काठमाडौँ — सन् १९१८ मा आजकै दिन (अगस्ट ३०) मा कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको हत्या प्रयास भएको थियो । रुसी राजधानी मस्कोस्थित मिचेल्सन प्लान्टमा लेनिनमाथि गोली प्रहार गरिएको थियो ।
पूर्वयहुदी तथा समाजवादी क्रान्तिकारी फानी कप्लानले लेनिनलाई लक्षित गरी तीन पटक गोली प्रहार गरेकी अधिकारीहरूले दाबी गरेका थिए । लेनिनलाई एक गोली घाँटी र अर्को पाखुरामा लागेको थियो । तेस्रो गोली भने लेनिनसँग कुरा गर्न फर्किएकी महिलालाई लागेको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका लेनिन उपचारपछि निको भएका थिए । त्यसअघि १९१८ को जनवरी १ र मार्च ११ मा पनि लेनिनको हत्या प्रयास भएको थियो ।
लेनिन एक दशक लामो निर्वासनबाट १९१७ अप्रिल १६ मा रुस फर्केका थिए । जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा लागेका कारण तत्कालीन सरकारले लेनिनलाई आफ्नो प्रमुख शत्रु ठान्थ्यो । जसका कारण उनी १९०० जुलाई १६ मा निर्वासनमा जान बाध्य भएका थिए ।
लेनिन आफ्ना दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । अलेक्जेन्डर पिटर्सवर्ग विश्वविद्यालयको विद्यार्थी रहेका बेला जारशाहीविरुद्ध क्रान्तिकारी संघर्षमा सक्रिय रूपमा सहभागी हुन्थे । १८८७ मा रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको हत्याको षड्यन्त्रमा संलग्न भएको आरोपमा अलेक्जेन्डर पिटर्सवर्गमा पक्राउ परे । तत्कालीन त्यसै वर्षको मे महिनामा स्लिसेल्वर्ग किल्लामा फाँसी दिइएपछि लेनिनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिकारी संघर्षमा लगाउने संकल्प गरेका थिए ।
लेनिनको नेतृत्वमा रुसी बोल्सेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो । मार्क्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा उक्त त्यो क्रान्तिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसका साथै, लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्तसमेत प्रतिपादन गरे ।
