काठमाडौँ — कांग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी भित्रका गुट–उपगुटहरू आ–आफ्ना उम्मेदवार तय गर्ने रस्साकस्सीमा छन् । अझै उम्मेदवारीको टुंगो लागिसकेको छैन । सबैले आ–आफ्ना दाबीहरू पेस गरिरहेका छन् ।
नीतिमाथि खासै छलफल नहुने, नेतृत्वमात्र चुन्ने यस महाधिवेशनको सेरोफेरोमा महामन्त्रीका प्रत्याशी समेत रहेका रक्षामन्त्री मीनेन्द्र रिजालसँग कान्तिपुरका दुर्गा खनाल, ध्रुव सिम्खडा र प्रकाश धौलाकोटीले बिहीबार गरेको कुराकानी :
कांग्रेसको १४ औं महाधिवेशनको व्यापक तयारी भइरहेको छ, महाधिवेशनको प्रि–रिर्हसल निकै रोचक देखिदैछ, अहिले कुन विन्दुमा पुगेको छ ?
एउटा रमाइलो के पनि भयो भने तपाईंहरूले पनि लेख्नुभयो, अधिवेशन हुँदैन, गराउन चाहदैनन्, यो गरे, ऊ गरे । कांग्रेसको महाधिवेशनचाँहि नगरेको नगर्यै अनन्तसम्म पुग्ने हो कि भन्ने वातावरण थियो । वास्तवमै महाधिवेशन हुन्छ भन्ने विश्वास दिलाउन नसक्दै यस्तो फास्ट ट्रयाकमा महाधिवेशन अघि बढ्यो कि महाधिवेशन सुरु हुन पाएको छैन, सकिन थालेजस्तो भएको छ । अबका ५/६ दिनपछि त पार्टीको महामन्त्री म भइसकेको हुन्छु कि महामन्त्रीमा पराजित भइसकेको हुन्छु ।
तपाईं अहिले उम्मेदवारको चयन गर्ने तयारीमा हुनुहुन्छ । त्यही सन्दर्भमा विभिन्न समूहहरू बनिसकेका छन् । अस्वस्थ प्रतिस्पर्धा हुने हो कि जस्तो देखिन्छ नि ?
तपाईं धेरै गुटहरू, उपगुटहरू भए भन्नुभयो, आशंका व्यक्त गर्नुभयो । मलाई त्यस्तो लाग्दैन । अहिले जुन क्षणमा बसेर तपाईं र म कुरा गरिरहेका छौं, नेतृत्वका लागि झण्डै फेरि सिधा–सिधा प्रतिस्पर्धा हुन्छ कि भन्ने अवस्थामा पुगिसकेका छौं, सिधै–सिधै प्रतिस्पर्धा हुन्छ कि भन्ने मलाई लाग्छ ।
अब गुट/उपगुटको हकमा चाहिँ हामीले आफ्नो क्षमता र आधारहरूलाई प्रस्तुत गर्ने हो, त्यो गर्दा खेरि तपाईंहरूले त्यस्तो देखेको हुनसक्छ । राजनीतिलाई समाचार बनाउँदा त्यो रोचक लाग्न सक्छ । त्यसैले म त्यसलाई पनि अस्वीकारचाँहि गर्दिनँ । त्यो मेरो प्रतिरक्षाको कुरा भयो ।
तपाईंले भनेको कुरामा मेरो सहमतिको कुरा चाहिँ के हो भने हामीले प्रतिस्पर्धालाई व्यवस्थित गर्न नसकेर यसरी प्रस्तुत हुन थाल्यौं कि म के हो ? म त्यो ठाउँमा पुग्छु कि पुग्दिनँ ? हामीले एक अर्कालाई प्रस्तुत गर्दा खेरि चाहिँ नितान्त स्वार्थ समूहहरूले आफ्नो स्थान कहाँ हो भनेर खोजी गर्दा खेरि के हो त ? भन्ने परिस्थिति बनेको हो । यो अर्थमा तपाईंले भनेको कुरालाई पनि स्वीकार गरें ।
अर्को कुरा मलाई के लाग्छ भने यो के कारणले गर्दा यस्तो भयो त भन्दा कुन समूह अलिकति कमजोर हुन्छ, त्यो समूह मेरा लागि अर्कोलाई परास्त गर्ने सम्भावना बलियो छ भन्ने लाग्छ, झन्–झन् एकताबद्ध हुँदै जान्छ । जस्तो पुरानो उदाहरण हेर्ने हो भने सुशील कोइरालालाई पराजित गर्छु भन्ने शेरबहादुर देउवाको तयारी झन्–झन् बलियो बन्दै गएको थियो । पछि त्यो शक्तिले सुशील कोइरालालाई पराजित गर्नुपरेन, उहाँले रामचन्द्र पौडेललाई परास्त गर्न सक्नुभयो ।
त्यो चाहिँ विस्तारित हुँदै गएको शक्ति थियो । तर, हाम्रो चाहिँ के भयो भने गएको ४ वर्षमा शक्ति विस्तार हुने भन्दा पनि हामीले देउवालाई जसरी बुझ्यौं, बुझेको कुरालाई भाषण गर्दा खेरि जसरी प्रस्तुत गर्यौं, ठीक छ/छैन भन्ने बहस गर्न सकिएला, तर हामीहरूको चाहिँ कस्तो देखियो भने जति गरेपनि देउवालाई हल्लाउन नसकिने। त्यस्तोजस्तो देखिएपछि अब देउवालाई हल्लाउनै नसकिने हो भने देउवासँग हार्न चाहिँ मैले पाउनुपर्छ भनेजस्तो, सचेत मनमा होइन, अर्धचेतन मनमा चाहिँ त्यो अवसर मैले पाउनुपर्छ भन्ने प्रतिस्पर्धा गरेको जस्तो देखियो ।
त्यो प्रतिस्पर्धा, त्यसपछि हाम्रो काम, कर्तव्य हिजो (सोमबार) साँझ चुलिन पुग्यो जस्तो लाग्छ मलाई । हिजो साँझ आजसम्म आइपुग्दा अब एउटा साझा उम्मेदवार खडा गर्न सक्ने बलिया आधारहरू निर्माण भएका छन् । त्यसैले मैले जुन क्षणमा कुरा गरिरहेको छु, अहिलेसम्मको परिस्थिति हेर्दा नेतृत्वका लागि सिधा–सिधा प्रतिस्पर्धाको स्थिति बनिरहेको छ, त्यसै हुन्छ भन्ने कुरामा म अलिक बढी आश्वस्त हुँदै गइरहेको छु ।
तपाईंले स्वार्थ समूहहरूको कुरा गुर्नभयो, अहिले ती स्वार्थ समूहहरू कसरी प्रस्तुत भइरहेका छन्, व्यक्तिकेन्द्रित छन् कि पार्टीको सैद्धान्तिक नीतिगत स्वार्थहरूमा केन्द्रित छन् ?
मैले आज जे कुराहरू भनिरहेको छु, यो निर्वाचनको तिक्तताबाट भनिरहेको छैन, मलाई यति त भन्ने अधिकार छ कि चुनावको कठिन भन्दा कठिन समयमा, पार्टीभित्रको आन्तरिक जीवनमा कडा प्रतिस्पर्धाको अवस्थामा मैले आजभन्दा धेरै तिक्ततापूर्ण अभिव्यक्ति कसैलाई पनि दिएको छैन ।
त्यो मेरो आफ्नो परम्परालाई, मेरो चरित्रलाई म गुमाउन चाहन्नँ । तर, मैले यति चाहिँ भन्नुपर्ने हुन्छ कि देउवाजीले १३ औं महाधिवेशनमा सभापतिमा चुनाव जित्नुभयो । उहाँसँग मेरो सम्बन्ध चुनाव जित्नुभन्दा अघि अलिक चिसो थियो होला, तर उहाँले पार्टी सभापति भइसकेपछि, आमनिर्वाचनमा माओवादीले साथ छोडेर गइसकेपछि निर्वाचन फेस गर्ने कुरामा तयारी गर्दा देखि उहाँसँग सम्बन्ध अलिक न्यानो, स्नेहपूर्ण, पूर्ववत्झैं नै भयो । तर, समूहगतरुपमा म सधैँ अलग नै रहें ।
अहिले पनि त्यो सम्बन्ध त्यस्तै छ । मेरो उहाँकाप्रति सम्मानको भाव छ, उहाँको मेराप्रति स्नेहको भाव छ । उहाँ फेरि सभापति बन्नुहोला, नबन्नुहोला, त्यो आफ्नै ठाउँमा छ । तर, उहाँको सबैभन्दा ठूलो कमजोरी के भयो भने चुनाव जितिसकेपछि पूरै कांग्रेसको सभापति बन्ने जुन प्रयत्न गर्नुपर्थ्यो, त्यो सक्नुभएन ।
झन् झन् एउटा सानो ध्रुवको असाध्यै बलियो नेताका रुपमा उभिनुभयो । जति मानिसहरू हाम्रो समूहबाट उहाँको समूहमा पुग्नुभयो, यो यात्रामा उहाँहरू पनि हामीसँग भएका चरित्रहरू, हाम्रो समूहमा भएका चरित्रहरूलाई प्रतिनिधित्व गरेर, उहाँको समूहको चरित्रलाई अझ विस्तारित व्यापक र विविधतापूर्ण बनाउनेभन्दा पनि उहाँले हिजो जुन ध्रुवको नेतृत्व गरेर तत्कालिन संस्थापनलाई चुनौती दिनुभएको थियो, सभापति भएपछि पनि त्यही चरित्रलाई मात्रै अझै बढी गहिरो रुपमा बनाउँदै जानुभयो ।
