९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

कुशलको कुशलता

नेपाली राष्ट्रिय टोलीलाई ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने खेलाडी हुन् कुशल भुर्तेल । विश्वकप छनोटका खेलमा एकसय ८५ रन बनाएका कुशल उत्कृष्ट ब्याटर चुनिए ।
सन्जु पौडेल

लुम्बिनी — ट्वान्टी–२० विश्वकप छनोटका लागि भएका खेलमा कुशल भुर्तेलको प्रदर्शन उत्कृष्ट रह्यो । गत शुक्रबार यूएईसँग भएको खेलमा उनले दुई चौकासहित ११ रन हानेपछि ब्याट दुई टुक्रा भएर आउट भए । त्यसअघिका सबै खेलमा निकै राम्रो प्रदर्शन गरेका भुर्तेलले भने पाँच खेलमध्ये ब्याट भाँचिएको खेल अविस्मरणीय भएको बताए । ‘किनेको चार महिना मात्रै भएको ब्याट थियो । भाँचिएला भन्ने लागेकै थिएन, कस्तो कस्तो लाग्यो,’ उनले भने ।

कुशलको कुशलता


कुशलले विश्वकप छनोटका लागि दुई वर्षअघि यूएईसँग हार स्मरण गरे । अनि, त्यसको बदला लिन पाएकोमा निकै खुसी व्यक्ति पनि गरे । ‘हाम्रो सपना नै हो– बेस्ट दिने । देशलाई जिताउने,’ उनले भने, ‘त्यसमा व्यक्तिगत प्रयास र टिमको एकताले काम गरिरहेको छ ।’ मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईलाई नेपालले १३४–९ को स्कोरमा रोकेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले १ सय ३५ रनको विजय लक्ष्य १७.१ ओभरमै पूरा गरेको हो ।

ओमानसँग आइतबार भएको खेलमा भने नेपाली टोली पराजित भएपछि उपविजेतामा चित्त बुझाउनु परेको छ । ‘टिमवर्कका कारण हामीले जित्छौं भन्ने विश्वास थियो । उच्च लक्ष्य दिएको भएपनि खेल जित्न सकिएन ।’ खेल हो हारजित भइरहन्छ भनेर नै मन बुझाउनु परेको उनको भनाइ छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दिएको एकसय ८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पनि निर्धारित २० ओभरमा एक सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । त्यसमा नेपाल पराजित भएको हो । यद्यपि, कुशल छनोट खेलका उत्कृष्ट ब्याटर चुनिएका छन् ।

विश्वकप छनोट खेलमा कुशलले एक सय ८५ रन बनाए । राष्ट्रिय टिमबाट खेल्ने क्रममा उनलाई आशिफको साथ अत्यन्तै सहज लाग्छ । ‘पोखरा प्रिमियम लिगबाट ओपनर डेब्यु भएका हामी एकअर्कासँग कम्फर्ट फिल गर्छौं,’ उनले भने । टुर्नामेन्टको सुरुआतमै दीपेन्द्र सिंह ऐरी घाइते भएपछि टिममा निराशा छाएको भए पनि यूएईसँग कमब्याक गरेर खेलेपछि टिममा उत्साह थपिएको उनले बताए ।

विद्यालय जीवनबाटै क्रिकेटमा रुचि बढाएका कुशल भुर्तेलले आफ्ना बुवाको थप प्रेरणाले क्रिकेटमै अघि बढ्ने अठोट लिए । रूपन्देहीको तिलोत्तमा–५ का कुशल रूपन्देहीको छनोट तहबाट २०१० मा खेल्न सुरु गरेका थिए । नेपाली क्रिकेटलाई विश्वकप क्वालिफायरसम्म पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका छ । सन् २०१४ ताका क्रिकेटको घरेलु प्रतियोगिता खेल्न सुरु गर्दा शक्ति गौचन, सागर पुनलगायतका खेलाडीलाई भैरहवाको एयरपोर्टमा स्वागत गर्न जाने उनले आफूलाई पनि खेलेर आएपछि स्वागत गर्नेको लर्को होस् भन्ने चाहन्थे ।

