बाघ देखाउने ‘ड्राइभर’

बर्दियाको ठाकुरबाबा–९ का भीम चौधरी गाडी चालकका साथै नेचर गाइड हुन् । बाघको आनीबानी बुझेकाले उनी बासस्थान पत्ता लगाउन माहिर छन् । गाडीबाटै पाइला हेरेर बाघ रहेको स्थानबारे अनुमान गर्छन् । स्थानीयमाझ भने उनी बाघ देखाउने ‘ड्राइभर’ का रूपमा परिचित छन् ।

भाद्र १७, २०८०

मनोज पौडेल

बर्दिया — दूरबिन घाँटीमा झुन्ड्याउन भुल्दैनन् । दाहिने कुममा छड्के पारेर क्यामरा राख्छन् । उनी बस्ने चालक सिट पछाडि कभरमा ‘बर्डस् अफ नेपाल पुस्तक’ हुन्छ । छेउको अर्को सिटको कभरमा ‘वाइल्ड म्यामल्स अफ नेपाल’ पुस्तक राखेका छन् । स्टेरिङ घुमाउँदै गाडी हुइँक्याउँछन् ।

गाडी चालक भएकाले चालक अनुमतिपत्र जरुरी हुन्छ । उनी भने बाइनाकुलर, क्यामरा र पुस्तक गाडीमा राख्न भुल्दैनन् । ठाकुरबाबा–९ बेतनीका ३२ वर्षीय भीम चौधरी गाडी चालकका साथै नेचर गाइड (पथप्रदर्शक) हुन् । जुलोजिक सोसाइटी अफ लन्डन (जेडएसएल) नेपालअन्तर्गत बाँकेको कोहलपुरस्थित फिल्ड अफिसमा चालक पदमा उनी कार्यरत छन् । 

 आम्दानीका लागि चालक पेसामा छन् । उनको रुचि वन र वन्यजन्तु अवलोकनमा छ । निकुञ्जसित गाँसिएको गाउँमा जन्मिए । हुर्कंदै गएपछि चरा, प्रकृति र वन्यजन्तुमा मन डुल्न थाल्यो । परिवार आर्थिक समस्यामा परेपछि पढाइलाई निरन्तरता दिन सकेनन् । ‘त्यसपछि गाडी चलाउन थालें,’ उनले भने, ‘स्टेरिङ घुमाउँदै चारैतिर आँखा डुलाउँछु, चरा, वन्यजन्तु, सरिसृप र उभयचर पाहुनालाई देखाउँछु ।’ वन्यजन्तु देख्नासाथ गाडी रोक्छन् । तस्बिर खिच्छन् । गाडीमा सवार पाहुनालाई वन्यजन्तुबारे जानकारी दिन्छन् । पाहुनालाई दुर्लभ वन्यजन्तु देखाउनु उनको दैनिकी बनेको छ । पेसाले चालक भए पनि उनको कर्म प्रकृति पथप्रदर्शन हो । 

 ६ वर्षदेखि उनी जेडएसएलको गाडी चलाइरहेको उनले बताए । त्यसअघि पाँच वर्ष राइनो रिसोर्टको जंगल सफारीमा जाने गाडी चलाएको उनले बताए । त्यसक्रममा चरा, वन्यजन्तु र उभयचरबारे ज्ञान हासिल गरेको उनले बताए । अहिले बर्दिया निकुञ्जमा पाइने दुई सयभन्दा बढी वन र पानी चरा पहिचान गर्न सक्ने उनी बताउँछन् । ‘कतिपयको आवाज सुनेरै चिन्छु,’ उनले भने, ‘केहीको रंग र बनोट हेरेर ठम्याउँछु ।’ पन्छीका नेपाली र अंग्रेजी नाम मुखाकार छन । चराबारे छोटो जानकारी पनि दिन्छन् । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् । वन, घाँसे मैदान र नदीखोला तटीय क्षेत्रमा बस्ने चराको पनि फरक छुट्याउन सक्ने उनले बताए । 

 निकुञ्जभित्र दिनमा ४ पटकसम्म बाघ देखेको उनले सुनाए । ‘अहिलेसम्म ७० पटकभन्दा बढी बाघ देखिसकें,’ उनले भने, ‘तर, हात्ती मचानबाट ३ वटा डमरुसहितको बाघ देखेको क्षण अविस्मरणीय रहेको छ ।’ डमरुसहितको बाघ देखेपछि रोमाञ्चित बनेको उनी बताउँछन् । त्यसबेला सँगै गएका विदेशी पाहुना खुसीले उफ्रिएको देखेको उनले बताए । खुसी भएका पाहुनाले अतिरिक्त रकम दिएको उनले सुनाए । अर्को पटक निकुञ्ज सफारीमा गएका बेला हात्ती र बाघ मचानका बीचमा बाघले चित्तल सिकार गरिरहेको देखेको क्षण जीवनमै भुल्न नसकिनेमध्येको भएको उनले बताए । ‘निकुञ्ज जाँदा सधैं रोमाञ्चित हुन्थें,’ उनले भने, ‘तर, एक पटक जंगली हात्तीले २ सय मिटर लखेटेपछि भने सातोपुत्लो उडेको थियो ।’ 

