काठमाडौँ — माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरतिर गीत गाउँदै, नाच्दै र अनेकन मागहरु राख्दै शिक्षकहरुले आन्दोलन थालेको ठ्याक्कै १६ दिन भयो । बिहीबार पनि उनीहरु नारा लगाउँदै थिए, ‘हामी हार खाँदैनौं शिक्षा ऐन नलिई जाँदैनौँ ।’
नेपाल शिक्षक महासंघले नयाँ शिक्षा ऐन बनाउन सरकारले ढिलाई गरेको भन्दै २०८१ चैत २० गतेदेखि अनेकन स्वरुपमा आन्दोलन जारी राखेको छ । फरक फरक किसिमका नाचगान, कविता वाचन, संगीतमार्फत उनीहरुले आफ्ना माग र मुद्दाहरु सरकारलाई सुनाइरहेका छन् । बुधबार झापा पुगेका सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरुका माग पूरा गर्न नसकिने अभिव्यक्ति दिएपछि शिक्षक झनै धेरै शसंकित छन् ।
नेपाल शिक्षक महासंघ तनहुँका टोलीले पन्चेबाजा सहितको प्रस्तुति गरिरहँदा कालीगंगा माध्यमिक विद्यालय देबघाट तनहुँका शिक्षक बमबहादुर आले आजै मात्र आफू काठमाडौँ आएको बताए । उनी दमौलीमाट बिहान हिँडेर दिउँसोको २ बजे आइपुगेका थिए । शासन व्यवस्था फेरियो तर सरकारले शिक्षा दिने शिक्षकको मर्का नबुझेको उनी बताउँछन् । उनी भन्छन् , ‘अहिलेको परिवेश अनुसार सरकारले गति लिन सकिरहेको छैन ।’
सामाजिक संजाल टिकटकबाट समसामयिक घटना, शिक्षा, राजनीति, जीवनी सिकाउने अर्का उदाहरणीय पात्रका रुपमा परिचित शिक्षक हुन् विश्वम्भर सिंह मेहावाङ । मोरङ जिल्लाको रङ्गेलीमा अवस्थित आदर्श माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका मेहावाङले सरकारप्रति असन्तुष्टि जनाउँदै भने राज्यले शिक्षकलाई चिन्न नसक्नु दुखद् पक्ष रहेको बताए ।
‘हाम्रो माग भनेको पन्चायतकालीन शिक्षा खारेज हुनुपर्यो अर्को संघीय प्रणाली अन्तर्गतको शिक्षा ऐन आउन पर्यो,’ उनले भने । उनले अहिले भएका १८ थरी शिक्षकहरुलाई एकैथरी बनाउन आफूहरुले आन्दोलन थालेको बताए । उनले भने, ‘सरकारले नचाहेरै यो विधेयकलाई रोक्न खोजेको छ त्यसैमाथि सभामुखले समेत अहिले नै ऐन बन्दैन भन्नु दु:खलाग्दो ।’
बिजुलीबजारमा अवस्थित आर्क ब्रिजमा फूलसँग फोटो खिच्दै गरेकी नवलपुर जिल्ला घर भई श्री गौतम आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिका संजीता कार्की काठमाडौँ आएको पाँच दिन भएको बताइन् । उनी अहिले भने साथीहरुसँग कीर्तिपुरमा बस्दै आएकी छन् ।
‘खानबस्नलाई भने अन्य सरहरुलाई अलि अठ्यारो परेको छ,’ उनी भन्छिन् । उनी भन्छिन्, ‘यस्तो दु:ख पर्दासमेत सरकारले कानमा तेल हालेर बस्नु दुखद्’ । उनले आन्दोलन भन्ने बित्तिकै तोडफोड गर्ने ढुंगा हान्ने भन्ने सोचाई भन्दा आफूहरुको आन्दोलन फरक रहे पनि सरकारले सुन्न नखोजिरहेको बताइन् ।
कवितामार्फत आफ्नो प्रस्तुति दिएर सरकारलाई खबरदारी गर्ने अर्का शिक्षक थिए यदुकुमार लुइँटेल । उनी दुर्गा आधारभूत विद्यालय ग्रामथाम २ मोरङमा अध्यापन गराउँछन् । आफूहरु अहिले होटलमा बसेको उनले बताउँदै उनले भने, ‘शिक्षा ऐन समयसापेक्ष संशोधन आवश्यक छ, गणतन्त्र साँच्चै आएको हो र शिक्षा जीवनउपयोगी बनाउने हो भने यसमा सुधार हुनुपर्छ । यसले मात्र संशोधनको अनुभूति दिलाउँछ, लुइँटेल बताउँछन् ।
श्री गणेश आधारभूत विद्यालय भक्तपुरमा अध्यापन गराउँदै आएका शिक्षक विनोदकुमार केसीले पनि सरकारले आफ्नो कर्तव्य बिर्सिएको बताए । व्यंग्यात्मक तरिकाले उनले आफू एकातिर तर सरकार खोई भन्दै आफ्नो भनाइ व्यक्त गरेका थिए ।
उनले भने, ‘शिक्षकहरुसँग वार्ता गर्न किन हिचकिचाहट ? शिक्षा ऐन आजको आवश्यकता’ । धादिङ बेनिघाटमा अवस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक उपेन्द्र लामाले आन्दोलन कति दिन लम्बिन्छ त्यसको कुनै टुंगो नभएको बताए । भने, ‘नयाँ शिक्षा ऐन ल्याउनसमेत सरकार अझैसम्म तयार छैन ।’
(अभिषेक अधिकारी । प्रशिक्षार्थी)
