३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘उहाँहरू आफैं क्लियर हुनुहुन्‍न, हामीलाई जबर्जस्ती तान्‍न खोज्‍नुहुन्छ’

‘झूटा मुद्दा फिर्ताका विषयमा सरकारसँग कुरा भइरहेको छ । सरकार बनाउने विषयमा हामी तटस्थ छौं । कसैको पनि विरोध र समर्थन गर्दैनौं ।’
बिनु सुवेदी

काठमाडौँ — वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन ।

‘उहाँहरू आफैं क्लियर हुनुहुन्‍न, हामीलाई जबर्जस्ती तान्‍न खोज्‍नुहुन्छ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा महन्थ ठाकुरसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

तपाईं राजनीतिको केन्द्रमा देखिनुहुन्छ, छलफलहरू भइरहेका छन्, ती छलफल कसरी अगाडि बढेका छन् ?

अहिलेसम्म कुनै परिणाम आएको छैन, छलफल छलफलकै चरणमा मात्रै छन् ।

सरकार र सरकारबाहिरका नेताहरूसँगको समानान्तर छलफलमा कताको पल्ला भारी छ ?

सरकारसँग हाम्रा मुद्दामा केन्द्रित छौं । हाम्रा जनप्रतिनिधि, प्रदेश मन्त्री, केन्द्रीय सदस्यहरूमाथि मुद्दा छ, कतिपय तारिखमा छन्, कतिपय जेलमा छन् । रेशम चौधरीको मुद्दा सर्वोच्चमा छ । यी सबै विषयमा कुराकानी भएको छ । अहिले सरकारले मुद्दा फिर्ता लिन निर्देशिका तयार पारेको छ । हामीले त्यो भरेर सरकारलाई पठाउने हो । यी सबै मुद्दा टुंग्याऔं अनि बल्ल अरू विषयमा छलफल गरौंला भनिएको छ ।

अहिले सरकारसँग तपाईंहरूको संवाद मुद्दाकेन्द्रित हो कि अरू विषय पनि छन् ?

संविधान संशोधनको ड्राफ्ट आएपछि पश्चिमबाट आन्दोलन सुरु भयो । हामीले उठाएको जनआन्दोलनको एजेन्डा र अन्तरिम संविधानले स्वीकार गरेको व्यवस्थामा पनि सहमति भएन । हामीले उठाएको पहिचानको मुद्दा सम्बोधन गरिएन । त्यसपछि हामीले मधेसमा आन्दोलन उठायौं, धेरै मानिस सहिद भए । त्यसैले हाम्रो ध्यान नै त्यता छ ।

कांग्रेस र माओवादी नेताहरूसँग पनि तपाईं संवादमै हुनुहुन्छ । त्यतातिरको संवाद कस्तो चलिरहेको छ ?

नेताहरूसँग कुरा भएको छ । अहिले पनि कतिपय नेताहरूले कुराकानी गर्न समय माग्नुभएको छ । हिजो (आइतबार) रामचन्द्रजी आउनुभएको थियो । त्यस्तै प्रचण्डजीसँग पनि कुराकानी भएको छ । हाम्रो जुन एजेन्डा छ, त्यो सम्बोधन नभएसम्म चाहे वर्तमान सरकारसँग होस् वा गठबन्धनको सरकारसँग होस्, हामी जाने कुरा हुँदैन । उहाँहरूमा क्लियारिटी छैन ।

माओवादी केन्द्र आफूचाहिँ सरकारलाई समर्थन गरिरहेको छ, कांग्रेसका सभापति शेरबहादुर देउवाजीले कुनै किसिमको अविश्वासको समर्थन पनि गर्दैनौं, प्रधानमन्त्री बन्ने अफर आयो भने म विचार गर्छु भन्नुभयो । उहाँले जान्छु पनि भन्नुभएन, विचार गर्छु भन्नुभयो । अस्ति नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भयो रे भन्ने सुनें । नेपाली कांग्रेसमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने खुलेको छैन । उहाँहरूले

आफ्नो बाटो क्लियर गर्नुभएको छैन तर हामीलाई त्यता तान्नुहुन्छ । त्यसकारण हामी त्यता जाने परिस्थिति बनेको छैन ।

तपाईंहरूको एजेन्डा सम्बोधन गर्न त एमालेभन्दा कांग्रेस–माओवादी नै सजिलो होइन र ?

