क्रिकेटको दुनियाँमा धेरै खेलाडी चर्चामा आउँछन् । तर त्यसमध्ये धेरै समय टिक्ने र इतिहास बनाउने कमै हुन्छन् । तिनै मध्येमा पर्छन्, बाबर आजम । गज्जबको स्ट्रोक–प्ले, अनि प्रदर्शनमा एकरूपता । उत्कृष्ट कभर ड्राइभ गर्ने कला पनि । त्यसमाथि साह्रै भलाद्मी । क्रिकेटप्रेमीले प्रशंसा नगरी रहन नसक्ने नाम हो बाबर ।
काठमाडौँ — एउटा कल्पना । बाबर आजम पाकिस्तानमा नभएर भारतमा जन्मेको भए ? अथवा भनौं, उनले पाकिस्तानका लागि नभएर भारतका लागि क्रिकेट खेलेको भए ? हुन्थ्यो के त ? कल्पना न हो । जे पनि हुन सक्थ्यो । तर एक क्रिकेट खेलाडीका रूपमा यी पाकिस्तानी माथिल्लो क्रमका ब्याटरले आफूलाई एक होइन, धेरैपल्ट प्रमाणित गरिसकेका छन् । नेपालविरुद्ध एसिया कपको खेलमै पनि उनले आफू कस्तो ब्याटर हो भनेर सिद्ध गरे ।
यसअघि नेपाली खेलाडीले पनि यी बाबरबारे धेरै सुनेका थिए । मुल्तानमा भएको खेलका क्रममा अनुभव पनि गरे । जत्तिकै राम्रा खेलाडी भए पनि उनले त्यति चर्चा पाएनन्, जति भारतीय खेलाडीले पाउने गर्छन् । अझ भनौं, विराट कोहलीले जति । अनि सायद बाबरले त्यति धेरै पनि कमाउन सकेका छैनन्, जति इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने एक ठिक्कको औसतभन्दा माथिको भारतीय खेलाडीले कमाउने गर्छन् । आखिरमा यी त सबै गुनासा त हुन् ।
अलिकति फरक दृष्टिकोणले सोच्ने हो भने एक साँच्चै राम्रो खेलाडीका लागि यसले के नै फरक पार्छ र ? पाकिस्तानले नेपालमाथि प्राप्त गरेको २ सय ३८ रनको जितमा बाबर एक्लैले १ सय ५१ रन बनाए । उनको प्रदर्शन वास्तवमै उत्कृष्ट रह्यो, केही सुन्दर मज्जाका सटहरू खेले । उनले १ सय ९ बलमै आफ्नो शतक पूरा गरे । त्यसपछि पूर्णतः आक्रामक भएर प्रस्तुत भए, त्यो कसरी भने बाँकी ५१ रन २२ बलमै बनाए । यसक्रममा केही कीर्तिमानहरू पनि बने ।
बाबर वास्तवमै एक ‘मोर्डन ग्रेट’ हुन्, उच्च कोटीका खेलाडी । उनको ब्याटिङले क्रिकेटका प्रशंसकहरू चाहेर पनि नचाहेर पनि मोहित हुने गर्छन् । जो कोही पनि पाकिस्तानको समर्थक हुनुपर्छ भन्ने हुन्न । तर उनको ‘नो ननसेन्स एटिच्युड’ का कारण जो कोही उनको प्रदर्शनमा कायल भने हुने गर्छन् । कुनै ठोस आँकडा होइन, प्रमाणित भएको । तर भनिन्छ, नेपालमा पाकिस्तानी क्रिकेट टिमका समर्थक धेरै छन् । मुल्तानमा भएको खेलका क्रममा भने ती समर्थक नेपालकै पक्षमा त हुने भए नै ।
कतिपय समर्थक पक्कै पनि बाबरको ब्याट चल्दा खुसी भएकै हुनुपर्छ । पाकिस्तानी क्रिकेटबाट एक अर्को भनाइ पनि छ– ‘विश्वकप हुनुपर्छ, पाकिस्तानले त्यसमा भाग लिने दुई टिम बनाए पनि मज्जाले पुग्छ । अनि फाइनलमा पुग्ने दुई टिम यिनै हुनेछन् ।’ समस्या मात्र के हो भने पाकिस्तानी टिमका प्रदर्शनमा भर पर्न सकिन्न, कहिले कस्तो कहिले कस्तो । खास कुरा के पनि हो भने पाकिस्तानमा कसरी हो कसरी प्रतिभाशाली खेलाडी एकपछि अर्को जन्मिरहेका हुन्छन् ।
यसमध्ये धेरै लामो समय क्रिकेटको मैदानमा टिक्दैनन् । केही लामै बाँच्छन् र इतिहास बनाउँछन् । त्यसमै एक पर्छन्, बाबर । उनको स्ट्रोक–प्ले नै राम्रो छ । अनि प्रदर्शनमा लगातार एकरूपता छ । कहिले असाध्यै राम्रो, अनि कहिले असाध्यै नराम्रो हुने गर्दैन । त्यसमाथि व्यवहार नै राम्रो । साह्रै भलाद्मी छन्, उनी । उनलाई कभरतिर प्रहार गर्न महारथ प्राप्त छ । ड्राइभ गर्ने कला मीठो छ । जसरी कमै मिहिनेतमै चौका र छक्का प्रहार गर्छन्, प्रशंसा गर्नैपर्ने हुन्छ ।
