सन् १८६० मा आजकै दिन : अमेरिकी राष्ट्रपतिमा लिंकन
सन् १८६० मा आजकै दिन (नोभेम्बर ६) मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । लिंकन रिपब्लिकन पार्टीबाट १६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । १८६१ को मार्च ४ देखि जिम्मेवारी सम्हालेका लिंकन १८६५ अप्रिल १५ मा मृत्यु हुनुअघिसम्म अमेरिकाको राष्ट्रपति थिए ।
लिंकनमाथि १८६५ को अप्रिल १४ मा गोली प्रहार गरिएको थियो । अमेरिकाको राजधानी डीसीस्थित फोडर््स थिएटरमा ‘आवर अमेरिकन कजन’ नाटक हेर्न पुगेका लिंकनमाथि कलाकार जोन विल्क्स बुथले टाउकोमा गोली हानेका थिए । त्यसलगत्तै लिंकनलाई बचाउन ९ घण्टासम्म प्रयास गरिएको भए पनि त्यो असफल भएको थियो । अन्ततः लिंकनको अप्रिल १५ बिहान ७ बजेर २२ मिनेटमा निधन भएको थियो ।
लिंकनले गरेका सुधार तथा कतिपय निर्णयप्रति अभिनेता बुथलगायत समाजको एउटा वर्गमा ठूलो असन्तुष्टि थियो । जसका कारण योजनाबद्ध रूपमा उनको हत्या गरिएको थियो । विल्क्सको नेतृत्वमा सरकारका तीन प्रमुख व्यक्तित्वको सफाया गरेर कन्फेडरेट स्टेट अफ अमेरिका ब्युँताउन चाहन्थे । त्यसका लागि विदेशमन्त्री विलियम एच सेवार्डको हत्याका लागि लेविस पावल र डेभिड हेराल्डलाई स्क्रेटरी अफ स्टेट र उपराष्ट्रपति एन्ड्रु जोन्सनको हत्याका लागि जर्ज एटजरोड्टलाई जिम्मा दिइएको थियो । तर, उक्त योजना पूर्ण रूपमा भने सफल हुन सकेन । विदेशमन्त्री सेवार्ड घाइते भए भने जोन्सनको हत्या गर्ने जिम्मा पाएकाले साहस जुटाउन नसकेको बताइन्छ ।
लिंकनमाथि गोली प्रहार गरेपछि भागेका बुथ १२ दिनपछि प्रहरी कारबाहीमा मारिएका थिए । योजनामा संलग्न पावेल, हेराल्ड, एटजरोड्ट र मेरी सुराटलाई भने मृत्युदण्ड दिइएको थियो । लिंकनले अमेरिकाको संविधानबाट दास प्रथा हटाएर सबैलाई स्वतन्त्र बनाएका थिए । त्यसका साथै, उनकै विवेकसम्मत निर्णयका कारण गृहयुद्धका कारण विभाजनको संघारमा पुगेको अमेरिका एकीकृत नै रहृयो । संघीय सरकारलाई बलियो बनाउन र अमेरिकी अर्थतन्त्रलाई आधुनिकीकरण गर्न लिंकनले ठूलो भूमिका खेलेका थिए ।
प्रकाशित : कार्तिक २०, २०८० ०९:११