कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ठाकुरलाई फकाउँदै कांग्रेस र माओवादी केन्द्र

महतो भन्छन्– ‘संसद्‍मा पहिला अविश्वास वा विश्वासको मतको प्रस्ताव आओस्, त्यसपछि हामी निर्णय लिन्छौं’
देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस निर्णयप्रति ठाकुरको चित्त दुखाइ

काठमाडौँ — वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् ।

ठाकुरलाई फकाउँदै कांग्रेस र माओवादी केन्द्र

जसपाभित्रै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई भने बिनासर्त ओलीको विकल्प खोज्न तयार छन् । कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र कांग्रेस नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय लिएको दुई दिनपछि वरिष्ठ नेता पौडेलले जसपा अध्यक्ष ठाकुरसँग आइतबार उनकै निवासमा गएर कुराकानी गरेका थिए । स्रोतका अनुसार ठाकुरले सरकार निर्माणका सन्दर्भमा पुरानै कुरा दोहोर्‍याएका छन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको निर्णयप्रति नै उनले चित्त दुखाएका थिए । जसपाले समेत नेतृत्व दाबी गरिरहेका बेला कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भनी गरेको निर्णयले वातावरण बिथोलिएको भनाइ ठाकुरले राखेका थिए । पौडेलले त्यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्दै समझदारीमा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकिने बताएका थिए ।

ठाकुरले निलम्बित सांसद रेशम चौधरीलगायत नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको विषय उठाएका थिए । सरकारबाट हुने काम प्रधानमन्त्रीले कसरी अघि बढाउँछन् र संविधान संशोधनमा कांग्रेस र माओवादीको भूमिका के हुन्छ भन्नेबारे आफूहरूले हेरिरहेको धारणा उनले राखेका थिए । पौडेलले भने ठाकुरसँगको छलफल नकारात्मक नभएको बताए । ‘ठाकुरजी सकारात्मक नै हुनुहुन्छ, उहाँको बाहिर आएजस्तो कुनै असन्तुष्टि छैन,’ कान्तिपुरसँग पौडेलले भने, ‘केही कुराहरू उहाँले अघि सार्नुभएको छ । के–के गर्ने भन्नेबारे अर्को चरणमा कुराकानी गर्छौं ।’

नेतृत्वका लागि अघि सारिएका देउवा आफैंले भने पहलकदमी अझै लिएका छैनन् । अनौपचारिक रूपमा उनले पौडेललाई जसपाका नेताहरूसँग कुराकानी गर्न जिम्मेवारी दिएका छन् । ‘जसपा वैकल्पिक सरकारका लागि तयारी अवस्थामा आउने संकेत मिलेको भए देउवाले सरकार निर्माणका विषयमा आफैं डिल गर्थे,’ कांग्रेसका एक नेताले भने, ‘तर अझै सभापतिजीलाई ओलीको विकल्पमा सरकार बन्ने विश्वास छैन ।’

कांग्रेस र माओवादी तयार भए पनि जसपाको सिंगो समर्थन नजुटेसम्म सरकार बन्ने अंकगणित पुग्दैन । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसद्मा अविश्वास वा विश्वासको मतको प्रस्ताव नआएसम्म जसपाले यो वा त्यो पक्षमा जाने भन्ने निर्णय लिन नसक्ने बताए । ‘हाम्रो एजेन्डा सत्ताको छैन, मुद्दालाई प्राथमिकता दिएका छौं, मुद्दाको विषयमा कसले कस्तो भूमिका खेल्छ, त्यसलाई हामीले हेरिरहेका छौं,’ महतोले भने, ‘तर संसद्मा अविश्वास वा विश्वासको मतको प्रस्ताव आयो भने हामी पनि एउटा निर्णयमा पुग्नुपर्ने हुन्छ । त्यस्तो स्थिति आएको छैन । हावाको भरमा जसपाले निर्णय लिँदैन ।’

उनले कांग्रेसलाई अविश्वासको प्रस्ताव ल्याउन र माओवादीलाई सरकारको समर्थन फिर्ता लिन चुनौती दिए । ‘कांग्रेसले अविश्वास प्रस्ताव ल्याएको छैन, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । यस्तो अवस्थामा सरकार बहुमत प्राप्त छ । प्रधानमन्त्रीको कुर्सी खाली छैन । पहिला त कुर्सी खाली हुनुपर्छ नि, कुर्सी नै खाली नभई कसको सरकार बनाउने, को प्रधानमन्त्री हुने भनेर निर्णय लिने ?’ उनले भने, ‘कांग्रेसले राजीनामा मागिरहेको छ । प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिन्छु भनिरहेका छन् । माओवादी समर्थन फिर्ता लिन खोज्दैन । यो नौटंकी भएन र ? पहिला त कांग्रेस र माओवादीको अवस्था प्रस्ट हुनुपर्छ ।’

वैकल्पिक सरकारको सुनिश्चितता नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी डराइरहेको छ । समर्थन फिर्ता लिने कदमले प्रधानमन्त्री ओलीलाई फेरि प्रतिनिधिसभाको विघटन गर्ने बाटो खुल्ने उसको बुझाइ छ । माओवादीले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाएनन् भने प्रधानमन्त्रीबाट ओली पदमुक्त हुन्छन् तर त्यसपछि बन्ने सरकारको प्रधानमन्त्रीमा पनि ओली नै आउने देखिन्छ ।

संविधानको धारा ७६ (३) अनुसार गठबन्धनको सरकारले विश्वासको मत लिन सकेन भने संसद्मा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । राष्ट्रपतिले त्यतिबेला गठबन्धन सरकारका लागि मौका नदिईकनै सिधै ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्रीमा नियुक्ति दिन सक्छिन् ।

अल्पमतको सरकारले पनि विश्वासको मत लिन नसकेपछि ओलीले सिधै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने बाटो लिने नेताहरू बताउँछन् । त्यसैकारण माओवादीले कांग्रेस र जसपासँग समझदारी बनाएर अविश्वास प्रस्ताव र समर्थन फिर्ताको कदम सँगै अघि बढाउने रणनीति बनाएको हो तर जसपाको ठाकुर–महतो पक्ष तयार नभएपछि माओवादी अहिले अप्ठ्यारोमा परेको छ ।

प्रकाशित : चैत्र २३, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?