प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच छलफल

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Discussion between Prime Minister Oli and protesting teacher representative

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले १७ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासघंका प्रतिनिधिसँग शुक्रबार साँझ छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफलकेन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी छन् । विद्यालय शिक्षा विधेयक २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर शैक्षिक हडतालसहित आन्दोलित शिक्षकले यसअघि शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् ।

चैत २० देखि जारी आन्दोलनले देशभरका विद्यालयमा विद्यार्थी भर्ना, कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण अनिश्चित बन्दै गएको छ । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए । त्यसयता पनि सरकारी पक्ष र आन्दोलनरत शिक्षकबीच अनौपचारिक छलफल भए पनि औपचारिक वार्ता भने हुन सकेको छैन ।

गत वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले संसदको शिक्षा, स्वास्थ्य समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्‌को अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको बोलाउने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो । तर शिक्षकहरुले शैक्षिक गतिविधिमा संलग्न नहुने घोषणा गरेका छन् । विधेयक समिति अन्तर्गतको उपसमितिमा दफाबार छलफलमा छ । शिक्षकहरुले विगतमा भएका सहमतिअनुसार उक्त विधेयक पारित भएपछि मात्र कक्षाकोठामा फर्कने बताएका छन् ।

शिक्षक आन्दाेलन

कान्तिपुर

Link copied successfully