त्यसकारणले गर्दा हामीले उहाँलाई एउटा समूहको प्रतिनिधिको पात्रको रुपमा देख्न थाल्यौं । र, उहाँलाई पनि मनमा के पर्यो भने मैले चुनाव जितेपनि रामचन्द्र पौडेलले मलाई कहिल्यै पनि चुनाव जितेको नेताको रुपमा स्वीकार गर्नुभएन । लोकतान्त्रिक प्रक्रियामा हारेपछि त सहजरुपमा मेरो विजयलाई स्वीकार गरेर मलाई सभापति मानेर काम गर्नुपर्थ्यो, त्यो गरेनन् भन्ने तिक्तताको भाव रहिरह्यो । हाम्रो मनमा पनि उहाँले कहिल्यै पनि छुन सक्नुभएन । कहिल्यै पनि उहाँले सबैको पार्टी सभापति भएर काम गर्नुभएन भन्ने पर्यो । हिजो पार्टी दुई वटा हुँदा म नेपाली कांग्रेस प्रजातान्त्रिकमा थिएँ, त्यो पार्टीमा मात्रै होइन, शेरबहादुर देउवाको अत्यन्तै निकटमा रहेर काम गरेको मान्छे हुँ म ।
अहिले देउवा सिंगो पार्टीको सभापति हुँदा पनि नेपाली कांग्रेस प्रजातान्त्रिकको विस्तारित स्वरुप मात्रै बनेजस्तो लाग्छ । यसले दुई वटा पाटो छोडेर गएको छ, हिजो प्रकाशमानजी अरु साथीहरू देउवाजीसँग रहनुभएन । सुशील कोइराला, शशांक कोइरालाहरू मिलेर चुनाव लड्नुभयो । त्यसको अर्को अधिवेशन आउँदाखेरि म देउवाजीसँग रहिंन । अहिले अर्को अधिवेशन आउँदा त्यतिखेरको कांग्रेस प्रजातान्त्रिक भनेर सम्झनुभयो भने सम्झिराख्ने अनुहारमध्येको अर्को विमलेन्द्र निधि उहाँसँग रहनुभएन ।
त्यतिखेरको कांग्रेस प्रजातान्त्रिकलाई झट्टै अहिले कसैले सम्झ्यो भने चिनिने अनुहारहरू, कांग्रेस प्रजातान्त्रिकलाई परिभाषित गर्ने अनुहारहरू कति जना शेरबहादुर देउवासँग रहनुभएको छ ? देउवा रहँदासम्म त पुरै त्यही देखिन्छ । तर, चरित्र चाहिँ एउटा अलग्गै भएको कांग्रेसको जस्तो रहिरह्यो, पहिचान त्यस्तै रह्यो, व्यक्तिहरू चाहिँ झन्–झन् सीमित घेराभित्र बस्याजस्तो लाग्छ । त्यसैले आज उहाँले यदि चुनाव जित्नुभयो भने कांग्रेस एकांङ्की हुन्छ कि जस्तो लाग्छ ।
अर्को फेरि, उहाँको असाध्यै ठूलो योगदान के छ भन्नुहुन्छ भने आजको दिनमा नेपाली कांग्रेसको नेतृत्वमा भएका मानिसहरू हेर्नुहोस्, आजको संस्थापनमा अथवा हिजोको संस्थापनमा, अथवा आजको संस्थापन र संस्थापनइत्तर भनौं, सबैतिर हेर्नुभयो भने हिजो शेरबहादुर देउवाको कांग्रेस प्रजातान्त्रिकमा असाध्यै ठूलो भूमिका खेल्ने मान्छेहरू यत्रतत्र देख्नुहुन्छ । आजको संस्थापनइत्तर पक्षलाई हेर्नुभयो भने त्यहाँ देखिने अनुहारहरूमा सबैभन्दा मज्जाले झलक्क देखिने आदी भन्दा धेरै अनुहार हिजोको कांग्रेस लोकतान्त्रिक देख्नुहुन्छ । त्यसअर्थमा नेतृत्व विकासको परम्परामा देउवाले एउटा गहिरो योगदान नेपाली कांग्रेसमा गर्नुभएको छ । यसपटक उहाँ सभापतिमा पराजित हुनुभयो भनेपनि उहाँको त्यो प्रभाव चाहिँ बाँकी रहन्छ जस्तो लाग्छ ।
तपाईं उहाँको धेरै चरित्रको चित्रण पनि गर्नुभयो । तर उहाँलाई पराजित गर्नका लागि तपाईं बीचमा एकता त छैन । तपाईंहरूले उहाँको साथ छाडेर अर्कोतिर ध्रुवीकरण भएपनि उहाँले तल्लो तहदेखि नै राम्रो समर्थन र शक्ति आर्जन गर्नुभएको छ । त्यो कसरी संभव भयो ?