२६ वर्षीय कुशलको उक्त चाहना भने पूरा भएको छ ।

त्यसयता भुर्तेलले खेल जीवनलाई भने अगाडि बढाइरहे । अन्तर्राष्ट्रिय खेलमा नेपाललाई जिताउन धेरै पटक राम्रो प्रदर्शन गरेका उनी हाल पनि नेपाली राष्ट्रिय टिममै छन् । भुर्तेल क्रिकेटमा विद्यालय तहको सिकाइ अति आवश्यक रहेको बताउँछन् । ‘माथिल्ला तहका खेल खेल्नका लागि तलबाटै सिकेर आउनुपर्ने रहेछ भन्ने आफूले नै खेल्दा महसुस भयो,’ उनले भने । जिल्लामा विद्यालयका विद्यार्थीलाई राम्रो कोचिङ दिन सके रूपन्देहीको प्रतिनिधित्व गर्ने थुप्रै खेलाडी जन्मने उनको भनाइ छ । खेलाडीले राम्रो गर्दै गएपछि देशले पनि हेर्ने भएकाले आफूहरू एक भएर देशको नाम राख्न खेलिरहेको भुर्तेल बताउँछन् ।


पछिल्लो समय भने दर्शकबाट पनि निकै साथ र सहयोग मिलेको बताउँछन् भुर्तेल । ‘उहाँहरू हाम्रो बाह्रौं टिम मेम्बर हो । मैदानमा बस्ने, हामीलाई बुस्ट अप गर्ने गर्दा खुसी र गर्नुपर्छ भन्ने जोस आउँछ,’ उनले भने, ‘हामीले मूलपानीमा त्यति धेरै दर्शकको अपेक्षा गरेका थिएनौं ।’ आफूहरूको खेल रुचाएर साथ दिने सबै नेपालीलाई देश र क्रिकेटको माया भएकाले यसको विकास जति छ त्यसभन्दा बढी भएर अघि जानुपर्ने उनको बुझाइ छ ।

कुशलको यो प्रगतिमा उनकी आमा दुर्गादेवी भुर्तेल हर्षित छिन् । उनलाई कुशल सानो छँदा श्रीमान्सँग छोरोलाई क्रिकेटमा लाउने होइन पढाएर जागिरे बनाउने हो भन्ने गरेको याद आउँछ । ‘बाबुलाई खेल खेलाएर ठिकै गरिएछ जस्तो लागेको छ । आफन्त, साथीभाइ र बाबुकै साथीले खुसी व्यक्त गर्छन्, सुनाउँछन्, सन्तुष्टि त्यसैमा छ,’ उनले भनिन् । कुशलको खेल हेर्नका लागि आफूमा भएको डर हटाएर मैदानमा पुगेको उनले बताइन् । ‘आमा भएकाले मनमा डर थियो, छोरालाई चोट लाग्ला, कसरी हेरूँ भनेर मैदानमै जाँदैनथें,’ उनले भनिन्, ‘अहिलेसम्म प्रत्यक्ष तीनवटा खेल हेर्ने मौका मिलेको छ ।’

दुर्गादेवीले कोभिडकालमा भएको त्रिदेशीय क्रिकेटमा छोराको उत्कृष्ट प्रदर्शन भइरहँदा आफू कोभिडसँग लड्दै गरेको अवस्था सम्झँदा भक्कानो छुट्ने गरेको बताउँछिन् । ‘त्यतिबेला मैले उसको खेल हेर्न पाइनँ । पाउँदिन कि भन्ने पनि लाग्यो,’ उनले भनिन्, ‘छोरा खेल्यो, म बाँचें, अब भने सकेसम्म सबै खेल हेर्छु ।’

त्यस्तै, गत माघमा पनि कुशलको खेल चलिरहँदा उनलाई आगोले पोलेपछि उनी काठमाडौंमा भर्ना भइन् । त्यतिबेला उनले फेरि कुशलको खेल मिस गरेको बताइन् । दुर्गादेवीले छोरा र उनका साथीले देशको नाम राख्ने काम गरेकाले देशले पनि खेलमा केही छैन भन्नेहरूलाई काममार्फत जवाफ दिनुपर्ने बताउँछिन् ।

‘अबका दिनमा भने सरकारले केही गर्ला भन्ने आस छ,’ उनले भनिन्, ‘युवाहरूलाई आकर्षित गर्न सरकारले खेलप्रति बजेट बढाएर ठूला देशसँग प्रतिस्पर्धामा उत्रन सक्ने बनाउनुपर्छ ।’

तस्बिर साभार : क्यानको फेसबुक पेज

प्रकाशित : कार्तिक २०, २०८० १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?