काठमाडौँ — सन् २००० मा आजकै दिन (जुन १३) मा उत्तर र दक्षिण कोरियाबीच शिखर सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति किम दाए–जंग र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ् इल सहभागी भएका थिए ।
उत्तर कोरियाली राजधानी प्योङयाङमा आयोजित सम्मेलनका कारण दक्षिण कोरियाली राष्ट्रपतिले नोबेल पुरस्कार प्राप्त गरेका थिए । किमले उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार गरेका र लोकतन्त्र र मानवअधिकारका पक्षमा योगदान पुर्याएका जनाउँदै नोबेल कमिटीले उनलाई पुरस्कार दिने निर्णय गरेको थियो ।
उक्त सम्मेलन दुई कोरियाबीच १९५० देखि तीन वर्षसम्म चलेको युद्धपछिको पहिलो हो । त्यसपछि दुई देशबीच २००७, २०१८ (अप्रिल, मे र सेप्टेम्बरमा) गरी पाँच पटक शीर्ष नेताबीच सम्मेलन भइसकेका छन् । ती शिखर सम्मेलनहरू तीन पटक प्योङयाङ र दुई पटक पानमुन्जोममा आयोजना गरिएको थियो ।
दुई देशबीच सम्पन्न शिखर सम्मेलनमा कोरियाली युद्ध अन्त्य गर्ने, सीमा क्षेत्रमा सैन्य तैनाथी घटाउने, उत्तर कोरियाको परमाणु हतियार अन्त्य गर्ने र मानवअधिकार विषयमा केन्द्रित भएका थिए ।