हाम्रो समूहका साथीहरूले चार वर्षदेखि एउटा लवजलाई प्रयोग गर्नुभयो, देउवालाई चाहिँ हटाउनैपर्छ भनेर । त्यो लवजलाई म चाहिँ धेरै रुचीकर मान्दिनँ । देउवालाई हटाउनै पर्छ होइन, म चाहिँ कांग्रेसको नेतृत्व बदल्नुपर्छ भन्ने मान्यता राख्छु । देउवा हटाउने मेरो मूल लक्ष्य होइन, मेरो मूल लक्ष्य भनेको कांग्रेसको पुनर्जागरणको अभियानलाई जुन ऊर्जाका साथ अघि बढाउनुपर्ने हो, जुन ऊर्जाका साथ नेतृत्व दिनुपर्ने हो, देउवाजीले त्यो नेतृत्व दिनसक्नु भएन ।
त्यसैले तिक्तताको भावना राखेर होइन, नेतृत्व बदल्नका लागि अहिले स्वभाविक बेला हो । नेतृत्व बदल्नुपर्छ । नयाँ पालुवा नआउने हो भने नेपाली कांग्रेसको रुखले नेपाली जनताको जुन चाहना र अपेक्षा हो, त्यसलाई नेतृत्व गर्न सक्छ जस्तो लाग्दैन । त्यसकारण त्यसर्थमा मैले भन्न खोजेको हो, हामीले विकल्प दिनुपर्छ, तर विकल्प देउवालाई हराउनका लागि, देउवालाई हटाउनका लागि होइन कि देउवाको परम्परालाई पनि कांग्रेसको निधिमा, कांग्रेसको सम्पत्तिमा सञ्चित गरेर अब देउवा पछाडिको, पोष्ट देउवा कांग्रेस निर्माण गर्ने क्रममा अर्को नेतृत्व खोज्नुपर्छ भन्ने मेरो भनाइ हो ।
त्यसकारण म जुन समूहमा छु, त्यो समूहले सार्वजनिकरुपमा प्रस्तुत गर्ने भाष्य र मेरो भाष्य अलिकति फरक छ । यसअर्थमा हेर्ने हो भने ७५ वर्ष लामो संघर्ष गरेको, बीपी कोइरालाले स्थापना गरेको पार्टीले आफूले चाहेको जस्तो, सोचेको जस्तो राजनीतिक व्यवस्था निर्माण गर्यो, राजनीतिक व्यवस्था निर्माण गर्ने मात्रै होइन कि समय सापेक्ष रुपमा रुपान्तरित गर्दै, परिभाषित गर्दै र विस्तारित गर्दै त्यो राजनीतिक व्यवस्था स्थापित गरिएको छ । बीपी कोइरालाले नेपाली जनताका प्रतिनिधिहरूको संस्था संविधानसभा वा परिषद्लाई नेपाल जनराज्यको संविधान बनाउनुछ भनेर ००६ सालमा नै नेपाली जनताका माझमा आव्हान गर्नुभयो । राणालाई फालेर यो क्रान्ति सफल बनाऔं भनेर आव्हान गर्नुभयो ।
बीपी कोइरालाले भनेको जनराज्यको संविधान विकसित विस्तारित र परिमार्जित स्वरुपमा आधुनिक युगमा बीपी कोइरालाले सुरु गरेको ७५ वर्ष पछाडिको समयमा आइपुग्दाखेरि संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र आएको छ । एकात्मक राज्यसत्ताको सट्टा संघीय राज्य प्रणाली भएको छ । हिजोको भन्दा अझै विस्तारित र अझै उदार लोकतान्त्रिक व्यवस्था छ । त्यो संविधान, त्यसलाई संस्थागत गर्ने संविधान र बीपी कोइरालाले जुन व्याख्या गर्नुभएन, तर उहाँले जुन ढङ्गले काम गर्नुभएको थियो, जुन असाध्यै विविधताले भरिपूर्ण कांग्रेस निर्माण गर्नुभएको थियो, त्यही विविधता नेपाली समाजको हरेक अंगमा विशेषतः राजनीतिक वृत्तमा स्थापित हुने ठाउँमा यो संविधानले बाटो खोलेको छ । त्यसैले बीपीले कल्पना गरेको नेपाल जनराज्यको संविधान बनायौं, संस्थागत गर्यौं, संविधानसभाले संविधान बनायो ।