 उनी लगनशील, जिज्ञासु र शान्त स्वभावका देखिन्छन् । निकुञ्ज जाने भने पनि सबै काम छाडेर हिँड्ने गर्छन् । अहिले पनि बर्दिया निकुञ्ज, प्रकृति संरक्षण कोष र जेडएसएलमा कोही महत्त्वपूर्ण व्यक्ति आए सफारीका लागि उनको खोजी हुन्छ । बर्दिया मात्र हैन, कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जका बारेमा उनी जानकारी छन् । दुवै निकुञ्जभित्रका कुनाकुनाको भूगोलबारे सजिलै जानकारी गराउँछन् । ‘बाघ देखाउन शुक्लाफाँटा पनि पुग्छु,’ उनले भने, ‘संघीय, प्रदेश मन्त्रालयका मन्त्री र सचिवज्यूले मलाई नै खोज्नु हुन्छ ।’ 

चरा, वातावरण र प्रकृति क्षेत्रमा कलम चलाउने धेरै सञ्चारकर्मीलाई पनि उनले घुमाएका छन् । वन्यजन्तु र चराबारे अध्ययन गर्न आउने विदेशीको रोजाइमा उनी नै पर्छन् । ‘धेरै प्रोफेसर, वन्यजन्तुका विद्यार्थीलाई गाइड गरेको छु,’ उनले भने, ‘गाइड गर्न थालेपछि अंग्रेजी बोल्न सिकेको हुँ ।’ १० वर्षअघि बाघको वृत्तचित्र बनाउन आएको जेब्रा च्यानलको टोलीलाई चौधरीले गाइड गरेको सुनाए । ‘निकुञ्ज छिरेको एक घण्टामै उक्त टोलीलाई बाघ देखाएपछि उत्साहित भएको थियो,’ उनले भने, ‘उनीहरूले चाहेजस्तो भिडियो खिच्न पाएका थिए ।’ दुई महिनाअघि जर्मन राजदूत डा. थोमस प्रिन्ज, वन्यजन्तु निकुञ्ज विभागका पूर्वमहानिर्देशक महेश्वर ढकाल र विभागका उपमहानिर्देशक डा. अजय कार्कीलाई उनैले घुमाएका छन् । 

 चौधरी बाघ देखाउन माहिर छन् । बाघको आनीबानी बुझेकाले बासस्थान पत्ता लगाउन सक्छन् । गाडीबाटै पाइला हेरेर बाघ रहेको स्थानबारे अनुमान गर्छन् । त्यसपछि पाहुनालाई बाघ नजिकै रहेको जानकारी गराउँदै शान्तिपूर्वक बस्न अनुरोध गर्छन् । डर, त्रास र उत्सुकतासँगै बाघ देखाउने प्रयास गर्छन् । ‘धर्य गरेर बस्न सक्नेले मात्र बाघ सजिलै देख्छन्,’ उनले भने, ‘शान्त बसेर कुर्ने हो भने शतप्रतिशत बाघ देखिन्छ ।’ उनका अनुसार बाघका चार खुट्टामध्ये अगाडिका दुई अधिक शक्तिशाली हुन्छन् । टाउको र बंगारा निक्कै कडा हुन्छन् । बाघको एक झम्टाइबाट जतिसुकै शक्तिशाली जनावर पनि ढल्छन् । सरदर १५ वर्ष आयु हुने अनुमान गरिएको बाघ हिमालको ठन्डीदेखि तराईको गर्मीसम्म सहन सक्ने क्षमताको हुन्छ । बाघले प्रयोग गर्ने आन्तरिक शक्तिमा पहिलो सुँघाइ, दोस्रोमा सुनाइ र तेस्रोमा देखाइ पर्छन् ।

 तस्बिर खिच्न सौखिन उनले क्यानन् सेभेन डि क्यामरा चलाउँछन् । सत्तरी तीन सयको जुम लेन्स प्रयोग गर्छन् । सटर स्पिड, एपार्चर र आईसोको कम्बिनेसन पनि जानेका छन् । स्टिल र मुभमेन्ट हुँदा कसरी खिच्न पर्छ थाहा छ । बाघ र चितुवाको पनि राम्रै तस्बिर खिचेका छन् । उड्दै गरेको राजलाहाचें र राजधनेशको गजब तस्बिर खिचेका छन् । गाडी चलाउँदा चलाउँदै चरा, वन्यजन्तु देख्दा साथ फोटो खिचिहाल्छन् । प्रकृति, ल्यान्डस्केप र जैविक विविधताका मनोरम दृश्य पनि खिचेका छन् । ‘आफ्नो क्यामरा भने छैन,’ उनले भने, ‘अफिसले क्यामरा दिएको छ ।’

युवा ग्यालरी

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully