जम्मु–कश्मीरको पाहलगाममा आतंकवादीको आक्रमणमा कम्तीमा २४ पर्यटक मारिए

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

At least 24 tourists were killed in a terrorist attack in Jammu and Kashmir's Pahalgam

श्रीनगर — भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । यो घटना विगत केही वर्षयता नागरिकमाथि भएको ठूलो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटक माथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटनाको’ भएको बताउँदै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् । 

जम्मु–कश्मीर मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो घटना भएको बताएका छन् । घटना लगत्तै गृहमन्त्री अमित शाह त्यसतर्फ प्रस्थान गरिसकेका छन् । घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ । 

विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् ।

सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

कान्तिपुर

Link copied successfully