तर, त्यसपछाडि जुन बीपीले जुन समृद्धिको सपना देख्नुभएको थियो, म एउटा मध्यम परिवारको मान्छे, म जस्तै मान्छेको जीवनमा कुनैपनि समस्या छैन । एउटा सामान्य मान्छेको भाषामा भन्ने हो भने दुहुनो गाई होस्, एउटा बस्ने घर होस्, औषधीमुलो गर्ने व्यवस्था होस्, बच्चालाई स्कुल पठाउन सकियोस् । त्यस्तो समाजवादको परिकल्पना हामीले गरेका छौं । हामीले संविधानमा पुरै लोकतन्त्रका विशेषताहरू लेख्दै लेख्दै गएर लगायतका लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवाद भनेर लेखेका छौं ।
बीपी कोइरालाको दृष्टिकोण, विचार, बीपी कोइरालाले नेपाली राजनीतिमा परिभाषित गर्नुभएको राजनीतिक व्यवस्था र आर्थिक व्यवस्थालाई हामीले संविधानको प्रस्तावनामा लेख्यौं, अनि त्यो संविधान बनिसकेपछि संविधानमा पूर्णतः स्वामित्वमा लिएर त्यो संविधानको हरेक अंशलाई, हरेक धारालाई, हरेक लेखोटलाई आवश्यकतासहित परिमार्जन गर्दै जान्छौँ भन्ने विश्वास जनतालाई दिलाएर हामीले समृद्धिका लागि एउटा भव्य इमारत खडा गर्ने सोच दृष्टिकोण जनतासमक्ष प्रस्तुत गर्ने, नेतृत्व प्रस्तुत गर्ने, त्यस्तो कांग्रेस प्रस्तुत गर्ने, कसैले भन्छ होला, त्यो देउवाले गर्न सकेनन् भनेर ।
म सुविधाको तर्कमा जान चाहदिँन । हाम्रो सामुहिक असफलताको प्रमाण हो । यो महाधिवेशनले हामीलाई अवसर दिएको छ । यो सामुहिक असफलताबाट बाहिर निस्किएर समृद्ध नेपाल निर्माण गर्ने, बीपी कोइरालाले परिकल्पना गरेको नेपाल निर्माण गर्ने, बीपी कोइरालाको सोचअनुसारको राजनीतिलाई अझै स्थापित गर्ने एउटा अवसर छ, त्यसको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ ।
त्यसका लागि नेपाली जनताका बीचमा पनि एउटा बलियो सोच निर्माण भएको छ । परीक्षण भयो । चार वर्ष अगाडि नेपाली जनताले नेकपा बन्ने क्रमको बाम गठबन्धनबाट मात्रै स्थिर सरकार बन्न सक्छ, त्यो बामगठबन्धनले मात्रै मुलुकको विकास र समृद्धि हुनसक्छ । त्यस्तो असाध्यै गहिरो दुरदृष्टि भएको नेता केपी शर्मा ओली मात्रै हो भनेर निर्वाचित गरेर पठायो । केन्द्रमा मात्रै होइन, प्रदेशका सरकारहरूमा पनि झण्डै दुई तिहाईको उपस्थिति कम्युनिष्ट पार्टीका सांसदहरूको भयो ।
त्यसपछि बाम गठबन्धनबाट बनेको नेकपा आज नेकपा रहन सकेन । त्यसमा मिलेका नेकपा एमाले र माओवादी केन्द्र पनि सग्लो रुपमा रहेनन् । स्थिरता दिन्छु भन्नेहरूले केन्द्रमा मात्रै होइन, सबै प्रदेशमा सरकारको नेतृत्व गुमाएका छन्, किंकर्तव्यविमुढ भएका छन् । अनि यो अवस्थामा फेरि पनि हठ परित्याग गर्नुभएको छैन । त्यसको बलियो प्रमाण उहाँले चितवनमा जनताका सामु प्रस्तुत गरेर आउनुभएको छ ।
त्यसैले नेपाली जनतामा अलिकति पनि कम्युनिष्टका प्रति भ्रम थियो भने केही गर्न सक्छन् कि भन्ने आशा थियो भने अथवा कम्युनिष्ट सिद्धान्त नेपाली जनताका लागि अलिकति पनि काम लाग्न सक्छ कि भन्ने थियो भने त्यो सबै भ्रम टुटेर गएको एउटा मलिलो राजनीतिक अवस्था छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले आफ्नो अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व जनताका माझ प्रस्तुत गर्दैछ । त्यसैले पनि यो सर्तमा मैले नेतृत्व परिवर्तन, नयाँ नेतृत्व र पुनर्जागरणको अभियानका रुपमा नेपाली कांग्रेसको महाधिवेशनलाई सम्पन्न गर्न सक्नुपर्दछ ।
धेरैले यो महाधिवेशनलाई विचारशून्य महाधिवेशन पनि भनिरहेका छन् नि ?
