहामन्त्री पदमा दाबी गरिरहेका पाण्डेसँग कान्तिपुरले गरेको कुराकानी :

कांग्रेसलाई बलियो बनाउन अबको नेतृत्व कस्तो आउनुपर्छ ?

व्यक्तिको विषयमा म जाँदिनँ । पार्टीको आन्तरिक जीवनमा सही ढंगले व्यवस्थापन गर्न सक्ने क्षमता आजको आवश्यकता हो । विगतमा सामूहिक नेतृत्वको विकास गर्न खोजे पनि त्यसमा धेरै सफलता हासिल गर्न सकिएन । हामी आन्तरिक प्रतिस्पर्धा त गर्छौं तर अर्को निर्वाचन आउने बेलासम्म प्रतिस्पर्धाकै ह्याङओभर लिने गर्छौं, त्यो गलत हो । यस्तो अवस्थामा पार्टी अघि बढ्न सक्दैन ।

गत संसदीय निर्वाचनमा दोस्रो पार्टी भएपछि यो महाधिवेशन हुँदै छ । विगतका धेरै कमजोरीलाई सच्याउँदै अबको नेतृत्वले सावधानीपूर्वक अघि बढ्नुपर्ने अवस्था छ । विगतको निर्वाचनमा पार्टी हाँक्ने कुरामा कतै न कतैबाट कमजोरी भएकै हो । अब कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरी एकता र सक्षम नेतृत्व चयन गर्नुपर्छ । युवापुस्तालाई पनि सँगसँगै लैजाने परिस्थिति बन्ने विश्वास मैले लिएको छु । कांग्रेसले आफ्ना एजेन्डा जनतामा प्रस्टसँग पुर्‍याउन संयन्त्र बन्नुपर्छ भन्ने मान्यता मेरो छ ।

विगतमा सामूहिक नेतृत्वमा पार्टी सञ्चालनमा कहाँ कमजोरी देखियो ? 

पार्टीलाई सामूहिक नेतृत्वमा सञ्चालन गर्न खोज्दाखोज्दै धेरै विषय व्यवस्थापन हुन सकेन । पार्टी न सामूहिकमा चल्यो न बहुमतमा । दुवै प्रयास सफल हुन सकेनन् । पार्टीको एउटा चुनाव सकिएपछि अर्को चुनावसम्म नेतृत्वलाई कसरी कमजोर बनाउन सकिन्छ त्यो नै आफ्नो सफलता ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । विगतमा पार्टीेको आन्तरिक व्यवस्थापन जसरी कमजोर देखियो, अबको नेतृत्वले त्यसलाई सच्याउँदै लैजानुपर्छ । पार्टीलाई सामूहिक नेतृत्वबाटै सञ्चालन गर्ने परिस्थिति बनाउनुपर्छ । नेतृत्वप्रति सधैं नकारात्मक धारणा राखेर मात्र पनि पार्टी सञ्चालन हुन सक्दैन ।

पार्टीमा युवापुस्ताको प्रवेश धेरै देखिन्छ । यसले नेतृत्व चयनमा कस्तो प्रभाव पार्ला ?

निश्चित पार्छ । उनीहरूले छान्ने नेतृत्व पक्कै सही हुन्छ । नयाँको जाँगर, पुरानाको अनुभवले संगठन बलियो हुने हो । एकै खालमा अनुहारलाई जितायौं भने एकाथरी पाखा लाग्न सक्छन् । त्यसैले पुराना अनुहारलाई पनि सँगसँगै लैजानुपर्छ । दुवै मिले मात्र संगठन बलियो हुन सक्छ । सबै नयाँ अनुहार आयो भने पनि जनतामा परिचित व्यक्ति नहुने अवस्था आउन सक्छ । पुरानालाई विस्थापित गर्ने मनसाय राख्नु हुँदैन ।

मतदाताका रूपमा आएका प्रतिनिधिलाई के भन्नुहुन्छ ?

कुनै समूहको नाममा मात्र नभई नयाँ/पुराना अनुहारलाई जिताउनुपर्छ । पार्टीमा एउटा पक्षलाई बाहिर राखेर संगठन बलियो हुँदैन । मतदाताले पनि त्यसैगरी निर्णय गर्ने विश्वास मैले लिएको छु । पदाधिकारीमा पुराना अनुहार धेरैले इच्छा राखेको देखिन्छ । यसबाट केन्द्रीय समितिमा पनि स्वाभाविक रूपमा नयाँ अनुहार आउने बढी सम्भावना छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully