‘रिमै’ का प्रकाश

रुकुम पश्चिम — पश्चिम नेपालका पहाडी जिल्लामा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे जातिबारे बेला–बेलामा विभिन्न कुरा बाहिर आउँछन् । उनीहरूको भाषा, कला, संस्कृति, वेशभूषा र जीवनशैलीबारे पनि थोरबहुत सुन्न, हेर्न र पढ्न पाइन्छ ।

काठका भाँडा, ठेकी, कोसी आदि बनाएर जीविकोपार्जन गर्ने राउटे जातिको एउटा अनौठो चलन छ– समुदायमा कसैको मृत्यु भएमा रीतपूर्वक संस्कार गरी केही दिनभित्र उनीहरू अर्को ठाउँ बसाइँ सर्छन् । राउटे समुदायको यस्तै संस्कृति झल्काउँदै एक जोडीको प्रेम कहानी गीति कथामार्फत हालै सार्वजनिक गरेका छन् गायक तथा सर्जक प्रकाश दुतराजले ।
‘देउरालीमा धजा रिमै
मन उतै नजा, भनेकै मान्दैन ।
मैले माया गरे रैछु माया जालमा परे रैछु ।’
प्रकाश आफैंले शब्द सिर्जना गरी संगीत भरेर स्वरबद्ध गरेको ‘रिमै’ शीर्षकको गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीत दसैंको सम्मुखमा प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राउटे जातिको वेशभूषा र जीवनशैली प्रस्तुत गरिएको गीतले १२ दिनमा ४७ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।
गायक प्रकाशका अनुसार राउटेहरूको बसोबास रहेको दैलेखको गुराँस गाउँपालिका पुगेर गीतको भिडियो छायांकन गरिएको हो ।
करिब १४ मिनेटको गीति कथामा राउटे युवक ज्यामिरे र युवती वाजकलीको प्रेमकथा देखाइएको छ । ज्यामिरेको भूमिकामा प्रकाश स्वयं देखा परेका छन् भने वाजकलीको भूमिकामा केपिना गोतामे । गीतमा जति मीठो तरिकाले शब्द र संगीत भरिएको छ, त्योभन्दा निकै मार्मिक र अर्थपूर्ण देखिन्छ भिडियोका दृश्य र कथा । एक दिन ज्यामिरेका बा अर्थात् राउटेका मुखियाको निधन हुन्छ र उनीहरूको चलिआएको परम्पराअनुसार सबै जना त्यो बासस्थल छोडेर नयाँ ठाउँमा बसाइँ सर्ने सुर गर्छन् । ज्यामिरेले स्वर्गे भएका आफ्ना बालाई अन्त्येष्टि गरेको स्थानमा पुगेर ढोक्छन् अनि उनीहरू लाम लागेर बसाइँ सर्छन् ।
‘नलाऊ सीमा, नलाऊ घेरो,
जता जान्छु त्यही देश मेरो ।’
यही शब्दमा आरम्भको संगीत गुञ्जिन्छ अनि भारी–भरकुम बोकेर उनीहरू बसाइँ सर्छन् । गीति कथा आरम्भ हुन्छ । बसाइँ सरेपछि नयाँ ठाउँमा ज्यामिरे र वाजकलीको प्रेम मौलाउँछ । नयाँ बस्ती बसाउँदै गर्दा सुख–दुःखबीच उनीहरूको प्रेमलाई केन्द्रमा राखेर राउटे जीवनशैलीलाई निकै राम्रोसँग देखाउने प्रयास निर्देशक मौसम हिमाली र उनको टिमले गरेको छ । राउटेकै भेगमा, राउटेकै भेषमा रिमै भाका गुञ्जिन्छ अनि राउटे नै छमछम नाचेको दृश्यले दर्शकलाई मज्जलै तान्छ । राउटे जोडीको प्रेमसँगै गीतकै क्रममा उनीहरूको जीवनशैली र वेशभूषा पनि सजीव तरिकाले देखाइएको छ ।
पश्चिम नेपालको पहाडी भेग, कतै सालका बोट त कतै सल्लाका रूख अनि कतै खोला, खोल्सा त कतै धान झुलेका फाँटलाई पृष्ठभूमिमा राखेर खिचिएको भिडियो जसरी सुरु हुन्छ, अन्य पनि त्यसरी नै । अर्थात् दुःखान्त । सुरुमा ज्यामिरेका बा मरेपछि बसाइँ सरेका राउटेहरू अर्को घना जंगलको बीचमा बसिरहेका बेला एक साँझ ज्यामिरेलाई बाघले आक्रमण गरेर ज्यान लिन्छ । राउटे संस्कारअनुसार उनको अन्त्येष्टि कार्य सकिन्छ र राउटे समुदाय फेरि अर्को ठाउँमा बसाइँ सर्ने सुर गर्छन् । प्रेमीको देहान्तको पीडाले छटपटाएकी वाजकलीले बसाइँ सर्नुअघि ज्यामिरेको शव गाडिएको स्थलमा पुगेर मायाको चिनोस्वरूप पाएको फूल चढाउँछिन् ।