महाधिवेशनमा हामीले जसरी विचारहरूको मन्थन गर्नुपर्ने थियो त्यसमा कोभिडले गर्दा नमिलेको अवस्था पनि रह्यो । अहिले अलि खुकुलो अवस्था हो कि जस्तो भएको छ । यसबेला हाम्रो पार्टीको महाधिवेशन हुँदैछ । यसमा वडादेखि नै पार्टीका धेरै साथीहरू प्रक्रियामा समावेश भइरहनु भएको छ । अहिले हामीले मुलुक सामुन्ने रहेका विविध समस्याहरूलाई पर्गेलेर त्यसको भाष्यलाई परिभाषित र परिष्कृत रूपमा महाधिवेशनले सशक्त वाणी दिन सक्नुपर्छ । यसमा हाम्रा नेताहरू चुकेका छन् । यसलाई प्रक्षेपण गर्न सक्नु नेतृत्वको चुनौती हो ।
महाधिवेशनको सन्देश महत्वपूर्ण हुन्छ । साथै सन्देशवाहक को हो भन्ने प्रश्न पनि मानिसले गर्छन् । सन्देशवाहक महत्वपूर्ण नहुने भएको भए ओलीले दिएका सन्देश त निकै घतलाग्दा थिए नि, तर सन्देश दिने मान्छे कामचाहिँ केही पनि नगर्ने डिङ हाँक्ने मात्र भएर त हुँदैनरहेछ नि । नेताप्रति विश्वास हुनुपर्छ ।
त्यसकारण यस्तो नेपाल निर्माण गर्ने चुनौती र अवसरबीच महाधिवेशन भइरहेकाले यसलाई पार लगाउन सक्ने नेता छान्ने अवसर पनि हो यो । विश्वास गर्ने आधार भएको नेता चाहिन्छ । हाम्रा चाहनाहरू पूरा गर्न सक्ने भरोसायोग्य अनुहारको खोजीमा छौं हामी । हाम्रा यिनै चाहनाहरू पूरा गर्न सक्ने अनुहार नै हाम्रा नेता हुन् ।
हामी अहिले नेता चयन प्रक्रियामा छौं । को चुनिएलान् कांग्रेस सभापति भन्ने प्रश्न सर्वत्र उठेको छ । एउटा देउवा छन् रे अर्को पनि को हुने भनेर सल्लाह गर्दैछन् रे भन्ने हल्लीखल्ली भइरहेको छ । यी सबै भाष्यहरू सही रूपले समाजमा जान नसकिरहेको होला तर समस्या त उही हो । अहिलेको महाधिवेशनबाट मुलुकले यस्तै भाष्यहरूलाई आमजनतासमक्ष पुर्याउन सक्ने नेता खोजेको छ ।
यो महाधिवेशनले त्यस्तो खालको नेतृत्व चयन गर्न सक्ला त ?
यसमा दुईखाले उत्तर हुन सक्छन् । एउटा खिसीको भावबाट उत्तर दिन सकिन्छ । मेरा अग्रजहरू सुस्ताउनुभयो, लोलाउनुभयो,थाक्नुभयो हामी सक्छौं भनेर । यो आत्मश्लाघाको भाव हो । तर यो होइन । यो हाम्रो परम्परा नै होइन । त्यसैले नेतृत्व छनोटमा केही न केही पुराना परम्पराहरूको निरन्तरता रहन्छ । हाम्रा अग्रजहरूको निरन्तरता कहीँ रहला ।
हामी आम नेपालीको बीचमा बुढो देखिने तर देउवा र पौडेलको बीचमा उभ्याइदिँदा जवानै देखिने, कहीं न कहीं बीचमा रहने बहुसंख्यक युवा नेपालीले पनि मेरै वयका नेता हुन् भनेर विश्वास गर्न सक्नेहरूको कांग्रेसको केन्द्रीय कार्यसमिति बन्ला भन्ने आशा छ । र, त्यस्तै कार्यसमिति बनाउनुपर्छ भन्ने मान्यतासाथ काम गरिरहेको छु ।
तपाईंहरूको समूहबाट यो आशा जगाउन सक्ने नाम को हुनसक्छ ?
