भरतपुरमा गीत र गजल

चितवन — जवानीको फाँटभरि,
पिरतीको रिमझिम झरी ।
झमझम गरी झर्दै झरी,
मायाको मूल फुट्ने गरी ।

गजल लेखनमा निकै सक्रिय नाम हो शीतल कादम्बनी । उनका गजलहरू रेकर्ड भएर बजारमा आउँदा रुचाउनेको संख्या पनि प्रशस्तै छन् । शिव परियारको स्वरमा रहेको माथिको ‘शेर’ उनै कादम्बनीले कोरेकी हुन् । शनिबार भरतपुरमा भने कादम्बनीले यो शेरसहित आफ्ना केही गजल आफैं गुनगुनाइन् । कादम्बनी मात्रै हैन उनीसँगै मञ्चमा बसेका थिए अन्य चार गजलकार । धेरै गजल उनै चार जनाले सुनाए ।
‘गीत, गजल र शीतल’ घोस्ट राइटिङ नेपालले चार वर्षदेखि काठमाडौंमा गर्दै आएको कार्यक्रम हो । जसको समन्वय शीतल कालम्बिनीले गर्छिन् । यो कार्यक्रमको १९ औं शृंखला ओम कार्की स्मृति साहित्य प्रतिष्ठानसँग मिलेर भरतपुरमा सम्पन्न भयो । जसमा अम्बिका कार्की, उषा तिवारी, प्रशान्त सागर र सरला जोशीले तीन चरणमा गरेर २४ गजल सुनाए । सरला जोशीले गजल सुनाएसँगै कार्यक्रमको सुरुवात भएको थियो ।
जोशीले सामाजिक दुरवस्थालाई चित्रण गर्दै गजल सुनाएपछि प्रशान्त सागरको पालो आयो । गजलहरू लेख्दै आए पनि प्रशान्त सार्वजनिक कार्यक्रममा खासै देखिँदैन थिए । सञ्चालक सुजता देवकोटाले उनलाई ‘गुमनाम गजलकार’ भने पनि प्रशान्तले सहमति नै जनाए । प्रशान्तले आफ्नो पहिलो गजलमा प्रेम वियोगको पीडा पोखे । त्यसपछि आफ्ना सुरुवाती दुई गजल लिएर आइन् उषा तिवारी । आफूले शृंगारिक गजल कमै लेख्ने गरेको बताउँदै तिवारीले पहिलो गजल पस्किन् । गायक नभए पनि गनगुनाउँदै गजल लेख्ने बानी भएको बताउँदै उनले सुनाएको पहिलो गजल शेर यस्तो थियो ।
बजाएर मादल नचाएर छाड्यौं,
नहुन्जेल पागल नचाएर छाड्यौं ।
थियो गर्न शृङ्गार अझै धेरै बाँकी,
न घुम्टो, न आँचल नचाएर छाड्यौं ।
पहिलो चरणमा हरेक गजलकारले दुई दुई गजल राख्दै गर्दा अन्तिममा पालो परेको थियो अम्बिका कार्कीको । उनी ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको अध्यक्ष पनि हुन् । अम्किाले तीन शेरको आफ्नो पहिलो गजल पस्किँदै देश समाजको वर्तमान बेथितिप्रति व्यंग्य गरिन् ।
आफ्ना सपनाहरू आधा अधुरा बेचेर,
बा फर्कनुभएको छ दाउरा बेचेर ।
मरुभूमिमा सुन फलाउँछ मेरो भाइ,
सरकारलाई पाखुरा बेचेर ।
आज फेरि यो बस्तीमा व्यापारी आयो,
कति कमाउला विधवालाई चुरा बेचेर ।
गजलकारहरूले गजल मात्रै सुनाएनन्, कार्यक्रममा बसन्त सिलवालले गीत पनि गुन्जाए । शीतल कादम्बिनी चितवनमै बसेर गजल लेख्दै स्थापित भएकी हुन् । हाल काठमाडौं बसे पनि चितवनलाई कहिल्यै नबिर्सने उनले वाचा पनि गरिन् । ‘अब यो गीत, गजल र शीतल शृंखला हुँदा चितवनको म कम्तीमा एकजना त्यो पनि महिलालाई समेट्ने प्रयास गर्दछु ।
र, बेलामौकामा आज जसरी चितवन नै आएर पनि यसरी कार्यक्रम गर्दछु । चितवनसँग मेरो धेरै माया जोडिएको छ । यहाँ आएपछि ऊर्जा प्राप्त हुन्छ,’ कार्यक्रमको बिट मार्दै शीतलले भनिन् ।