उनको बल सामना गर्ने पक्ष सुदृढ छ नै, बललाई प्रहार गर्ने ‘टाइमिङ’ पनि त गज्जब छ । अहिले चलिरहेको एसिया कप वान डे क्रिकेटको प्रतियोगिता भयो । टेस्ट र ट्वान्टी ट्वान्टीमा त बाबर उत्तिकै राम्रा छन् । सायद वान डे क्रिकेटमा अझ राम्रा छन् । पाकिस्तान भयो, वान डे क्रिकेटको नम्बर १ टिम । अनि बाबर भए नम्बर १ ब्याटर । पञ्जावी मुस्लिम परिवारका छोरा बाबर लहोरमा जन्मे हुर्के । त्यहीं क्रिकेट सिके । पाकिस्तानी क्रिकेटमा दुई सहरको वर्चस्व पाइन्छ, कि त लाहोर, होइन भने कराँची ।
बाबर पक्कापक्की लाहोर पाराका खेलाडी हुन् । अनि बाबर लामो समयदेखि पाकिस्तानी क्रिकेट टिमका कप्तान पनि छन् । उनको खेलको एउटा अर्को ठूलो विशेषता हो, कप्तान भएयता उनको खेलमा अझ सुधार आउनु । प्रदर्शन अझ मज्जाले जम्नु । नत्र क्रिकेटमा कप्तान भएपछि खेलमा लय गुमाउनेहरू धेरै छन् । तर तथ्यांकले भन्छ, बाबरको खेलमा अझ पो सुधार आएको छ, कप्तान भएपछि । कप्तान भएर बाबरले अझ जिम्मेवारी महसुस गर्दै खेल्ने गरेका छन् ।
त्यसैले त नेपालविरुद्ध १ सय ५१ रन बनाएपछि उनी यस्तो उपलब्धि चुम्ने एसिया कप इतिहासकै पहिलो कप्तान बने । त्यस अगाडि कप्तानका रूपमा एसिया कपमा कोही कप्तानले बनाएको सबैभन्दा उच्च स्कोर थियो, १ सय ३६ । र, यो संयोगले अरू कसैले होइन, बंगलादेशविरुद्ध विराटले बनाएका थिए, भारतीय कप्तानका रूपमा । विराटकै कुरा गर्ने हो भने उनी मैदानमा जति धेरै ‘एटिच्युड’ देखाउनुपर्ने खेलाडी हुन्, मैदान बाहिर त्यसको ठ्याक्कै विपरीत छन् भनिन्छ ।
मैदानमा जत्तिकै दम्भ देखाए पनि मैदान बाहिर विराट ‘कुल’ हुने गर्छन् । त्यसको ठीकविपरीत छन्, महेन्द्रसिंह धोनी । मैदानभित्र जत्तिकै ‘कुल’ भए पनि मैदान बाहिर उनी छुद्र छन् भनिन्छ । यो सबै पृष्ठभूमि किन भन्दा, बाबरको एक खास प्रशंसकमा पर्छन्, यिनै विराट पनि । बाबरको प्रशंसा गर्न उनले पनि कन्ज्युस्याइँ गरेका छैनन् । कोहली एकै सासमा भन्ने गर्छन्, ‘बाबरलाई जहिल्यै मेरो शुभकामना छ, उनीप्रति मेरा सदा सम्मान छ ।’ एक खेलाडीका रूपमा कोहलीले लगभग सबैखाले सफलता चाखे ।
अनि यही पृष्ठभूमिमा उनको तुलनामा बाबरसँग हुने गर्छ । अझ कोहली भन्छन्, ‘मलाई पनि बाबरको ब्याटिङ हेर्न मज्जा आउँछ ।’ एसिया कपमा नेपालको पहिलो खेलपछि हाम्रो ध्यान पनि अब शनिबारको खेलमा हुनेछ । हाम्रो मात्र के र ? क्रिकेट भनेपछि हल्का बुझ्नेले पनि शनिबारको खेल कुरिरहेको छ, जसमा भिड्ने छन्, तिनै पाकिस्तान र भारत । अनि तिनै बाबर र कोहली । यस्तो पनि भनिन्छ, सारा क्रिकेट एकातर्फ, पाकिस्तानविरुद्ध भारतको क्रिकेट अर्कोतर्फ ।
यी दुई छिमेकी शत्रु देश भिड्दा त्यसमा सबथोक हुने गर्छ । त्यो भनेको नाटक, सनसनी, विवाद, आक्रोश, आरोप, प्रत्यारोप र अनि के–के । त्यसमाथि यो खेल त्यति बेला हुन लागेको छ, जति बेला भारतको चन्द्रयान–३ ले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ र अचम्मले अनुसन्धान पनि गरिरहेको छ । भारतको यो अन्तरिक्ष अभियानले दुई देशबीचको सम्बन्धमा धेरै मसला थप्ने काम पनि भएको छ । सायद पाकिस्तानीहरूले अनुभव गरिरहेका छन्, कतै हामी भारतभन्दा पछाडि त परेनौं ?
अनि यही पृष्ठभूमिमा पाकिस्तानविरुद्ध पाकिस्तानबीचको क्रिकेट खेल । अझ गज्जब त के भने एसिया कपमा क्रममा पाकिस्तान र भारतबीच एक मात्र होइन, तीन खेल हुन सक्नेछन्, दुवै टिम फाइनल पुग्ने हो भने । पाकिस्तान र भारत दुवैका लागि यो खेलमा जित–हारको फरक अर्थ हुनेछ । मैदानको चन्द्रयान–३ सफलता जस्तै । पाकिस्तानलाई यी सबै समीकरणमा कोही एक खेलाडीले सबैभन्दा बलियो स्थितिमा पुर्याउन सक्छ भने ती बाबर मात्रै हुन्, अरू कोही होइनन् ।