हिजो म सुत्ने बेलामा निराशै भएर सुतेको थिएँ । महाधिवेशनको परिणाम के आउला भनेर अनुमान गरें, त्यसमा मेरो भूमिका के होला भनेर अनुमान गरें । अनि महाधिवेशनपछि केही सीमित अनुहारहरू मात्र कांग्रेसमा रहने पो हो कि भन्ने निराशाको भावबाट हिजो राति निदाएको हुँ ।
आज (बिहीबार) बिहानै रामचन्द्र पौडेलजीकोमा गएँ । शेखरजी त्यहीं भेट हुनुभयो कुराकानी भयो । त्यसपछि फर्किंदा प्रकाशनमानजीकोमा पसें । फर्केपछि हाम्रो समूहका केन्द्रीय कार्यसमितिमा रहेका धेरै साथीहरूसित कुराकानी भयो । त्यसपछि हाम्रो साझा उम्मेदवार हुन्छ भन्ने निचोडमा पुगियो । यही आत्मविश्वासका साथ म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएँ । बैठक नटुंगिदै म तपाईंहरूसित कुराकानी गर्न आएको छु ।
तपाईं यो महाधिवेशनमा आफूलाई कुन भूमिकामा उभ्याउन चाहिरहनु भएको छ ?
मैले आफूलाई यसअघि नै जुन पदमा प्रक्षेपण गरेको छु त्यसैमा अडिग छु । दुई/अढाइ वर्षअघिदेखि नै मैले कांग्रेसमा मेरो स्थान महामन्त्री हो भन्दै आएको छु । र, अहिले पनि मेरो उम्मेदवारी त्यसका लागि हुन्छ ।
महामन्त्रीका लागि उठ्दै गर्दा पार्टीमा पटकपटक देखिने क्रियाशील सदस्यताको विवादलगायत अन्य समसामयिक समस्याहरूको समाधान कसरी गर्ने योजना छन् ?
यसबारे मैले सुशील कोइराला कार्यवाहक सभापति भएकै बेला हाम्रो पार्टीमा क्रियाशील सदस्यतासम्बन्धी अवधारणा नै गलत छ भनेको थिएँ । कम्युनिष्ट शासनप्रणाली भएका मुलुकहरूमा यो स्वाभाविक हुन्छ । हामीले नेतृत्व छान्ने दायरालाई संकुचित बनाउने होइन, विस्तृत र व्यापक बनाउने हो । त्यसका लागि आ–आफ्ना मान्छेलाई क्रियाशील सदस्यता दिएर नेतृत्वमा पुग्ने परिपाटी ठिक छैन । त्यसैले दुईखाले सदस्यता नै नराखौं । एउटै सदस्यताको व्यवस्था गरौं । नेपाली कांग्रेसको सदस्यता भनौं भन्ने प्रस्ताव गरें ।
मैले विधान मस्यौदा समितिमा पनि कांग्रेसमा साधारण र क्रियाशील सदस्यता हुँदैन, नेपाली कांग्रेसको सदस्यता मात्र राखौं भनेको हुँ । तर त्यो सम्भव भएन । नेपालको संविधान र कानूनले वर्जित गरेको बाहेक नेपाली कांग्रेसको सदस्य बन्न चाहनेलाई नेपाली कांग्रेसको सदस्यता दिने व्यवस्था गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यसमा प्रदीप पौडेल पनि सहमत हुनुहुन्थ्यो । उहाँ पनि त्यो समितिमा हुनुहुन्थ्यो । यस्तो विधान बनाइयो भने त हामीले थेग्नै सक्दैनौं भनेर मलाई मेरै समूहका नेताहरूले पनि भन्न थाल्नुभयो । तपाईं देउवाजीलाई नै अकण्टक सभापति बनाइराख्न चाहनुहुन्छ कि के हो भनेर सोध्नुभयो ।
अबको महाधिवेशनमा आजजस्तो क्रियाशील सदस्यताको अंकुश र बन्धनको व्यवस्था विधानतः अन्त्य भएर जानेछ । अहिले कांग्रेसको क्रियाशील सदस्यता झण्डै नौ लाख पुगेको छ । सदस्यता समस्या खुला र सहज हुँदै गएको छ । झण्डै दुई लाख मानिस प्रारम्भिक ठाउँमा निर्वाचित हुनुभएको छ । जिम्मेवारी पाउनु भएको छ । दुई लाख मानिसले पार्टीको जिम्मेवारी पाउने भनेको त झण्डैझण्डै आमामानिसहरू नै सहभागी भएको हो नि । नाम पनि हिजोको जस्तो साधारण सदस्यता भन्ने छैन । नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता भन्ने व्यवस्था गरिएको छ । यसले क्रियाशील सदस्यतासम्बन्धी धेरै पहिलेदेखिको समस्या समाधान हुने विश्वास गर्न सकिन्छ ।
यसअघिको चुनावमा कांग्रेसलाई विपक्षमा बस्ने जनादेश आएको थियो र पनि तपाईंहरू अहिले सत्तामा पुग्नुभएको छ । तपाईं महामन्त्रीको दाबेदार पनि, आगामीमा चुनावमा कांग्रेसको अवस्थाबारे कस्तो आंकलन गरिरहनुभएको छ ?
