काठमाडौँ — सन् १९४५ मा आजकै दिन (जुन २१) मा ओकिनावाको युद्धमा जापानी फौज अमेरिकासँग पराजित भएको थियो । दोस्रो विश्वयुद्धका क्रममा अप्रिल १ मा सुरु भएको युद्धमा ८२ दिनपछि जापानी फौज पराजित भएको हो ।
जापानको इम्पेरियल आर्मी र अमेरिकी नेतृत्वको सेनाबीच भएको युद्धका कारण अमेरिकी जर्नेलसहित १२ हजार ५ सय सैनिकले ज्यान गुमाएका थिए । जापानतर्फ भने त्योभन्दा ठूलो क्षति भएको थियो । युद्धमा १ लाख १० हजार जापानी सैनिक मारिएका थिए । युद्धमा करिब एक लाख स्थानीयको ज्यान गएको अनुमान थियो ।
अमेरिकाले १९७२ ओकिनावा टापु जापानलाई फिर्ता गरेको हो । तर, त्यहाँ रहेका सैन्य शिविर भने सञ्चालनमा छन् । जापानको राजधानी टोकियोबाट एक हजार माइल टाढा रहेको ओकिनावाको क्षेत्रफल जापानको कुल भूगोलको ०.६ प्रतिशत छ । तर, जापानमा रहेका ४७ हजार अमेरिकी फौजमध्ये झन्डै आधा यहीं बस्छन् ।
