काठमाडौँ — गत आमनिर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चियो, देशभर पार्टी पराजित हुँदा पनि चुनाव जित्ने २३ नेतामध्ये एक थिए– अमरेशकुमार सिंह । जनप्रतिनिधि भएपछि सिंहले पार्टी संगठनमा पनि सुधारको अभियान चलाए, सक्रियता बढाए । उनी १४ औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारीका आकांक्षी थिए तर सर्लाही क्षेत्र–४ बाट आमनिर्वाचन जितेका उनी पार्टीको निर्वाचनमा भने त्यहींबाट पराजित भएका छन् ।
कांग्रेसमा गुटगत प्रतिस्पर्धाका कारण उनी प्रतिनिधि चयन हुन सकेनन् । सिंह केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र त्यसमा पनि शेखर कोइरालानिकट हुन् । सर्लाही क्षेत्र नं. ४ मा पौडेल समूहको प्यानलै पराजित भयो । ‘मलाई हराउन प्रधानमन्त्री स्वयं लाग्नुभयो, राज्यसत्ता र पार्टी सत्ता एकै ठाउँमा लागेपछि एउटा व्यक्तिको के लाग्छ र ?’ सिंहले कान्तिपुरसँग भने, ‘यहाँ क्षमता, निष्ठा र सदाचारको राजनीति गर्ने मान्छेको मूल्य छैन ।’ सर्लाही–४ त्यही क्षेत्र हो, जहाँ कांग्रेसले क्षेत्रीय अधिवेशन गराउनका लागि पटक–पटक गरेर चार जना निर्वाचन अधिकृत खटायो । सिंह भन्छन्, ‘पहिले आउनेले गराउनै सकेनन्, पछि आएका अधिकृतले पनि जिल्ला प्रशासन कार्यालयमा बसेर चुनाव सकाए, कसको काम गरे ? आफैँ अन्दाज गर्नुस् ।’
गुटगत प्रतिस्पर्धाका कारण केन्द्रीय नेतृत्वका दाबेदार थुप्रै नेता तल्लो तहमै पराजित भएका छन् । कतिपय जिल्लामा त जिल्ला सभापति र पदाधिकारी नै प्रतिनिधिमा पराजित भएका छन् । पार्टीभित्रका गुट–उपगुटका कारण महाधिवेशनमा नेतृत्वमै रहेका र राम्रो क्षमता भएका नेताले समेत हार बेहोरेको एक केन्द्रीय सदस्यले बताए ।
‘आम मान्छेले देख्ने केही गुट छन्, त्यसबाहेक पनि अरू उपगुटहरू सक्रिय छन्, एउटाले अर्कोलाई रोक्ने, छेक्ने हुन्छ, त्यही कारण चर्चित नेताहरू पनि पराजित भइरहेका छन्,’ ती नेताले भने । यसपटक कांग्रेसको संगठन ८ तहमा छ तर यो महाधिवेशनबाट वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश गरी ६ तहको नेतृत्व चयन भएको छ, केन्द्रको अब हुँदै छ । केन्द्रीय नेतृत्व चयन गर्दा गुटगत प्रतिस्पर्धा स्वाभाविक हुन्थ्यो तर त्यस्तो प्रतिस्पर्धा अहिले वडा तहसम्मै पुगेको छ ।
पार्टीको उपसभापतिमै उम्मेदवारी दिने घोषणा गरिसकेका केन्द्रीय सदस्य महेश आचार्य कांग्रेसमा गुटगत प्रतिस्पर्धा मौलाउँदा अधिवेशनहरू सक्षम नेतृत्व चयन गर्नेभन्दा पनि गुटगत शक्ति प्रदर्शन गर्ने माध्यम मात्रै बनेको बताउँछन् ।
‘गुटगत प्रतिस्पर्धाले सक्षम मानिसहरू स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व विकासमा आउने निर्वाचन प्रणालीको आधारभूत र मौलिक उद्देश्य क्षयीकरण हुँदै गएको देखिन्छ । यो महाधिवेशनको निर्वाचन त विचार र नीतिका आधारमा नेतृत्व चयन गर्नेभन्दा पनि केवल गुटगत शक्तिप्रदर्शन मात्रै बन्न लागेको छ,’ उनले भने, ‘यो त लोकतन्त्रको क्षयीकरण गर्ने अभ्यास हो । यस्ता अभ्यासहरूलाई हामीले रोक्नुपर्छ ।’ कांग्रेसमा अहिलेसम्म मूलतः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वका दुई शक्तिशाली गुट देशभरि वडा–वडासम्म फैलिएका छन् । त्यस्तै गुट खडा गरिरहेका छन् कृष्णप्रसाद सिटौलाले । यसबाहेक अन्य नेताले आ–आफ्नै उपगुट चलाएका छन् ।
को, कहाँ पराजित भए ?
आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल महाधिवेशन प्रतिनिधि नै बन्न सकेनन् । बागलुङ क्षेत्र १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भए । बागलुङका तत्कालीन सभापति दीपेन्द्रबहादुर थापा र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । हाल उनी सभापतिका आकांक्षी शेखर कोइरालाको राजनीतिक सहयोगीका रूपमा समेत कार्यरत छन् । आचार्य मोरङ क्षेत्र २ बाट उम्मेदवार थिए ।
सुर्खेतमा दुई मन्त्री र जिल्ला सभापति पराजित भए । महामन्त्री पूर्णबहादुर खड्काका उम्मेदवारहरूको प्यानलै निर्वाचित हुँदा जिल्ला सभापति कमलराज रेग्मी, पूर्वमन्त्रीद्वय खड्कबहादुर बस्याल र शिवराज जोशी महाधिवेशन प्रतिनिधि बन्न नसकेका हुन् । कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा, उपसभापति बन्धु राना र सचिव ईश्वरी जोशी पनि पराजित भएका छन् । कञ्चनपुरमा संस्थापन पक्षकै रमेश लेखक र एनपी सावदले छुट्टाछुट्टै गुट चलाएका छन् । बोहरा र राना पूर्वमन्त्री लेखकका विश्वासपात्र हुन् भने जोशी स्वकीय सचिव नै हुन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर पनि पराजित भएकी छन् । उनी पाल्पा–२ बाट प्रतिनिधिमा पराजित भएकी हुन् ।