यसअघिको निर्वाचनमा हामीलाई जनताले विपक्षमा बस्न जनादेश दिएको भन्ने कुरालाई म स्विकार्दिन । जनादेश के थियो भने नेकपालाई सरकार सञ्चालन गर्ने जनादेश थियो । हामीलाई विपक्षमा बस्ने भनेको कस्तो हो भने तिनले चलाउन सके भने चलाउँछन् सकेनन् भने तिमीहरूको जिम्मेवारी आउँछ भनेर प्रमुख प्रतिपक्षको भूमिकामा राखेको थियो । संघमा पनि र प्रदेशमा पनि । हामीलाई सरकारै चलाउन नपाउने जनादेश थियो भन्ने व्याख्या गलत हो ।
उनीहरूले नसक्दा हाम्रा पालो आउँछ भनेरै हामीलाई प्रमुख प्रतिपक्षको रूपमा स्थापित गरिदिएका थिए । नेकपा छिन्नभिन्न भइसकेपछि सरकार चलाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यद्यपि यो संक्रमणकालीन सरकार हो । बहुमत नभएको सरकार हो । ‘कन्टिन्जेन्ट’ जिम्मेवारी प्राप्त सरकार हो । त्यसैले हिजो जनताले विधायिकामा जुन जिम्मेवारी दिएर पठाएका थिए त्यो गुमाएको अवस्था छ ।
समग्रमा संसदलाई दिएको अधिकार नेकपाकै कारण गुम्न पुगेको अवस्था छ । त्यसैले अब स्वतन्त्र, धाँधलीरहित निर्वाचनमा मुलुकका सबै शक्तिहरू समाहित भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको छ । त्यसैले यही सरकारलाई राखेर रगडेको रगेड्यै गर्ने होइन । एमालेले आफ्नो महाधिवेशन सकिसकेको छ । राप्रपाले पनि आफ्नो महाधिवेशन भर्खरै सम्पन्न गरेको छ । अब केही दिनमै हाम्रो पार्टीले पनि महाधिवेशन सक्नेछ ।
माओवादी केन्द्र महाधिवेशनको अन्तिम तयारीमा जुटेको छ । यस्तै मधेसी लगायत अन्य दलहरूले पनि आ–आफ्नो सांगठनिक स्वरूपलाई नवीनतम स्वरूपमा चलायमान बनाउने कार्य अघि बढिसकेको अवस्थामा सबै दल मिलेर चुनावमा जानु पर्छ । सरकार अब चुनावी दिशामा नै अघि बढ्नु पर्छ ।
चुनावमा जाने कुरा त गर्नुभयो । चुनाव हुँदा तपाईंको दलको पोजिसन कस्तो हुन्छ ?
अहिलेकै अवस्थामा निर्वाचन भयो भने हाम्रो पार्टीले बहुमत ल्याउँछ । २ सय ७५ मा १ सय ३८ पुर्याउन हामीलाई त्यति गार्हो पर्दैन । सामान्य हिसाब गर्दा पनि कांग्रेसले बहुमत ल्याउँछ । कथं कदाचित् बहुमत आएन भने पनि ठूलो पार्टी कांग्रेस नै बन्छ । अब कांग्रेस आफ्नो महाधिवेशनरूपी यज्ञ सम्पन्न गरेर पुनर्जागृत र सशक्त पार्टीका रूपमा निर्वाचनमा जानेछ ।
