शिक्षक आन्दोलन : भजनदेखि दोहोरीसम्म

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका शिक्षक गत चैत २० देखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा त छन् नै, सडकमा उनीहरू दिनभर देउडा भाकामा नाच्छन्, भजन गाउँछन् त कोही टिकटकका लागि विभिन्न हाउभाउमा अभिनय गरिरहेका भेटिन्छन्

वैशाख ५, २०८२

आरती पौडेल, अभिषेक अधिकारी

Teacher Movement: From Hymns to Dohris

काठमाडौँ — गोठालाले घाँस काटेको, पारि वनका मेला नेताले अत्याचार गर्‍यो, ऐन लेखन्या बेला...

देउडा भाकामार्फत कञ्चनपुरबाट आएका शिक्षकको एक समूहले माइतीघर–बानेश्वरको बीच सडकमा सरकारलाई आफ्ना माग राख्दै थिए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै काठमाडौंकेन्द्रित सडक आन्दोलनमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देउडामार्फत नै भन्दै थिए–

ऐन त जारी गर्नैपर्छ अनि नियमावली

कार्यविधि कस्तो आउँछ, पर्खेका छौं ओली...

‘आन्दोलनमा आएका छौं । शिक्षक भएका कारणले अराजक गतिविधि गर्न चाहन्नौं,’ देउडामा सहभागी शिक्षक तोयाराज जोशीले भने, ‘देउडामार्फत सरकारलाई खबरदारी गर्दै छौं । यो राज्यलाई हाम्रो माग पूरा गर्देऊ भनेका छौं ।’

Teacher Movement: From Hymns to Dohris

देउडाको भाकामा स्वर मिलाउनेमा सुदूरपश्चिमको कञ्चनपुरबाट आएका शिक्षक मात्र थिएनन् । अन्य जिल्लाका शिक्षक पनि हातेमालो गर्दै तालमा ताल मिलाएर देउडा गाउँदै थिए । ‘आन्दोलनमा हाम्रो रमाइलोसँग समय बितेको छ । सँगै आफ्ना मागहरू पनि आफ्नै संस्कृतिअनुसार राखेका छौं,’ जोशीले भने । सोही सडकको अर्को छेउमा सिन्धुलीका शिक्षक भने भजनमार्फत आफ्नो माग राखिरहेका थिए । 

सरकार अघि नसरे, माग पूरा नभए

जाँदै जान्नौं, 

हरे राम...

शिक्षा ऐन जारी गर्देऊ न...

यही गीतमा नाच्दै गरेकी प्राथमिक तहकी शिक्षक शान्ता बाँस्तोलाका अनुसार आन्दोलनका क्रममा शिक्षकहरूले प्रस्तुत गरिरहेको कलामा उनीहरूको मर्म पनि देखिने गरेको छ ।

‘कलाभित्र हरेक मर्म लुकेका हुन्छन् । गीतभित्र शिक्षा रहेको हुन्छ । यो आन्दोलनमा हामी ढुंगामुढा गर्न चाहेका छैनौं । गोली–बारुद हान्न चाहेका छैनौं । शिक्षक कलाकार पनि हुन्,’ उनले भनिन् । उनी तनहुँको चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयकी प्रावि तहकी शिक्षक हुन् । कलामार्फत सरकारसमक्ष शिक्षकको माग राखेको उनले सुनाइन् । 

शिक्षकहरू गत चैत २० देखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । बाँस्तोलाले भनेको जस्तै यो आन्दोलनको शैली भने फरक छ । बिहीबारको सडकको दृश्यले आन्दोलन नभई मेला/महोत्सवको झल्को दिइरहेको थियो ।

किनभने कक्षाकोठामा विद्यार्थीलाई पढाउने शिक्षकले आफूले जानेका विभिन्न कला प्रस्तुत गरेर आन्दोलनमा सशक्त सहभागिताका साथै मन भुलाउने मेलो बनाएका देखिन्थे । आन्दोलनमा सहभागी कोही शिक्षक आफ्नो ठाउँको पहिचानसहितका संस्कृतिअनुसार मादल र बाजा बजाउँदै गीत, भजनमा नाच्दै थिए । कोही शिक्षक कविता, गजल र मुक्तक वाचनमा व्यस्त थिए । 