‘दुःख बगाई लैजा भेरी,
किन बग्छस् हेरी हेरी ।’
गीतको अन्त्यतिर गुञ्जिने शब्द हुन् यी । हेरिरहुँ भन्दाभन्दै सकिएको पत्तो हुँदैन गीत । पछिल्लो समय सामाजिक सञ्जालमा समेत निकै चर्चामा आएको छ ‘रिमै’ । खासमा आफ्ना हरेक सिर्जनामा नयाँ प्रयोग गर्न रुचाउने गायक हुन् प्रकाश । गीतले दर्शकको अपार माया पाइरहेको खुसी व्यक्त गर्दै उनले भने, ‘दुई वर्ष अघिदेखि राउटे जातिसँग जोडेर गीत बनाउन मन थियो । विभिन्न कारणले बीचमा काम गर्न सकिन । तर लामो समयको रहर र सपना पूरा भएको छ ।’
नेपाली परिवेश, नेपाली माटो र नेपालीपनलाई गीत–संगीतका माध्यमबाट संरक्षण, संवर्द्धन र प्रचार–प्रसार गर्ने प्रयासका रूपमा ‘रिमै’ तयार भएको उनको भनाइ छ । ‘गीतमा शब्द र संगीतले जति अर्थ राख्छ, त्यति नै अर्थ कथा र दृश्यले पनि राख्छ । अहिले दर्शकहरू हरेक दृश्यमा संगीत र कथा खोज्छन् । यही कुरा ध्यान दिएर फरक परिवेशमा सिर्जनाको बीज रोप्ने प्रयास हो,’ उनले भने ।
गीत बनाउनुभन्दा करिब दुई महिना पहिला निर्देशक मौसम हिमाली र आफू राउटेको बासस्थल खोज्दै दैलेख पुगेको सम्झिँदै प्रकाशले राउटेको रीति, संस्कृति र जीवनशैलीबारे बुझ्ने क्रममा नै गीतको आइडिया फुरेको बताए । ‘गीत गर्नुअघि राउटे बस्तीमा आवश्यक अध्ययन गर्न पुग्यौं । त्यही बेला राउने बसाइँ सर्ने कारणबारे थाहा भयो ।’ प्रकाशले भने, ‘हामीले ज्यामिरे र वाजकलीको मिलन अनि बिछोडको कथालाई बसाइँ सर्ने बाध्यतासँग प्रस्तुत गर्ने निधो गरेका थियौं ।’
गीतसँगै आवश्यक तयारी पूरा भएपछि सुटिङका लागि दैलेख पुग्दा राउटेको संख्या १ सय ४३ बाट घटेर १ सय ४१ मा झरेको र यसबीच उनीहरू दुई ठाउँमा बसाइँ सरिसकेका थिए । त्यसबारे थाहा पाएपछि दैलेख स्थानीय प्रशासन र अधिकारकर्मीको सहयोगमा सुटिङको काम गरेको उनले बताए । ‘छोटो समयमै राउटे जातिको प्रतिनिधित्व गराएर कलाकारलाई तयार पार्ने अनि सुटिङ गर्ने काम चुनौतीपूर्ण थियो । तर निकै रमाइलो तरिकाले काम सकियो,’ उनले भने, ‘उनीहरूको लवाइखवाइदेखि चालचलन, भाषा, कला र संस्कृति केही मिनेटको गीतमा देखाउनु निकै गाह्रो कुरा हो ।’
राउटेले लगाउने पोसाक र गरगहनादेखि अन्य आवश्यक सरसामान सुर्खेतलगायतका ठाउँबाट लगेको प्रकाशले बताए । राउटे जातिमा धेरै कुरा गोप्य राख्ने अनि मुखियाको आदेशबिना केही पनि नगर्ने चलन छ । जसका कारण गीतको सुटिङका लागि उनीहरूलाई तयार गर्न निकै मिहिनेत गर्नुपरेको उनले बताए । ‘हाम्रा कलाकार ३० जना मात्रै थिए । बाँकी दृश्यका लागि मिल्नेसम्म हामीले राउटे समुदायकै वास्तविक दृश्य देखाउने प्रयास गरेका छौं,’ प्रकाशले भने ।
म्याग्दीको मंगली गाउँपालिका–५ अर्मनमा जन्मिएका प्रकाशले संगीतको व्यावसायिक यात्रा थालेको चार वर्षमा नै लोभलाग्दो सफलता हात पारिसकेका छन् । पहिलोपल्ट ‘सिमसिम पर्यो पानी...’ बोलको गीतमा स्वर भरेका प्रकाशले २०७६ देखि आफ्नै युट्युब च्यानलमार्फत गीतहरू सार्वजनिक गर्दै आइरहेका छन् । उनका ‘बैनी झ्यालैमा...’, ‘घर कता हो बैनीको...’, ‘जाम भो माइली...’, ‘मन भुल्छ...’, ‘जुन माया...’ बोलका गीत निकै चर्चित छन् । सबै गीतमा उनी आफैंले शब्द, संगीत र स्वर दिएका छन् भने अधिकांशमा उनले अभिनय पनि उम्दा गरेका छन् ।
