काठमाडौँ — कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षीय कार्यकर्ता भेलामा व्यक्ति नभएर राष्ट्र केन्द्रीत पार्टी निर्माणमा जुट्न आग्रह गरेका छन् । १४औं महाधिवेशनको पूर्व सन्ध्यामा कार्यकर्ताहरुलाई निर्देशन दिँदै उनले भने,' कांग्रेसको विचार, सिद्धान्त र नीति अनुसार काम गर्नुहोस् । व्यक्ति केन्द्रीत नभएर राष्ट्र केन्द्रीत पार्टी निर्माणमा जुट्न आग्रह गर्छु । '
उनले कांग्रेसमा जागरण आएको बताउँदै अबको कांग्रेस युवाहरुले नेतृत्व गर्नुपर्ने बताए । ' अब युवाहरु हिँड्नुपर्छ । युवाहरुको नेतृत्व गर्नुपर्छ,' उनले भने,' अब युवाहरुकै पालो हो । म युवाहरुलाई सबैको विश्वास जित्न र विश्वासपात्र बन्न आग्रह गर्छु ।'
उनले अभाव,जोखिम र संकटमा आफूलाई साथ दिनेलाई निरन्तरता दिने र सधैं सहयोग हुने बताए ।
उनले १३औं महाधिवेशनपछि बितेको ५ वर्षमा आफूले के पाए भन्दा पनि पार्टी एकताका लागि काम गरेको उल्लेख गरे । नेताहरुले राजनीतिलाई इमान्दारिताको बाटोतर्फ डोर्याउनुपर्नेमा उनको जोड छ ।
