२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कांग्रेस महाधिवेशन उद्घाटन आज

बन्दसत्र र निर्वाचन प्रक्रिया शुक्रबारै सुरू हुने, ४ हजार ६ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै, १ सय ३४ सदस्यीय कार्यसमिति चयन हुने
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं नेपालीको कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

कांग्रेस महाधिवेशन उद्घाटन आज

यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । पार्टीको संशोधित विधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र, २६ वटा भ्रातृ तथा शुभेच्छुक संस्था र २९ वटा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि निर्वाचित भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको मताधिकार भए पनि उनीहरू उम्मेदवार हुन पाउने छैनन् ।

महाधिवेशन प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा आयोजित समारोहमा महाधिवेशन उद्घाटन गर्नेछन् । महाधिवेशनमा एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् । विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । कंग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हरिबर्द्धन महाधिवेशनमा आउने कांग्रेसले जनाएको छ ।

महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिको नीतिसम्बन्धी प्रतिवेदन, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । तीनवटै प्रतिवेदन बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । यसपटकको महाधिवेशनमा पार्टीको नीति तथा सिद्धान्तमाथि बहस हुने छैन । कांग्रेसले १४ औं महाधिवेशनलाई नेतृत्वकेन्द्रित गर्ने निर्णय गरेको छ । ‘महाधिवेशनको म्यान्डेट लिएर नयाँ नेतृत्वले केही महिनामा छुट्टै नीति महाधिवेशन गर्नेछ,’ प्रवक्ता शर्माले भने, ‘त्यसैले बन्दसत्रमा पार्टीको आन्तरिक संगठन र व्यवस्थापकीय विषयमाथि बढी छलफल हुनेछ ।’

कांग्रेसको १४ औं महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् । कार्यसमितिमा एक जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् । त्यसैगरी एक–एक जना सहमहामन्त्रीसहित दलित ९, आदिवासी–जनजाति १५, खसआर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । सबै क्लस्टरमा महिला कोटा आरक्षित छ । खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सभापतिसहित दुई–दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् । महाधिवेशन उद्घाटन हुनुअघि बिहान १० बजे महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरी निर्वाचन प्रक्रिया सुरु हुनेछ । शुक्रबारै महाधिवेशनको बन्दसत्र पनि सुरु हुनेछ । निर्वाचन समितिका अनुसार शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने, बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारी दर्ताउपर दाबीविरोध र जाँचबुझ, बेलुकी ७ बजेदेखि ९ बजेसम्म दाबी विरोधउपर निर्णय र बेलुकी ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।

समितिले आइतबार बिहान ११ बजे उम्मेदवारको मनोनयन फिर्ता लिने र दिउँसो १२ः१५ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तोकेको छ । मतदान सोमबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ ।

‘डिजिटल कांग्रेस’ को मतपत्र ब्यालेटमा

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पछिल्लो समय प्रविधिमा जोड दिँदै ‘डिजिटल कांग्रेस’ निर्माण अभियान थालेको छ । पार्टीको आधिकारिक वेबसाइटमा करिब ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्यको सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको छ । १४ औं महाधिवेशनमा निर्वाचित वडादेखि केन्द्रसम्मका सदस्य तथा पदाधिकारीको विवरण पनि सहजै हेर्न मिल्ने बनाइएको छ । शुक्रबार महाधिवेशनमा मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिँदै छ ।

पार्टीले निर्णय गरेको खण्डमा इलेक्ट्रोनिक मतदान प्रणालीबाट निर्वाचन गर्न सक्ने गरी प्रविधिको विकास पनि गरिएको थियो । तर १४ औं महाधिवेशनमा मतदाताले कागजी मतपत्रमा मतदान गर्नेछन् । ‘प्रविधिको हिसाबले हामी नेपालका सबै दलभन्दा अगाडि छौं, कांग्रेस साँच्चिकै डिजिटल युगमा प्रवेश गरेको छ,’ प्रवक्ता शर्माले बिहीबार पार्टी कार्यालयमा आयोजित मिडिया ब्रिफिङमा भने, ‘तर यसपालि हामी कागजी मतपत्रमै मतदान गर्नेछौं, कांग्रेसका लागि यो नै अन्तिम कागजी मतदान हुनेछ ।’

७५ वर्षमा ९ नेतृत्व

प्रजातन्त्र स्थापनाका लागि २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसले साढे ७ दशकको यात्रा तय गरेको छ । यस अवधिमा पार्टीको शीर्ष नेतृत्वमा ९ जना पुगेका छन् । २००३ सालमा भारतको कलकत्तामा भएको पहिलो महाधिवेशनबाट टंकप्रसाद आचार्य पहिलो सभापतिका रूपमा निर्वाचित भएका थिए ।

स्थापनाकालमा बीपी कोइराला कार्यकारी सभापति थिए । त्यसयता डिल्लीरमण रेग्मी, बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वमा पुगेका छन् । कांग्रेसको पहिलो महाधिवेशन २००३ सालमा पटनामा, दोस्रो २००४ सालमा बनारसमा, तेस्रो २००५ सालमा दरभंगामा, चौथो २००६ सालमा बनारसमा, पाँचौं २००९ सालमा जनकपुरमा, छैटौं २०१२ सालमा वीरगन्जमा, सातौं २०१७ सालमा काठमाडौंमा, आठौं २०४८ मा झापामा, नवौं २०५३ मा काठमाडौंमा, दसौं २०५७ मा पोखरामा र एघारौं (२०६२), बाह्रौं (२०६७) र तेह्रौं (२०७२) महाधिवेशन काठमाडौंमा भएका थिए ।

प्रकाशित : मंसिर २४, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?