हाम्रा एजेन्डाहरूमा सुशील कोइरालादेखि यताका सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ तर त्यो लागू भएन । उहाँहरू सबैजना मधेसका मुद्दामा सकारात्मक हुनुहुन्न ।

अहिले यो राजनीतिक गञ्जागोलका विषयमा तपाईंलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा पनि हेरिएको छ नि ।

त्यो त मैले तपाईंहरूको मुखबाट सुनेको छु, बुद्धिजीवीहरू र शुभचिन्तकको मुखबाट सुनेको छु । अहिले त म सबैलाई सद्भावका लागि धन्यवाद दिन्न चाहन्छु ।

खास कुराचाहिँ के रै’छ, तपाईंको मुखबाट सुनौं न ।

हाम्रो दलमा अहिले त्यो विषयमा कुरा सुरु भइसकेको छैन । भेटघाट गर्न आउनेहरूले भन्नुहुन्छ ।

यही सरकारसँग संवाद अघि बढाउने भन्ने र यो सरकारसँग संवाद हुन्न भन्ने तपाईंहरूको पार्टीको दुई लाइन संघर्षले झन् अलमल भयो नि होइन ?

मलाई लाग्छ, तपाईंहरूले सुनेको जस्तो अप्ठ्यारो छैन । हामी चारैजना मिलेर गएर ओलीजीसित कुरा गरेको हो । भट्टराईजी अस्वस्थ भएकाले जान पाउनुभएन । प्रधानमन्त्रीजीले दुइटा प्रस्ताव आफ्नोतर्फबाट ल्याउनुभयो– म राजीनामा गर्दिनँ ।

अविश्वासको प्रस्ताव आयो र विश्वासको मत प्राप्त गर्नुपर्ने भयो भने संसद् फेस गर्छु । संसद्‍मा मेरो पक्षमा मत आएन भने म ताजा जनादेशमा जान्छु भन्नुभयो । उहाँले हाम्रो अगाडि तीनवटा अप्सन राख्नुभएको थियो– तपाईंहरू सरकारमा आउनुस्, हामी मिलेर जाऔं । नआए बाहिरबाट समर्थन गर्नुस् । त्यो पनि भएन भने न्युट्रल रहनुस् । हामी अहिले सरकारको मामिलामा कसैको विरोधमा पनि छैनौं, कसैको समर्थनमा पनि छैनौं ।

प्रधानमन्त्री ओली र तपाईंको राजनीतिक लाइन त एकदमै फरक हो, कसरी नजिक हुनुभयो ?

मानिसमा परिवर्तन पनि हुँदो रहेछ । ठीक छ, उहाँ मधेसका मुद्दामा विरोधी हुनुहुन्थ्यो, हामीप्रति अनुदार हुनुहुन्थ्यो, जेसुकै हुनुहुन्थ्यो तर अहिले उहाँले नै प्रक्रियालाई अघि बढाउनुभएको छ । हाम्रा मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीज्यू सकारात्मक देखिनुभएको छ । हामीले त उहाँलाई बहिष्कार नै गरेका थियौं तर कतिपय हाम्रा साथीहरू सरकार बन्नासाथ जानुभएको पनि थियो ।

हामीलाई पनि सुरुदेखि नै सरकारमा आउनुस् भन्नुभएको थियो, हामीले समर्थन पनि गरेका थियौं किनकि संविधान जुन दिन घोषणा भयो, त्यो दिन उहाँहरूले संशोधन गर्ने पनि भन्नुभएको थियो । तर, त्यही दिन धर्नामा बसेका हाम्रा कार्यकर्तालाई गोली चलाएर मारियो । त्यो कुरा याद गर्दा वास्तवमा हाम्रो गला अवरुद्ध हुन्छ ।

टीकापुरमा पछि थारूहरूको घर जलाइयो, बेइज्जत गरियो । त्यो बेला गृह मन्त्रालयले बाहिरिया आएर घटना गरे भनिएको थियो, त्यसले हामीलाई अझै पीडा दिन्छ । तर, यो इतिहास भइसकेको कुरा हो । याद गरेर हामीलाई पछुताउनु सिवाय अरू केही छैन । नयाँ ढंगले अघि बढौं । वास्तविकता स्वीकारौं भनिएको हो ।

भनेपछि प्रधानमन्त्री ओलीसँगै सहकार्य हुन्छ ?

झूटा मुद्दा फिर्ताका विषयमा सरकारसँग कुरा भइरहेको छ । सरकार बनाउने विषयमा हामी तटस्थ छौं । कसैको पनि विरोध र समर्थन गर्दैनौं ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र २४, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?