काठमाडौँ — सन् २०२१ मा आजकै दिन (सेप्टेम्बर १) मा पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गरेका थिए । विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले उक्त रेकर्ड कायम गरेका थिए ।
सन् १९८५ फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डोले २००३ को मार्च २३ देखि अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेका थिए । त्यसयता २०२३ जुन २० सम्ममा उनले पोर्चुगलका लागि २ सय खेल खेल्दै १ सय २३ गोल गरिसकेका छन् । १ सय ८ गोल गरेका इरानका अलि दाई दोस्रो र १ सय ३ गोल गरेका अर्जेन्टिनाका लियानेल मेसी तेस्रोमा छन् ।
हाल साउदी अरबको अल नासेर क्लबका कप्तानसमेत रहेका रोनाल्डोले क्लब फुटबल करिअर भने स्पोर्टिङ क्लबबाट सुरु गरेका हुन् । त्यसपछि उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्ट्सलगायतका क्लबबाट खेल खेलिसकेका छन् । व्यावसायिक फुटबल खेल्ने क्रममा ३७ वर्षीय रोनाल्डोले हालसम्म पाँच पटक बालन डी’अर र चार पटक युरोपेली गोल्डेन बुट जितिसकेका छन् । उनी सात लिग टाइटल, पाँच यूईएफए च्याम्पियन्स लिग, यूईएफए युरोपियन च्याम्पियनसिप, यूईएफए नेसन्स लिग, अरब क्लब च्याम्पियन्स कपसहित जीवनमा ३४ वटा ट्रफी विजेतासमेत हुन् । रोनाल्डोले हालसम्म ११ सयभन्दा बढी व्यावसायिक फुटबल खेलिसकेका छन् ।
उनी २०१५ मा पोर्चुगिज फुटबल फेडेरेसनबाट सर्वकालीन महान् खेलाडी घोषित भएका थिए । त्यसको अर्को वर्ष पोर्चुगलले युरो कपको उपाधि हात पारेको थियो ।
