कश्मीरमा आतंकवादी आक्रमण: एक नेपालीसहित २७ जना मारिए, नाम सोधेपछि गरेका थिए गोली प्रहार

वैशाख १०, २०८२

एजेन्सी

Terrorist attack in Kashmir: 27 people including a Nepali were killed, after asking their names, they opened fire

जम्मू–कश्मीर — भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा मारिनेको संख्या २७ पुगेको छ । घटना बेसारन घाँटीको क्षेत्रमा मंगलबार दिउँसो ३ बजे भएको थियो ।

दैनिक भास्करका अनुसार आतंकवादीले त्यहाँ रहेका पर्यटकहरुको सोधेपछि गोली प्रहार गरेका थिए । हालसम्म मारिने २७ जनामध्ये एक नेपालीसहित १७ जनाको नाम पुष्टि भएको छ । त्यसमा एक जना यूएईका नागरिक रहेका छन् । 

दैनिक भास्करका अनुसार नेपालका सुदीप न्यौपानेको उक्त आक्रमणमा परी मृत्यु भएको हो । यस्तै यूएईका बिटन अधकेरी उधवानी कुमारको पनि सोही आक्रमणमा मृत्यु भएको छ । 

उत्तर प्रदेशका सुभम द्विवेदीसँग नाम सोधेको र पछि गोली प्रहार गरेको बताइएको छ । त्यसपछि भने अन्य पर्यटकहरुमाथि पनि गोली हान्न सुरु गरियो ।

आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाको विङ्ग द रजिस्टेन्ट फ्रन्ट अर्थात् टीआरएफले लिएको छ । मर्नेमा उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिशाका पर्यटक रहेका छन् । 

यस्तै एक जना नेपाली र एक जना युएईका पर्यटकसँगै दुई स्थानीय रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरुमा पनि हाई अलर्ट जारी गरिएको छ । 

आक्रमणको जानकारी पाएलगत्तै भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह श्रीनगर पुगेका थिए । शाह आज पहलगाम जानसक्ने बताइएको छ । यता साउदी अरेबियामा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार बिहानै स्वदेश फर्किएका छन् । 

अमेरिका, इरान, रुस, इटाली र यूएईसहित अन्य देशले पहलगाम आक्रमको निन्दा गर्दै भारतको साथमा रहेको बताइएका छन् । 

आक्रमणमा मारिनेहरुको सूची

सुदीप न्यौपाने (नेपाल), बिटन अधकेरी अधवानी कुमार (यूएई), मनुज नाथ (कर्नाटक), शिवम मोगा (कर्नाटक), लेफ्टिनेन्ट विनय नरवाल  (हरियाणा), हिमांशी नरवाल (हरियाणा), शुभम द्विवेदी (यूपी), दिलीप डेसले (महाराष्ट्र), अतुल मोहने (महाराष्ट्र), सैयद हुसैन शाह (अनन्तनाग), दिन मिरानिया (छत्तिसगढ), मनीष रञ्जन (हैदराबाद), सञ्जय लेले, हिम्मत कलाथय, प्रशान्त कुमार, रामचन्द्रन, शलिन्दर कल्पिया । 

आक्रमणका बेला आतंकवादीहरु आर्मीको पोशाकमा आएका थिए । जसकारण आक्रमणपछि जवानहरु पुग्दा उनीहरुले आफूहरु भारतीय आर्मी रहेको प्रमाण दिनुपरेको थियो । 

जम्मू-कश्मीर

एजेन्सी

Link copied successfully