Teacher Movement: From Hymns to Dohris

पर्साका शिक्षक देवेन्द्रप्रसाद शाहले आफ्नो जादुमार्फत आन्दोलनमा सहभागीलाई मनोरञ्जन प्रदान गर्दा कोही सामाजिक सञ्जालका लागि फोटो, भिडियो बनाउन व्यस्त थिए । स्पिकरमा ठूलो आवाजमा गीत बजाएर समूहमा नाच्नेदेखि आफ्नो माग प्रस्तुत गर्दै नाराबाजी गर्नेहरू आन्दोलनमा भेटिए ।

यी शिक्षक आन्दोलन झट्ट हेर्दा विद्यालयको अतिरिक्त कक्षाजस्तो अनुभूत हुन्थ्यो । जहाँ आन्दोलन कला मात्र नभएर प्रयोगात्मक विज्ञान प्रदर्शन गर्ने माध्यमसमेत भएको छ । जहाँ विज्ञान पढाउने शिक्षकले ‘वाटर रकेट’ प्रदर्शन गरेका थिए । प्रयोगात्मक शिक्षालाई प्रोत्साहन गर्न विज्ञानका शिक्षकले उक्त रकेट आकाशमा उडाएको बताउँदै थिए । 

आन्दोलन लम्बिएसँगै शिक्षक बिरामीसमेत हुन थालेका छन् । तर आफ्नो माग पूरा नभए कक्षामा नफर्किने अडानमा रहेको शिक्षक बाँस्तोलाको भनाइ छ । ‘काठमाडौंको हावापानीमा घुलमिल हुन हामीलाई गाह्रो भएको छ,’ उनी भन्छिन्, ‘म आफैं बिरामी भएको छु । तर आफ्नो माग पूरा गर्नु छ ।’ 

Teacher Movement: From Hymns to Dohris

मोरङ, आदर्श माध्यमिक विद्यालयका शिक्षक विश्वम्भर सिंह मेहावाङ सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छन् । उनले शिक्षकका मागहरू सामाजिक सञ्जालमार्फत राख्दै आएको सुनाए । ‘पञ्चायतकालीन शिक्षा खारेज गरेर संघीय प्रणालीअन्तर्गतको शिक्षा ऐनको माग गर्दा पनि आन्दोलनलाई बेवास्ता गर्नु दुःखद छ,’ मेवाहाङले थपे ।

यसैगरी आन्दोलनमा सहभागीमध्ये शिक्षक सञ्जिता कार्कीले काठमाडौंबाहिरबाट आएका शिक्षकलाई अब बस्न, खान नै समस्या पर्न थालेको सुनाइन् । ‘म नवलपुरको गौतम आधारभूत विद्यालयमा पढाउँछु । तर म शिक्षकको मागका लागि काठमाडौं आएकी हुँ । शिक्षकको माग सरकारले सम्बोधन गर्ने निश्चित छैन । आन्दोलन लम्बिएसँगै काठमाडौं बाहिरबाट आएको शिक्षकलाई बस्न समस्या भएको छ,’ उनले सुनाइन् ।

मोरङको दुर्गा आधारभूत विद्यालयका शिक्षक यदुकुमार लुइँटेल सडकमा दिनभर कविता सुनाउँछन् । उनी होटलमा बसेर आन्दोलनमा सहभागी भएका छन् । ‘बसाइको कुनै टुंगो छैन । सरकारले हाम्रा माग कहिले सम्बोधन गर्ने हो, थाहा छैन,’ उनले भने, ‘तर माग सम्बोधन नभएसम्म आन्दोलन रोकिन्न ।’

आन्दोलनमा नवलपरासीका शिक्षक समूह नारा लगाउँदै माइतीघर सडकमा हिँड्दै थिए । ‘चैते दसैं मनाइयो सडकैमा बसेर, नयाँ वर्ष मनाइयो सडकैमा बसेर,’ उनीहरूको नारा थियो, ‘सोह्र दिन बितायौं सडकैमा बसेर, महिनौं दिन बिताउँला सडकैमा बसेर । शिक्षकहरू के भन्छन् ? शिक्षा ऐन ले भन्छन् ।’ 

