आमा, बहिनी र ज्वाइँ लिएर घुम्न गएका सुदीप कश्मीरमा मारिए

वैशाख १०, २०८२

घनश्याम गौतम

Sudeep, who was traveling with his mother, sister and son-in-law, was killed in Kashmir

बुटवल — भारतको जम्मू-कश्मीरको पहलगाममा मंगलबार बन्दुकधारीहरूको आक्रमणमा मृत्यु भएका नेपाली बुटवलका भएको पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको खुलेको हो।

बुटवल उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले घटनामा आफ्नो भतिज सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि गरेका छन्। सुदीप र वडा अध्यक्ष न्यौपाने नातामा काका–भतिजा हुन्। उनी आमासँगै बुटवल उपमहानगरपालिका–११ कालिकानगरमा बस्दै आएका थिए।

'कश्मीरको घटनामा मृत्यु हुने मेरो भतिज हो,' उनले भने, 'आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहितको टोली शनिबार कश्मीर घुम्न गएका थिए।'

सुदीप धरानमा पब्लिक हेल्थमा स्नातक पढ्दै गरेका विद्यार्थी हुन्। वडा अध्यक्ष न्यौपानेका अनुसार सुदीपबाहेक तीनै जना सकुशल छन्। बाबु कौशल न्यौपाने घरमै छन्। उनी शिक्षक हुन्।

मृतक सुदीपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ। शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौँ ल्याउने तयारी भएकाले आफू अहिले काठमाडौँतर्फ हिँडेको वडा अध्यक्ष न्यौपानेले बताएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कश्मीरको पहलगाममा बन्दुकधारीको आक्रमणमा परेर मृत्यु हुने व्यक्ति बुटवल–१४ का २७ वर्षीय सुदीप न्यौपाने भएको जानकारी दिएका छन्।

जम्मू-कश्मीर

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully