गेटामा यसै वर्षदेखि एमबीबीएस पढाई

विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा शिक्षा सञ्चालन गर्ने र गेटा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सरकारको घोषणाले अब गेटामा एमबीबीएस अध्ययन/अध्यापन सुरु हुने स्पष्ट भएको हो ।

जेष्ठ १५, २०८३

अर्जुन शाह

MBBS studies in Geta from this year

धनगढी — सरकारले यसै आर्थिक वर्षदेखि कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चारवटा विधामा अध्ययन/अध्यापन सुरु गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा त्यसबारे उल्लेख गरेका हुन् । 

विश्वविद्यालयले यसै वर्षदेखि चिकित्सा शिक्षा सञ्चालन गर्ने र गेटा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सरकारको घोषणाले अब गेटामा एमबीबीएस अध्ययन/अध्यापन सुरु हुने स्पष्ट भएको हो । यसअघि विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगसमक्ष ५० जना एमबीबीएस, ३० बीएस्सी नर्सिङ, २० मेडिकल ल्याब टेक्नोलोजी २० र बीएस्सी अप्टोमेटरीमा २० सिट अध्ययन अध्यापनका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको थियो ।  

साथै, विश्वविद्यालयभित्र सञ्चालनमा रहेको ५० शय्याको अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरिएको थियो । अस्पताल र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५८ करोड बजेट माग गरेको विश्वविद्यालय प्रशासनले जनाएको थियो । 

विश्वविद्यालयले फागुन महिनामै शैक्षिक जनशक्तिका लागि करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक नियुक्त गर्न प्रक्रिया सुरु गरिसकेको थियो । जसअन्तर्गत फिजियोलोजी, प्याथोलोजी, ईएनटी, जनरल सर्जरी, एनेस्थेरियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन, फार्माकोलोजीलगायत विषयका जनशक्ति पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको थियो ।

बजेट ०८३/८४

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully