काठमाडौँ — सन् १९७१ मा आजकै दिन (सेप्टेम्बर ३) मा खाडी मुलुक कतार स्वतन्त्र भएको थियो । ब्रिटिस शासनको ५५ वर्षपछि कतारले स्वतन्त्रता पाएको थियो ।
बेलायतले युनाइटेड अरब इमिरेट्स र बहराइनसँगको सम्झौतापछि १९६८ मा खाडी क्षेत्रबाट बाहिरिने घोषणा गरेको थियो । जसअनुसार कतारले १९७१ को सेप्टेम्बर ३ मा स्वतन्त्रता घोषित गरेको हो ।
स्वतन्त्रता घोषित गरेको केही दिनमै कतार अरब लिग र संयुक्त राष्ट्रसंघको सदस्यसमेत बनेको थियो । त्यसका साथै, कतार १९८१ मा गल्फ कोअपरेस काउन्सिल (जीसीसी) आबद्ध भएको थियो । ११ हजार ५ सय ७१ वर्गकिमि क्षेत्रफलको कतार करिब एक शताब्दीअघिसम्म मानव बसोबासका लागि अनुपयुक्त मानिन्थ्यो । त्यतिबेलाकतारको अर्थतन्त्र माछा मार्ने र समुद्रमा मोती खोज्ने कार्यमा निर्भर थियो ।
जापानले मोतीको खेती सुरु गरेसँगै अर्थव्यवस्था धराशायी भएपछि करिब ३० प्रतिशत कतारी अवसरको खोजीमा विदेश पलायन भए । तर पछि मोतीबाट तेल र प्राकृतिक ग्यास प्रशोधन र निर्यातको काम थालेपछि कतारको अर्थतन्त्रमा चामत्कारिक सुधार आएको हो । जसका कारण कतार हाल विश्वका धनी देशको सूचीमा अग्रस्थानमा छ । त्यसका साथै, २०२२ मा फिफा विश्वकप फुटबल आयोजना गरेर विश्व समुदायको ध्यान खिच्नसमेत सफल भइसकेको छ ।
