जम्मू-कश्मीर आतंकवादी हमला : को हुन् आक्रमणकारी ?

वैशाख १०, २०८२

एजेन्सी

Jammu and Kashmir terrorist attack: Who are the attackers?

काठमाडौँ — भारतीय अधिकारीहरूले जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण गर्ने तीन संदिग्धको पहिचान गरेका छन् । भारतीय अधिकारीले घटनामा बाँच्न सफल भएकाको सहयोगमा तीन संदिग्धको स्केचसमेत तयार पारेका छन् । 

आक्रमणकारीहरू आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले जनाएको छ । पीटीआईका अनुसार उनीहरूको उपनाम मुसा, युनुस र आसिफ हो । 

जम्मू-कश्मीरको पहलगाममा मंगलबार गरिएको आतंकवादी आक्रमणमा बुटवलका युवा सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको हो । मारिनेमध्ये र बिटन अधकेरी उधवानी कुमार संयुक्त अरब इमिरेट्सका नागरिक हुन् । अन्य मृतकहरू भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक हुन् । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार आतंकवादीले पर्यटकरूको नाम सोधेपछि गोली प्रहार गरेका थिए ।उत्तर प्रदेशका सुभम द्विवेदीसँग आक्रमणकारीले नाम सोधेको र पछि गोली प्रहार गरेको बताइएको छ । त्यसपछि भने अन्य पर्यटकमाथि पनि गोली हानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

आक्रमणकारीहरू जम्मूको किश्तवाडबाट सीमा पार गरेर दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेको बताइएको छ । भारतीय अधिकारीहरूका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लश्कर-ए-तैयबा (एलईटी) को छायाँ संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ ।

जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ । 

आक्रमणपछि भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले घटनास्थलको अवलोकन गरेका छन् । मंगलबार नै कश्मीरको सबैभन्दा ठूलो सहर श्रीनगर पुगेका शाहले सुरक्षा अवस्थाबारे आपत्कालीन बैठक राखेका थिए । 

साउदी अरबमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि भ्रमण छोट्याएर बुधबार बिहानै भारत फर्केका छन् । मोदीले सामाजिक सञ्जाल 'एक्स'मा हमलाको कडा शब्दमा निन्दा गरेका छन् । ‘आतंकवादविरुद्ध हाम्रो अठोट डगमगाउँदैन र यो अझै बलियो हुन्छ,’ उनले लेखेका छन् ।

अमेरिकी राष्ट्रपति डोनfल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनसहितका विश्व नेताहरूले घटनाको भर्त्सना गरेका छन् ।

एजेन्सी

Link copied successfully