Teacher Movement: From Hymns to Dohris

नेपाल शिक्षक महासंघ तनहुँका शिक्षक पञ्चैबाजासँगै नाच्दै आफ्नो माग राखिरहेका थिए । ‘शासन व्यवस्था फेरियो तर सरकारले शिक्षा दिने शिक्षकको मर्का बुझेन,’ कालीगंगा माध्यमिक विद्यालय देवघाट तनहुँका शिक्षक बमबहादुर आलेले भने, ‘आवश्यक ऐन बनाउन पनि सरकारले चासो दिएन ।’

गणेश आधारभूत विद्यालय भक्तपुरमा अध्यापन गराउँदै आएका शिक्षक विनोदकुमार केसीले पनि सरकारले आफ्नो कर्तव्य बिर्सिएको बताए । सरकारलाई प्रश्न गर्दै उनले भने, ‘शिक्षकसँग वार्ता गर्न सरकार किन हिचकिचाउँछ ?’ धादिङ बेनिघाट, महाकाली माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र लामाले सरकार शिक्षकको माग सुन्न तयार नभएको गुनासो पोखे । 

दिउँसो ११ बजेदेखि शिक्षक माइतीघर मण्डलमा भेला हुन्छन् र ३ बजेसम्म जारी राख्छन् । आन्दोलन सकिएसँगै उनीहरू पानीको बोतल, सडक छेउको फोहोर टिप्छन् । टिपेको फोहोर काठमाडौं महानगरपालिकाले उठाएर लैजान्छ । शिक्षकले आफ्नो फोहोर आफैंले सफा गरेपछि महानगरका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जामार्फत प्रशंसासमेत गरेका थिए । 

विगत ३० वर्षदेखि पढाइरहेका गुल्मीका शिक्षक पोसकान्त न्यौपानेले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दा पनि कुनै सुनुवाइ नगरेको गुनासो गरे । ‘हामीले आन्दोलन शान्तिपूर्ण तरिकाले गरिरहेका छौं । हाम्रो माग ठूलो छैन । देशमा संघीयता आएको धेरै वर्ष भइसक्यो तर शिक्षकहरूको माग कहिल्यै पूरा भएन,’ उनले भने ।

सरकारले शिक्षकको माग पूरा नगर्दा भने उनी निराश छन् । ‘यही पेसामा लागेको तीसौं वर्ष भयो । यो प्रणालीसँग सन्तुष्ट छैनौं । हामी आन्दोलनमा आएको यतिका दिनसम्म पनि सरकारले सुनेको र देखेको छैन,’ उनले भने, ‘सरकारले छिटो सुनोस् र हाम्रो माग पूरा गरोस् ।’

किन आन्दोलनमा छन् शिक्षक ?

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन थालिएको हो । यद्यपि शिक्षकहरूले भने ‘आफूअनुकूल’ विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

संविधानले व्यवस्था गरेविपरीत शिक्षक स्थानीय तह मातहत नबस्ने उनीहरूको ‘अदृश्य तर प्रमुख माग’ रहेको छ । विद्यालय शिक्षा विधेयक २०८० भदौमा संसद्मा दर्ता भएपछि असोजमा शिक्षकहरूले काठमाडौंकेन्द्रित प्रदर्शन गरेका थिए । त्यतिबेला सरकारले माग पूरा गर्ने सहमति गरेसँगै शिक्षकहरू ३ दिने प्रदर्शन स्थगित गरेर विद्यालय फर्केका थिए ।

Teacher Movement: From Hymns to Dohris

१८ महिनासम्म पनि विधेयक अघि नबढेको भन्दै शिक्षकहरूले पुनः काठमाडौंकेन्द्रित आन्दोलन गरेका हुन् । आन्दोलनका कारण एसईईको नतिजा र कक्षा १२ को परीक्षा प्रभावित हुने निश्चित भएको छ । यसैमा राष्ट्रिय परीक्षा बोर्डले वैशाख ३ मा शिक्षकलाई पेसागत उत्तरदायित्वका रूपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । –प्रशिक्षार्थी

शिक्षक आन्दाेलन

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

अभिषेक

Link copied successfully